किशोरीको ज्यान के भा हो?

किशोरीको ज्यान के भा हो?

एक हप्ता अघि त्रियुगा नगरपालिका ६ चुरियाको जंगलमा मृत फेला परेकी कृशला चौधरीको घटना अनुसन्धानमा ढिलाइ भईरहेको गुनासो स्थानीयले गरेका छन । उनको शव अनुहार नचिन्ने, क्षतविक्षत र विभत्स अवस्थामा भेटिएको थियो । उनको बलात्कारपछि हत्या गरिएको आशंका शव हेर्ने गाउँलेले गरेका छन । उनको अनुहारमा एसिड जस्तो प्रज्ज्वलनशील पदार्थ छर्किएर जलाएको देखिन्छ ।

साउन १३ गते घरबाट सबैलाई भातभान्सा गराएर निस्केकी कृशला चौधरी ५ दिनपछि चुरियाको जङ्गलमा मृत अवस्थामा भेटिएकी थिइन । उनको शव पहिचान गर्न कठिन थियो । उनी त्रियुगा नगरपालिका ६ मोहनपुरका प्रेमकुमार चौधरीको १६ वर्षीया छोरी हुन । नीजको शवलाई उनकै बुबा चौधरीले कपडा र हातमा लगाएको चुराको आधारमा गरेका थिए । उनको शवको पोष्टमार्टम उदयपुर अस्पतालमा गरिएको थियो । चौधरीको ४ छोरीमध्ये उनी कान्छी हुन । उनी एसईईको नतिजा पर्खेर बसेकी थिइन । तर नतिजा थाह नपाउँदै उनको शव चुरियाको जंगलमा शंकास्पद रुपमा भेटिएको छ । उनी जनता माध्यमिक विद्यालय देउरीमा अध्ययनरत थिइन ।

प्रहरीले सुरुमा वेवारिसे भनिएको चौधरीको शव सनाखत भएपछि घटनाबारे थप अनुसन्धान कार्यलाई तिव्रता दिएको छ । यसविच प्रहरीले चौधरीसँग सम्पर्कमा रहेका तीन जनालाई हिरासतमा लिएर सोधपुछ अघि बढाएको जनाएको छ । कुनै नतिजामा भने पुग्न सकेको अवस्था छैन । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार घटनाबारे गहिरो अनुसन्धान सुरु भइसकेको छ ।

दिउँसो निस्केकी चौधरी साँझपख घर नफर्केपछि सँधैजस्तो मावली गएर बसेकी होलिन भन्ठान्दै सुतेका अभिभावकहरु त्यसबेला चिन्तित बने जब उनी मावलीमा पनि थिइनन । त्यसपछि उनको सोधीखोजी सुरु गरिएको उनका बुबा प्रेमकुमार चौधरीले बताउनु भयो । उनले घरपरिवारका अन्य सदस्यलाई घरबाट अन्त कतै जाने कुरा पनि गरेकी थिइनन । छोरी फर्कने आसामा बसेका चौधरीले छोरीको मृत्युको खबरले मर्माहित बनेका छन भने घर परिवार शोकमा डुबेको छ ।

टिप्पणीहरू