काठमाडौंका कुन अस्पतालमा कति संक्रमित ?

काठमाडौंका कुन अस्पतालमा कति संक्रमित ?

काठमाडौं जिल्लाका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट पछिल्लो २४ घण्टामा प्राप्त विवरणअनुसार केहीमा अझै पनि संक्रमितको संख्या शुन्य देखिएका छन् । तर यसबीचमा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा ५ जना संक्रमितको निधन भएको छ ।

जनआस्थालाई प्राप्त विवरणमा कोरोना संक्रमितहरुको औषधोपचार गर्न तोकिएका अस्पताल र आइसोलेसन सेन्टरहरुमध्ये ८ ठाउँमा अझै पनि संक्रमित शुन्य देखिएका हुन् ।

जसमा कीर्तिपुरको मोडर्न अस्पताल, बाफलस्थित यति अस्पताल, कालिमाटीस्थित ज्योती अस्पताल, बुद्ध माई अस्पताल टेकू, कीर्तिपुरको जेष्ठ नागरिकमा रहेको आइसोलेसन सेन्टर, र त्यहिँको कभर्डहलमा आजका दिनसम्म संक्रमित शुन्य रहेका छन् ।

यस्तै दक्षिणकाली नगरपालिकामा रहेको मनमोहनस्मृति सामुदायिक अस्पताल, नागार्जुन नगरपालिकाको इचङ्गुमा रहेको सहरी विकास भवनमा रहेको आइसोलेसन सेन्टर र चाल्नाखेल स्वस्थ्य चौकीमा पनि आजसम्म संक्रमित भर्ना भएका छैनन् ।

तर, कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टरमा पुरुष १ सय २५ जना, महिला १५ जना गरेर १ सय ४० जना भर्ना भएका छन् । तीमध्ये नयाँ भर्ना भएका ४ जना हुन् भने यसबीचमा ५ जना डिस्चार्ज भएका छन् ।

बल्खुको बयोधा अस्पतालमा २ जनामा कोरोना पोजिटिभ भर्ना भएका छन् भने बल्खुकै राजधानी अस्पतालमा १ जना, कलंकीस्थित नेशनल अस्पतालमा १० जना, कलंकीकै सहीद मेमोरियल अस्पतालमा ३ जना, त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा ३ जना संक्रमित भर्ना भएका छन् ।

स्वयम्भूको मनमोहन मेमोरियल अस्पतालमा १० जना, टेकुको शुक्रराज ट्रपिकल अस्पतालमा ६४ जना कोरोना पोजिटिभका बिरामी उपचाररत छन् । स्वयम्भूस्थित आनन्दकुटी आइसोलेसन सेन्टरमा ४ जना भर्ना भएका छन् ।

वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १ सय ८ जना कोरोनाका बिरामी छन् । छाउनी अस्पतालमा रहेका संक्रमितमध्ये ३ जना भिआईपी र २ जनाको एनआसियु र पिआइसियुमा उपचार भएको जनाइएको छ ।

यसबीचमा वीरेन्द्र सैनिक अस्पतालमा गोर्खाका ५६ वर्षीय चन्द्रबहादुर आलेमगर, सिन्धुपाल्चोकका ५८ वर्षीय हस्तबहादुर गुरुङ र ५४ वर्षीय डम्बरबहादुर तामाङ, रामेछापकी ६९ वर्षीया जमुना खड्का तथा भक्तपुरकी ४२ वर्षीया दुर्गा तामाङको आज कोरोनाको कारण निधन भएको प्राप्त विवरणमा उल्लेख छ ।

टिप्पणीहरू