हाकिमहरुमाथि जनताको हमला

झापाका एलडिओ खेमराज ओझा र सहायक सिडिओ डम्बरूप्रसाद निरौलालाई अर्जुनधारा–१ स्थित सिस्नेका स्थानीयले लखेटेका छन् । 
घटना अघिल्लो साताको हो । अर्जुनधारा नगरपालिका हुँदै बग्ने बिरिङ खोलामा ठेकेदारले स्काभेटर प्रयोग गरी जथाभावी खोलाजन्य सामग्री निकालेको विषयमा बैठक बोलाइएको थियो । बैठक स्थान अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वनको कार्यालय परिसर । उक्त खोलामा वर्षौंदेखि जथाभावी खोलाजन्य सामग्री निकालिएको विषयमा स्थानीयले पटक–पटक जिविस र जिप्रकामा निवेदन दिएका थिए । तर, उनीहरूको गुनासोको कुनै संबोधन हुन सकेको थिएन । यही विषयमा मंगलबार दिउँसो ११ बजे बैठक बस्ने निर्णय भएको हो ।

यसअघि राजनीतिक दलका प्रमुख तथा अनुगमन समितिको बैठकको निर्णयअनुसार उक्त बैठकमा स्थानीय विकास अधिकारी र सहायक प्रजिअ जाने निर्णय भएको थियो । अर्जुनधाराका बासिन्दा बैठकका लागि ११ बजे नै भेला भए । मध्याह्न १२ बजे सहायक प्रमुख जिल्ला अधिकारी निरौला त्यहाँ पुगे । एलडिओ ओझा समयमा नपुगेपछि सयौंको संख्यामा भेला भएका स्थानीय आक्रोशित हुन थाले । बाहिर निस्किएर निरौलाले उनलाई टेलिफोन गर्दै छिटो आउन अनुरोध गरे । स्थानीयको आक्रोश बढ्न थालेपछि प्रहरीको संख्या बढाए । केहीबेरमै सशस्त्र र जनपद गरी ३५ जना प्रहरी खटिए । 

११ बजेका लागि तय बैठकमा सहभागी हुन ओझा दिउँसो २ः२० मा मात्र पुगे । माहोल थाम्न प्रहरीलाई हम्मे–हम्मे प¥यो । अर्जुनधारावासीले चर्को नाराबाजी गरे । र, सामुदायिक वन कार्यालय परिसरमै घेरा हाले । प्रहरी टोलीले कडा सुरक्षाबीच उनलाई कार्यालयको कोठाभित्र प्रवेश गरायो । उनलाई बाहिर निकाल्न माग गर्दै स्थानीयले निरन्तर नाराबाजी गरिरहे । दलका प्रमुख तथा केही स्थानीय अगुवासमेत भित्र पसेर उनीहरूसँग गोप्य बैठक गर्न थाले । बैठक खुला स्थानमा बस्नुपर्ने भन्दै बाहिर नाराबाजी चलिरह्यो ।

झण्डै आधा घण्टापछि ओझा टोली बाहिर निस्कियो । स्थानीयले बैठकको निर्णय सुनाउन ओझालाई आग्रह गरे । तर, उनी बोलेनन् । निरौलाले एक वाक्यमा निर्णय सुनाए, ‘हालका लागि खोला खन्ने काम बन्द गरियो ।’ जवाफ प्रस्ट नभएको भनी स्थानीय गुनासो गर्दै थिए । बैठक टोली फेरि कोठाभित्र प्रवेश ग¥यो । ओझा र निरौला अर्को ढोकाबाट फुत्त निस्किए । र, टाप कसे ।

प्रहरी सुरक्षाबीच उनीहरू सडकमा पुगिसकेपछि मात्र स्थानीयले थाहा पाए । स्थानीयले लखेटे । तर, इलाका प्रहरी कार्यालय बिर्तामोडको गाडीमा चढेर ती बाटो लागिसकेका थिए । स्थानीय विकास अधिकारी चढेर आएको बा.२ झ १४५२ नम्बरको सरकारी गाडी त्यहीँ थियो । जनताले त्यो गाडीलाई निकै बेर अवरोध गरे । दमकको साम्सुहाङ बिल्डर्सका सञ्चालक राजकुमार थापाले जिविसबाट ३ करोड ४० लाखमा बिरिङ खोलाको खोलाजन्य सामग्रीको निकासी ठेक्का लिएका हुन् । डेढ मीटरसम्म खन्न पाउने सम्झौता भए पनि खोलाभित्र स्काभेटर प्रयोग गरी त्योभन्दा बढी खनेपछि स्थानीय आक्रोशित बनेका छन् । यसरी खोला खन्न थालेपछि बालीनाली फस्टाउन छोडेको स्थानीय नयन अधिकारीले बताए ।

ठेकेदारले स्काभेटर प्रयोग गरेर खोलाजन्य सामाग्री निकाल्न शुरु गरेदेखि यहाँका बासिन्दालाई पिउने पानीको समस्या हुन थालेको छ । जथाभावी खोला खनिएपछि अर्जुनधाराका अधिकांश स्थानमा इनार र कल सुक्न थालेका छन् । हाल सिस्नेका बासिन्दाले २ किलोमिटर उत्तरमा रहेको बिरिङ खोलाको मुहानबाट पाइपमा पानी ल्याउने व्यवस्था मिलाएका छन् । उनीहरूको एउटै माग हो– खोलामा स्काभेटर हालेर खन्न दिइनु हुँदैन । तर, स्थानीयले वर्षौंदेखि प्रशासन कार्यालय र जिविस धाउँदा पनि यो समस्या समाधान भएन । ठेकेदारले मार्ने धम्की दिएपछि स्थानीय नयन अधिकारी र हचुमा सामुदायिक वनका अध्यक्ष राम निरौला गाउँबाट बाहिर जान सकेका छैनन् ।

प्रहरीले शुक्रबार अनियमित रूपले खोला खन्ने काममा प्रयोग भएको ४ वटा ट्रिपर र एउटा जेसीभी नियन्त्रणमा लिएको छ । केही दिनअघि स्थानीयबासी, प्रशासन र ठेकेदारबीच तत्काल खोला नखन्ने सहमति भएको थियो । तर, बिरिङ किनारमा रहेको स्थानीय चन्द्रमाया सेञ्चुरीको ऐलानी जमिनबाट मापदण्ड विपरीत खनिएको पाइएपछि झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको निर्देशनमा प्रहरीले ती सवारी नियन्त्रणमा लिएको हो । स्थानीयले ठेकेदारले जथाभावी खोला खन्दा नदी गहिरिँदै गएको र पानी नउठेकाले समस्या आउन थालेको बताएका छन् । ठेकेदार राजकुमार थापाले मापदण्डअनुसार नै नदीजन्य सामाग्री निकाल्दै आएको र त्यसमा अवरोध भए जिल्ला विकास समितिले आफ्नो क्षतिपूर्ति दिएर सम्झौता सक्नुपर्ने बताउँदै आएका छन् ।

टिप्पणीहरू