​कमल र पुष्पकमलमा के मिल्छ कमरेड ! « Jana Aastha News Online
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022

​कमल र पुष्पकमलमा के मिल्छ कमरेड !

प्रकाशित मिति :  १८ चैत्र २०७३, शुक्रबार ११:२५


  • बैकुण्ठ ढकाल

मपाइँत्वले भरिएका ब्रह्मा र विष्णुले आफैं ठूलो भएको दाबी गरिरहे । दुबैले आफू महान् भएको पुष्टि गर्न अनेकन तर्क प्रस्तुत गरिरहे, जत्ति गर्दा पनि एकले अर्कोलाई तल पार्न सकेनन् । आजित भएर छिनोफानोका लागि देवादिदेव महेश्वरकहाँ पुगे । महेश्वर पनि कुन तालमा थिए कुन्नि ? तत्कालै निर्णय दिएनन् । ब्रह्मा विष्णुको कुराले उनलाई ठूलै झोंक चलाएछ । बाघको छाला सर्लक्क माथि सारेर आफ्नो भीमकाय लिंग देखाए अनि एउटालाई फेद र अर्कोलाई टुप्पो पत्ता लगाई आउन आदेश दिए । ब्रह्मा लिंगको टुप्पो पत्ता लगाउन पहाड चढे, विष्णु फेद पत्ता लगाउन पाताल भासिए ।

महेश्वरलाई पनि दुबैको सेखी झार्नु थियो । ब्रह्मा र विष्णु टुप्पो र फेदमा पुग्न लागेपछि महादेवले लिंगको आकार बढाइदिन्थे । अनि ब्रह्मा र विष्णुले कसरी पत्ता लगाउन सक्नु ! तर, कत्ति गर्दा पनि दुबै आफ्नो लक्ष्यमा पुग्न सकेनन् । हार मानेर महादेवको शरणमा पुगे ।

परिणाम नआएकाले महादेवले दुबैलाई बराबरी भएको निर्णय सुनाए । ब्रह्मा र विष्णु बाटो लागे । तर, दुबैले आफूलाई ठूलो घोषणा गरेकाले मपाइँत्व छाडेनन् । स्वघोषित बरिष्ठ कहिरहे ।

अहिले नेपाल सरकारमा पनि यही प्रकृतिका दुई वरिष्ठ उपप्रधानमन्त्री छन् । अर्का पनि उपप्रधानमन्त्री छन् कृष्णबहादुर महरा, उनलेचाहिँ किन कार्यवाहक मागेनन् ? अचम्म छ । माओवादी केन्द्र र नेपाली कांग्रेस तेस्रो वरीयतालाई पहिलो बनाउने अभियानमा छँदै छन् । प्रहरीको तेस्रो वरीयतामा रहेका डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय यही सरकारले गरेकै हो । प्रहरीलाई नेतृत्वविहीन बनाएका पुष्पकमल दाहालले अहिले देशलाई प्रधानमन्त्रीविहीन बनाइदिए, शायद इतिहासमै पहिलो पटक । अनि मन्त्रिपरिषदबाट अनुमोदन नै नगराई चीन भ्रमणमा हान्निए । हुन त विना एजेण्डा भ्रमणमा गएकाले पनि अनुमोदन गराउने झण्झट रहेन । राज्य कोषको खर्चबाट बिदेश जाने भएकाले खर्च अनुमोदन गराउने चलन हुन्छ । त्यो पनि यसपटक भएन ।

दाहाल चलाख छन् । त्यही भएर होला कमल थापा र विमलेन्द्र निधिको वरिष्ठ भन्ने विवाद टुंग्याएनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थापा र निधिले दुवै ‘वरिष्ठ’ हुन प्रयासरत रहे । ‘वरिष्ठ’ हुन नसकेका दुबै बराबरी भने देखिए । प्रधानमन्त्रीको बिदाइमा दुबै एकैलहर बराबर देखिनेगरी उभिए ।

दाहाल अध्ययनशील छन्, ब्रह्मा, विष्णु र महेश्वरको कथा पक्कै पनि मलाईभन्दा धेरै उनलाई थाहा छ । अब दाहालले निधि र थापालाई को बरिष्ठ भन्नका लागि महादेवले अँगालेको उपाय अवलम्बन गर्नु ठीक हुन्छ ।

निधिले खुल्लमखुला भनेकै छन्, ‘म संविधान संशोधनका लागि सरकारमा आएको हुँ ।’ नवप्रवेशी उपप्रधानमन्त्री थापाले पनि भनेका छन्, ‘म निर्वाचन गराउन सरकारमा सहभागी भएको हुँ, सरकारकै प्रस्ताव हो तर संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्दिनँ ।’

सबैभन्दा ठूलो सकस पनि यही त हो, प्रधानमन्त्रीलाई । यो सकसबाट पार लगाउन प्रधानमन्त्री दाहालले दुई सारथि थापा र निधिलाई जिम्मा दिए हुन्छ ।

कमल थापालाई निर्वाचन गराउने जिम्मा दिऊँ । थापालाई त्यो अनुभव छ । पछिल्लो पटक थापाले ज्ञानेन्द्र शाह नेतृत्वको सरकारका पालामा पनि स्थानीय निकायको निर्वाचन गराएकै हुन् । आखिर थापाकाजी यो पटक पनि निर्वाचन गराउनकै लागि सरकारमा गएका हुन् । स्वभाव नमिले पनि मन्त्रालय त आखिर मिलेकै छ । स्वभावअनुसारको मन्त्रालय हुन्थ्यो भने थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्नुपथ्र्यो । राजसंस्कृति जोगाउने अभियानका लागि उपयुक्त हुन सक्थ्यो ।
निधिका लागि पनि मन्त्रालय मिलेको हो कि हैन, त्यो बडो द्विविधामा छु । पंक्तिकारजस्तै निधि पनि द्विविधामा होलान्, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनलाई मलजल गर्नु, दानापानी जुटाउनु पनि । अनि प्रहरीलाई आन्दोलनकारीमाथि गोली चलाउन आदेश पनि आफैंले दिनु ! जो–कोहीले भए एकआपसमा निकै विरोधाभाष हुने यी काम गर्नै सक्दैन । धन्न शान्ति सुरक्षा र आन्दोलन दुबैको नेतृत्व गर्न सक्ने भएकाले नै गृहमन्त्रीको कुर्सीमा विमलेन्द्र निधि आसीन छन् ।

संघीयता कार्यान्वन गर्ने ठाउँमा ‘राजासहितको’ गणतन्त्रको वकालत गर्ने कमल थापा छन् । अहिलेको सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कमल थापामा समानता भनेकै ‘कमल’ छ । र त हिजो राजालाई काँध हाल्ने थापा आज राजा फाल्न भनेर शुरु भएको ‘जनयुद्ध’को नेतृत्व गर्ने पुष्पकमललाई काँध हाल्न पुगेका छन् । शायद पुष्पकमल दाहाल मात्रै एक त्यस्ता नेता हुन् जो भनेको पूरा गर्छन् । धेरैलाई याद होला, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा भनेका थिए, ‘राजनीति सम्भावनाको खेल हो ।’ राजनीति सम्भावनाको खेल नहुँदो हो त, कमल र पुष्पकमल एउटै सरकारमा हुनु सम्भव थियो त ?

कामका लागि सरकारमा गएका हुन्थे भने कमल र विमलेन्द्रले पक्कै पनि ‘बरिष्ठ’ भनेर विवाद गरिरहने थिएनन् । यो आन्तरिक विषय हो भनेर चुपचाप काम गरिरहेको भए आममानिसलाई थाहा हुने पनि थिएन ।

माथि नै ब्रह्मा, विष्णु महेश्वरको कुरा गरियो । अब ब्रह्माण्डको पनि अलिकति कुरा गरौं । हामीले जानेको ब्रह्माण्डमा पृथ्वीजस्तो ग्रह एउटै छ । मानिसजस्ता जीव पनि एउटै । पृथ्वी र मानिस दुवै अद्वितीय छौं तर यो धर्तीको आयुसँग तुलना गर्दा हामी कति नै बाँच्छौं र ? यो पृथ्वीलाई सेलाउन लागेको वर्ष, जीव उत्पत्ति हुन लागेको समय, प्राणी वनस्पति, वातावरण सबै कुराको हिसाब हामी हजार होइन लाख, लाख वर्षमा गर्छौं ।

बितेको ५०० वर्षमा यो धर्तीमा मानव जातिले ठुल्ठूलो परिवर्तन गरेको छ । पाँच हजार वर्षका बीचमा यो धर्तीको नक्सानै कतिपटक फेरिएको छ । २५० वर्षअघिको मात्र कुरा गर्ने हो भने नेपाल भन्ने देश थिएन । आजको जुन नक्शा हामी देख्छौं, त्यो कल्पनामा पनि थिएन ।

यो सबै परिवर्तन मानिसले गरे । हामीले ग¥यौं । किनकि हामी मानिस अरू सबै प्राणीभन्दा फरक छौं । आखिर मानिसलाई संसारमा अरू सबै प्राणीभन्दा फरक कुन कुराले पार्छ ? प्रस्टै छ, विचारले । एउटा मानिस चाहे त्यो जंगबहादुर वा हिटलर वा नेपोलियनजस्तो शक्तिशाली होस् वा बुद्ध वा माक्र्सजत्तिको चिन्तक अथवा लक्ष्मीप्रसाद देवकोटाजस्तो प्रतिभाशाली कवि होस् वा आइन्स्टाइनजस्तो वैज्ञानिक, बाँच्ने आयु त लगभग सय वर्ष पनि हँुदैन ।

एउटा मानिसको विचारले त्यति छोटो समयमा कति धेरै फरक पार्छ, देश समाज र कहिलेकाहीँ इतिहासमा !
तर, यो कुरा हाम्रा नेताले किन नबुझेका ! कुर्सीभन्दा सयौं गुणा बढी बाँच्छ विचार । अनि कुर्सीभन्दा धेरै माथि पनि छ । तर, पुष्पकमल, कमल र विमलेन्द्रले विचारलाई किन कुर्सीभन्दा तुच्छ ठाने बुझिनसक्नु छ । 


प्रतिक्रिया दिनुहोस !