मुख्यमन्त्री शंकरको ‘भाग्य’ राउतको हातमा

मुख्यमन्त्री शंकरको ‘भाग्य’ राउतको हातमा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमाले सरकारविरुध्द प्रदेशसभामा दर्ता अविश्वास प्रस्ताव रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा पेशी चढेको छ ।

अविश्वास प्रस्ताव रोक्न माग गर्दै हिजो मुख्यमन्त्री पोखरेलका तर्फबाट प्रदेशसभा सदस्य तथा मन्त्री लीला गिरीले रिट हालेका थिए । रिटमा संविधानको धारा १६८ को उपधारा १ बमोजिमको सरकारका विरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने जिकीर गरिएको छ ।

तर,विपक्षीहरुले भने पोखरेलको सरकार अल्पमतमा परिसकेको दाबी गर्दै आएका छन् । तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले बिहान राजीनामा दिएका पोखरेललाई साँझ धारा १६८ (१) बमोजिमको मुख्यमन्त्री नियुक्त गर्दै मुख्यमन्त्री क्वार्टरमै पुगेर शपथ गराउनुभएको थियो ।उक्त नियुक्तिलाई लिएर सुरुआतदेखि नै चर्को विरोध गरिरहेका विपक्षी काँग्रेस,माओवादी केन्द्र,जसपा र जनमोर्चाका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्तावमाथि भोलि छलफल हुँदैछ । छलफलका लागि प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आव्हान गरिसक्नुभएको छ।

यसअघि विशेष अधिवेशन बोलाउने प्रदेश प्रमुखको निर्णय विरुध्द लुम्बिनी सरकारका तर्फबाट लगिएको रिट सर्वोच्चले दरपिठ गरिदिएको थियो ।

टिप्पणीहरू