गाउँ, शहरबाट सिंहदरबार हाँक्न खोज्नेहरू « Jana Aastha News Online
Logo
२१ मंसिर २०७८, मंगलवार
|  Tue Dec 7 2021

गाउँ, शहरबाट सिंहदरबार हाँक्न खोज्नेहरू

प्रकाशित मिति :  १८ चैत्र २०७३, शुक्रबार ११:१२


जनतालाई घरमै सिंहदरबार ल्याइदिएको भन्दै प्रचारित स्थानीय तह जनप्रतिनिधिमार्फत शासन हुने दिन नजिकिएको चर्चासँगै त्यो घरछेउकै सिंहदरबार हाँक्न रहर गर्नेहरू बढ्दो गतिमा छन् । केन्द्र सरकारको राजधानी र मन्त्रीक्वार्टर रहेको ललितपुर जिल्ला नेताको झगडाका कारण ६ स्थानीय तहमा सीमित भएको छ । ०१५ सालदेखि ०६४ सम्म वामपन्थीले जितेको ललितपुर ०७० को निर्वाचनमा ३ वटै क्षेत्र कांग्रेसले लगेपछि स्थानीय निर्वाचनमा पनि टिकटका लागि सबैभन्दा बढी कांग्रेसमै प्रतिस्पर्धा देखिएको छ । एक महानगरपालिका, २ नगरपालिका तथा ३ गाउँपालिकामा वडाध्यक्षदेखि सांसदका आकांक्षीसम्मले मेयर वा गाउँपालिका प्रमुखका निम्ति दाबी पिटाउन थालेका छन् । 

ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम, बाग्मती र महांकाल गाउँपालिकाका लागि प्रमुख र उपप्रमुखसहितको प्रचार चुलिएको छ । २ लाख ८४ हजार ९ सय २२ जनसंख्या रहेको महानगरपालिकामा कांग्रेसबाट रामकृष्ण चित्रकार, भरत न्याछ्यो, प्रेमलाल महर्जन, बेखारत्न शाक्य आकांक्षी देखिएका छन् । २९ वटा वडा रहेको महानगरपालिकामा एमाले तर्फबाट जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार र प्रेम महर्जनमध्ये एकले टिकट पाउने सम्भावना छ । जिल्ला कमिटी अध्यक्षसमेत रहेका व्यञ्जनकारले यसअघिका दुई संविधानसभा निर्वाचनमा दाबी नगरेकाले करिब–करिब सबैमा छाप बसिसकेको देखिएको छ । माओवादी केन्द्रबाट ज्यापु समाजका पूर्वअध्यक्ष मंगल महर्जन, पूर्वसांसद राजकाजी महर्जन, र सरोज डंगोलकोे नाम चर्चामा छ । राप्रपाबाट भने नरेश श्रेष्ठको नाम अघि देखिएको छ । 

ललितपुरको दोस्रो ठूलो र उपत्यकाकै प्राकृतिक स्रोतले महŒवपूर्ण गोदावरी नगरपालिकामा सबै दलका धेरै नेताको टक्कर पर्ने देखिन्छ ।  नेपाली कांग्रेसबाट गजेन्द्र महर्जन, मीनकृष्ण महर्जन, पुरुषोत्तम सिलवाल, दिलीप कर्माचार्य दौडमा छन् ।  एमालेका धेरै नेता भएको यो क्षेत्रबाट जिल्ला कमिटी उपाध्यक्ष श्यामकृष्ण सिलवाल, सचिवालय सदस्य पुरुषोत्तम आचार्य, १ नं. क्षेत्रका पूर्वअध्यक्ष चेतनाथ सञ्जेल, ३ नं क्षेत्रीय कमिटी अध्यक्ष रघुनाथ महर्जन, शिक्षा तथा मानवस्रोत केन्द्रीय विभागका सदस्य शिवराज सञ्जेलको चर्चा छ । यहाँ राप्रपाबाट कृष्ण देशार र कपिल थापा लाइनमा छन् । माओवादी केन्द्रका तर्फबाट न्हुच्छे महर्जन र श्रीगोविन्द महर्जनको नाम बजारमा छ । 

यस्तै, ६२ हजार १ सय ७२ जनसंख्या रहेको महालक्ष्मी नगरपालिकामा कांग्रेसबाट दिवाकर सिलवाल, पवनविक्रम थापा र गणेश सिलवालको चर्चा छ । एमालेबाट जिल्ला सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुख हरिगोविन्द श्रेष्ठ, सचिवालय सदस्य तथा २ नं. क्षेत्रका इन्चार्ज चिरञ्जीवी आचार्य, सचिवालय सदस्य रामेश्वर श्रेष्ठ, इमाडोलका पूर्वअध्यक्ष किशोर केसी, केन्द्रीय उपभोक्ता हित तथा सुशासन विभाग सचिव सूर्यबहादुर थापा दौडमा छन् । राप्रपाबाट आनन्द अधिकारीको नाम आएको छ भने नेकपा माओवादी केन्द्रका तर्फबाट शिव कट्टेलले रहर देखाएका छन् ।

राजनीतिक लडाइँको शक्तिकेन्द्रका रूपमा मानिने दक्षिणी भेग ३ गाउँपालिका छन् । तामाङहरूको खास पहिचान क्षेत्र मानिएको कोन्ज्योसोम गाउँपालिकामा एमालेका तर्फबाट जिल्ला कमिटीका उपसचिव कृष्णमान लामा कस्सिएका छन् । कांग्रेसमा सानुकान्छा मोक्तान र राजन घिमिरे तथा माओवादीमा गोपी तामाङको चर्चा छ । 

पूर्वी–उत्तरक्षेत्रको महांकाल गाउँपालिकामा कांग्रेसका जिल्ला सचिव भीमसेन घिमिरे, १ नं क्षेत्रीय अध्यक्ष ऋषिदेव फँुयाल, महासमिति सदस्य गणेश केसी र ऋषिराम घिमिरे चर्चामा छन् । माओवादीबाट बुद्ध नेगी र पिपी आचार्य तथा राप्रपाबाट गणेश चौरेल र माधव घिमिरेको नाम छ । एमालेबाट सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख रामचन्द्र दाहाल, जिल्ला प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिना, पूर्वजिल्ला कमिटी सदस्य उमेश शर्मा र पूर्व क्षेत्रीय कमिटी सदस्य नवराज महत भिडेका छन् । 

बाग्मती गाउँपालिकामा कांग्रेस जिल्ला कमिटीका पूर्वसचिव रविन्स शर्मा र वीरबहादुर लामाको नाम चर्चामा छ । एमालेका दुर्गा घिमिरे र राजकुमार दर्लामी उस्तै दाबेदार छन् ।  यस्तै, जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलाल कांग्रेसबाट र गैसस महासंघका अध्यक्ष रामहरि घिमिरे एमालेबाट सम्भावित छन् । माओवादीबाट राम आचार्य, राजु आलेमगर र महेन्द्र घिमिरे दौडमा छन् ।


प्रतिक्रिया दिनुहोस !