अध्यक्ष ओलीको रोडम्याप बिस्तारै खुल्दै « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

अध्यक्ष ओलीको रोडम्याप बिस्तारै खुल्दै

प्रकाशित मिति :  २६ श्रावण २०७८, मंगलवार १२:३०


दुई पक्षबीच एकता गराउँछौं भनेर दौडिएका एमालेमा दोस्रो तहका नेताहरू हिजोदेखि थकित र गलित देखिएका छन् । हिजो आयोजित एमाले स्थायी समिति र केन्द्रीय समिति बैठकमा एकपक्षीय ढंगले अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकूल हुनेगरी विधान संशोधनलगायतका कार्यक्रम पारित गरेपछि एकताको सम्भावना लगभग बन्द भएको चर्चा छ ।

आफ्नै ढंगले अध्यक्ष ओली अघि बढेपछि अब सोहीबमोजिम विधान अधिवेशन हुनेछ भने वडासम्म अधिवेशनको तयारी गरिएको छ । नयाँ विधानबमोजिम अब एमाले पार्टीमा अध्यक्ष र केन्द्रीय सदस्य महाधिवेशनबाट छानिने छन् । तर अरु पदाधिकारी अध्यक्षको चाहनामुताबिक हुने भएपछि हलले अध्यक्षबाहेक पदाधिकारी छान्न नपाउने नौलो प्रजातान्त्रिक अभ्यास घुसाइएको छ ।

हिजोको स्थायी समिति र केन्द्रीय समितिको निर्णयको विश्लेषण गर्दै उक्त समूहले भनेको छ, ‘अर्को पक्षलाई तिमीहरू अब जे सुकै गर, हामी अघि बढ्छौँ भनिएको हो ।’

( ओली पक्षीय स्थायी समिति बैठक)

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले एकल सरकार चलाउने भन्ने आशयझैँ पार्टीभित्र पनि त्यस्तै अभ्यासको लागि विधान संशोधनको तयारी गरिएको बताइन्छ । संशोधनको लागि प्रस्तावित विधानको प्रस्तावनामा जनताको बहुदलीय जनवादले समाजवाद स्थापनामा मार्गदर्शन गर्ने भनिएको छ । त्यसो भन्नुको अर्थ मार्क्सवादलाई छल्नु रहेको विश्लेषकहरूको बुझाई रहेको छ । उनीहरूको निचोड छ,‘त्यसो भनेपछि अब समाजवाद स्थापनाको निम्ति मार्क्सवादलगायतका अन्य दर्शनको आवश्यकता नै देखिएन ।’

विश्लेषकहरूले अध्यक्ष ओली निकटहरूले भन्ने गरेको समाजवाद नै अब बहुदलीय जनवाद हुने ठहर गरेका छन् । प्रस्तावित विधान संशोधन प्रस्तावमा लेखिएको छ, ‘२०६२/०६३ को क्रान्ति राजनैतिक क्रान्ति मात्रै हो । आर्थिक, सामाजिक क्रान्ति बाँकी नै छ । त्यसको कार्यभार जनताको बहुदलीय जनवादको कार्यान्वयन हो । जनताको बहुदलीय जनवादले नै समाजवादमा समेत मार्गदर्शन गर्नेछ ।’

एमालेका एकजना विश्लेषकले हिजोको प्रस्तावित विधान संशोधन प्रस्तावमा पार्टी समाजवादतर्फ अग्रसर हुनेछ मात्र भन्नाले उसले आफ्नो पूर्ववत् निर्णयलाई लत्याएको प्रष्ट भएको बताए । पार्टीको नवौं महाधिवेशनले समाजवादका आधार निर्माण गर्ने भन्ने निर्णय गरेको थियो । तर हिजो प्रस्ताव गरिएको विधानमा त्यसलाई खण्डित गरिएको बताइन्छ ।

नेकपामा अल्पमत वा बहुमतको अवस्था देखिएपछि उहाँले अध्यादेशमा “र” होइन, “वा ४० प्रतिशत ” भन्ने व्यवस्था राखेर पार्टी विभाजनलाई सहज बनाउन खोज्नुभएको थियो ।

पार्टीलाई समाजवादतर्फ अग्रसर हुने भनेपनि पहिलेझैँ आधार निर्माण गर्ने नभन्नुले आशंका बढाएको अर्को पक्षको ठहर छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका एकजना विश्लेषकले भने, ‘उहाँहरू पार्टीको नवौं महाधिवेशनको निर्णयबाट पछि सर्नुभयो ।’

हिजोको स्थायी समिति र केन्द्रीय समितिको निर्णयको विश्लेषण गर्दै उक्त समूहले भनेको छ, ‘अर्को पक्षलाई तिमीहरू अब जे सुकै गर, हामी अघि बढ्छौँ भनिएको हो ।’ दुबै पक्षका केही कमरेडहरूको जसरी भए पनि एकता गर्नुपर्ने आग्रहले मात्र आजको अवस्थामा आइपुगेको उनीहरूको ठहर छ ।

यसअघि नै अर्को समूहले समेत आवश्यक निर्णय गर्न खोज्दा समेत पटक पटक त्यसो नगरौं भनिएकाले पनि अध्यक्ष ओली समूहलाई मनमौजी तवरले अघि बढ्न सहज भएको बताइन्छ । अध्यक्ष ओली देखिनेगरी फागुन २८ गतेबाट एक्लै पार्टी संगठनलाई अघि बढाउन अघि सर्नुभएको हो । उहाँले फागुन २८ मा आफ्नो गुट मात्र बसेर निर्णय गराउनु नै पार्टी विभाजनको लागि अग्रसर भएको गतिलो प्रमाण मानियो ।

त्यसैगरी अघिल्लो वर्ष बैशाखमा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेर आफू बिरोधीलाई पन्छाउँदै पार्टी विभाजन गर्न खोजेको प्रयास चाहिँ अप्रत्यक्ष प्रमाण थियो । तत्कालीन नेकपामा अल्पमत वा बहुमतको अवस्था देखिएपछि उहाँले अध्यादेशमा “र” होइन, “वा ४० प्रतिशत ” भन्ने व्यवस्था राखेर पार्टी विभाजनलाई सहज बनाउन खोज्नुभएको थियो । पार्टीमा नपुगे पनि संसदमा तोकिएको प्रतिशत पुग्छ भन्ने आशयले अध्यादेश ल्याइएको थियो ।

त्यो बेलादेखि नै उहाँले आफ्नो एकल बर्चस्ववाला पार्टी गठन गर्ने आशय राखेर अघि बढ्नुभएको स्पष्ट भएको छ । नेता नेपाल निकट एकजना स्थायी समिति सदस्य भन्छन् ‘उहाँ (ओली) पार्टी विभाजनको निम्ति उध्यत हुनुहुन्थेन भने फागुन २८ गते किन अर्को पक्षलाई बेवास्ता गरियो ? अहिले पनि उहाँ त्यो मान्यताबाट पछि हट्नुभएको छैन । एक्लै पार्टी चलाउने रोडम्यापमा क्लियर हुनुहुन्छ ।’


प्रतिक्रिया दिनुहोस !