ओलीनिकट अखिलको आरोप : वर्तमान सरकारलाई विदेशीको दलाली गर्न भ्याइनभ्याइ

ओलीनिकट अखिलको आरोप : वर्तमान सरकारलाई विदेशीको दलाली गर्न भ्याइनभ्याइ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट अनेरास्ववियुले पछिल्लो समय परीक्षा स्थगनका घटनाक्रम गलत उद्देश्यबाट प्रेरित रहेको र परमादेशबाट बनेको सरकार विदेशीहरुको दलाली गर्न भ्याइनभ्याइमा रहेकाले शैक्षिक क्षेत्र तहसनहसको समेत मतियार बनिरहेको आरोप लगाएको छ ।

अनेरास्ववियुले जतिसक्दो छिटो परीक्षा सञ्चालन गरिनु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउन निकालेको विज्ञप्तिमा परीक्षा स्थगित गर्दैमा समस्या समाधान नहुने बरु विद्यार्थीहरुको शैक्षिक भविश्य अन्योल र अन्धकार हुने उल्लेख गरेको छ । उसले भनेको छ, ‘छिटोभन्दा छिटो परीक्षार्थीहरुलाई प्रवेशपत्रको आधारमा खोपको व्यवस्था गरी आगामी परिक्षाहरु सञ्चालन गर्नुपर्छ ।’

संयोजक ऐन महरले वर्तमान सरकारले आवश्यक स्वास्थ्य मापदण्डको पालनाका साथ सञ्चालन हुँदै गरेको विद्यार्थीहरुको परीक्षासमेत वैकल्पिक व्यवस्था नगरी स्थगित गर्नु आमविद्यार्थीको लागि दुःखद रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा शैक्षिक माफिया र दलालहरुले अहिले नेपालको शिक्षा प्रणालीलाई तहसनहस बनाउने योजनाका साथ शैक्षिक अन्योल सिर्जना गर्ने,विद्यार्थीलाई निराश बनाउने र भविष्य अन्धकार बनाउने उद्देश्यका साथ विगत दुई वर्षदेखि नियमित कक्षा सञ्चालन र परीक्षा दिनबाट वञ्चित भएका विद्यार्थीहरुका लागि शुरु भएका विभिन्न तहका परीक्षाहरु स्थगित गर्न विभिन्न प्रपञ्चहरु गरिरहेको आरोप लगाइएको छ ।

टिप्पणीहरू