उपत्यकामा आज कतै बिरोध, कतै प्रदर्शन

उपत्यकामा आज कतै बिरोध, कतै प्रदर्शन

उपत्यकामा आज विभिन्न कार्यक्रम हुँदैछ । आज बिहानै नेपाली काँग्रेस तारकेश्वर नगरपालिका ६ का सभापति स्व. विनोद भट्टको १३ औं पुण्य तिथिमा श्रद्धाञ्जली सभाको कार्यक्रम राखिएको छ । स्थानीय शिव मन्दिरमा बिहान ८ बजे उक्त कार्यक्रम तय गरिएको बताइएको छ ।

त्यसैगरी बारा र धनुषामा नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध हुँदै आएको धर्ना कार्यक्रम आज पनि जारी छ । बिहान ९ बजेदेखि नेपाली काँगेस पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा धर्ना हुने भएको हो ।

त्यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट जिल्ला सभापतिहरूसँग होटल बडी, ठमेलमा बिहान ९ बजे छलफल गर्ने कार्यक्रम रहेको छ ।

हामी नेपाली युवा संगठनले स्नातक तह छैठौ सेमेष्टरको आज हुने परीक्षा बहिष्कार गर्दै पद्मकन्या परीक्षा केन्द्रमा तालाबन्दी गर्ने जनाएको छ । संगठनले बिहान ९ बजेदेखि तालाबन्दी कार्यक्रम राखेको हो ।

नेपाल टेलिकम वर्कर्स युनियन, नेपाल टेलिकम कर्मचारी युनियन र एनटीइएनले नयाँ विनियमावलीको बिरोधमा गर्दै आएको धर्ना कार्यक्रमलाई आज पनि टेलिकमको केन्द्रीय कार्यालय, भद्रकाली प्लाजामा १० बजेदेखि निरन्तरता दिने भएको छ ।

नेपाल वायुसेवा निगम युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल वायुसेवा निगम कर्मचारी संघले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको बिरोधमा निगमको कार्यालयमा आज पनि बिहान साढे १० बजेदेखि मध्यान्ह साढे १२ बजेसम्म धर्ना दिँने भएका छन् ।

उता राष्ट्रियसभाको बैठक बिहान ११ बजेदेखि संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ । त्यसैगरी प्रतिनिधि सभाको बैठक पनि आजै दिउँसो १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने छ ।

थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले टीकापुर थरुहट थारुवान विद्रोहको ६ वर्ष पूरा भएको सन्दर्भमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । तमु बौद्ध सेवा सदन, अनामनगरमा दिउँसो १ बजे कार्यक्रम आयोजना गरिने भएको हो ।

अनेरास्ववियु केन्द्रीय कमिटीले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा सामुदायिक विद्यालयमा अध्ययन गरेर एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट हुन सफल मेधावी छात्र आशिक झालाई सम्मान कार्यक्रम राखेको छ । कार्यक्रम अर्याल होटेल, नयाँ बानेश्वरमा दिउँसो साढे २ बजे हुने जनाइएको छ ।

राष्ट्रिय युवा संघ नेपालले देउवा सरकारको जनघाती निर्णयविरुद्ध आज बिरोध प्रदर्शन गर्ने भएको छ । उसले बालाजुको नयाँ बसपार्कस्थित सुकुम्बासी बस्तीमा दिउँसो ३ बजे बिरोध कार्यक्रमको आयोजना गर्न लागेको हो ।

क्याथफोर्ड कलेज, ललितपुरमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न मागराखि कलेज प्रशासनमा आइतबारदेखि गरेका तालाबन्दीलाई आज पनि जारी राखेका छन् । त्यसैगरी अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस इकाई कमिटीले विभिन्न माग राखि क्याम्पस प्रमुखको कार्यकक्षमा साउन ५ गतेदेखि गरेको तालाबन्दी पनि आज जारी छ ।

उता नेविसंघको पुल्चोक इन्जिनियरिङ क्याम्पस कमिटीले आफ्ना माग पूरा गराउन गत चैत ३१ गतेदेखि गरेको तालाबन्दी आज पनि जारी राख्ने बताएको छ ।

टिप्पणीहरू