प्रधानसेनापतिको अन्तिम दिन, हिजो सम्बन्धन,भगवानलाई साक्षी राखेर बरबुझारथ « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

प्रधानसेनापतिको अन्तिम दिन, हिजो सम्बन्धन,भगवानलाई साक्षी राखेर बरबुझारथ

प्रकाशित मिति :  २५ श्रावण २०७८, सोमबार २१:००


प्रधान सेनापति पूर्णचन्द्र थापा आज सैनिक कार्यकालको अन्तिम दिनको अन्तिम क्षण जंगी अड्डाबाट निस्केर गृह जिल्ला लमजुङ जानुभयो । त्यहाँको कार्यक्रम नै उहाँको कार्यकालको अन्तिम औपचारिक कार्यक्रम बनेको छ ।

लमजुंगमा सेनाले खोलेको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रलाई हिजो अपरान्ह मात्र सम्बन्धन प्राप्त भएपछि सेनापतिले आज औपचारिक उद्घाटन गर्नुभएको हो । केन्द्रले सेनाबाट निवृत्त हुन लागेका र भएकाहरुमध्ये इच्छुकलाई तीन महिनादेखि १ वर्षसम्मको कृषि र पशुपालनसँग सम्बन्धित व्यावसायिक प्याकेज अध्यापन गराउने तयारी छ । अवकाशपछि पूर्वसैनिकहरु कृषि र पशुपालनमा सक्रिय होउन् भन्ने उद्देश्यले उक्त केन्द्र खोलिएको हो ।

यसअघि आजै बिहान हनुमानढोका र छाउनीमा भोलिदेखि एक महिने बिदामा बस्न लाग्नुभएका सेनापति थापा र भोलिदेखि कायममुकायम सेनापतिको जिम्मेवारी सम्हाल्न लाग्नुभएका प्रभुराम शर्मा विशेष पूजाआजासहित सहीदलाई श्रध्दाञ्जली र जिम्मेवारीको औपचारिक हस्तान्तरण कार्यक्रममा सहभागी हुनुभएको थियो ।सेनापतिको कार्यकाल र सैनिक जीवनको आज अन्तिम दिन जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा थापाले बरबुझारथको फाइलमा हस्ताक्षर गरेर भाषण गर्नुभएको छ । सोही कार्यक्रममा कायममुकायम तोकिनुभएका सेनापति शर्माले पनि औपचारिक रुपमा जिम्मेवारी बुझ्नुभएको छ ।

जंगी अड्डाको सगरमाथा हलमा भएको कार्यक्रममा उपत्यकाका ठूला हाकिम सबै र बाहिरका कमाण्डपतिहरुको उपस्थिति थियो । उक्त हलमा डेढ सय मानिस अट्छन् । कमाण्डपतिहरुले भोलि कायममुकायम सेनापतिको निर्देशन लिएपछि मात्र फर्किने कार्यक्रम रहेको छ । हनुमानढोकामा उहाँहरुले विभिन्न निशान (झण्डा) मा पूजाआजा गरेर बरबुझारथ गर्नुभएको बताइन्छ ।

सैन्य स्रोत भन्छ, ‘बुझ्ने र बुझाउने दुबै सेनापतिले शक्ति स्वरुपालाई साक्षी राखेर हनुमानढोकामा बरबुझारथ गरिएको हो ।’ हनुमानढोकाको कोतमा पृथ्वीनारायण शाहको पालाका कतिपय गणको निशान (झण्डा) त्यहि नाममा राखिएको छ । कुनै कुनैको भने नाम परिवर्तन गरिएको छ । कतिपय पल्टनले आफ्नो निशान सँगसँगै लैजान्छन् । तर कतिपय पल्टनको निशान (झण्डा) हनुमानढोकाको मूलकोतमा नै राख्ने प्रचलन रहेको छ । ती निशानका पल्टन जहाँ पुगे पनि झण्डा हनुमानढोकामा राखिन्छ ।


प्रतिक्रिया दिनुहोस !