जंगीअड्डामा बुझबुझारथ सम्पन्न

जंगीअड्डामा बुझबुझारथ सम्पन्न

भदौ २५ गतेदेखि अवकाश पाउन लाग्नुभएका प्रधान सेनापति पूर्णचन्द्र थापा आजदेखि जिम्मेवारीबाट बाहिरिनु भएको छ । जंगीअड्डामा आयोजित एक कार्यक्रमका बीच उहाँले कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मालाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।

आफ्नो ४१ वर्ष लामो सैनिक सेवा तथा प्रधान सेनापतिका रुपमा तीन वर्षे कार्यकाल पूरा गरि प्रधान सेनापति थापा भोलिदेखि घर बिदामा बस्दै हुनुहुन्छ । अवकाश लिनुभन्दा एक महिना पहिला घर बिदा बस्ने प्रचलन अनुसार उहाँ भोलिदेखि बिदा बस्न लाग्नुभएको छ । घर बिदामा बस्न लाग्नुभएका थापा र प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्न आउनुभएका शर्माबीच बुझबुझारथ (हस्तान्तरण)भएको हो ।

बुझबुझारथ कार्यक्रममा नेपाली सेनाका पूर्वप्रधान सेनापतिहरु, निमित्त रक्षा सचिवलगायत सेनाका रथी, अधिकृत, पदिक तथा सकलदर्जाको उपस्थिति रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । कार्यक्रममा प्रधान सेनापति थापाले प्रभुरामका रुपमा नेपाली सेनाले अनुभवी र क्षमतावान नेतृत्व प्राप्त गर्न लागेकोमा खुशीसमेत व्यक्त गर्नुभएको थियो । उहाँले आगामी दिनमा नेपाली सेना थप पेशेवार हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्न पुग्नुभएका शर्माले पनि नेतृत्व हस्तान्तरणको प्रकृयालाई अत्यन्तै व्यवस्थित र सहजीकरण गरेकोमा प्रधान सेनापति थापाको प्रशंसा गर्नुभएको थियो । सेनामा सामूहिक सामुहिक भावना नै सर्वोपरि हुने भन्दै उहाँले यसका लागि तालिमको महत्वमाथि जोड दिनुभएको थियो । विगतका उपलब्धिहरुलाई संस्थागत गर्दै सुधारका विषयहरुलाई निरन्तरता दिइने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको निर्देशनालयले जनाएको छ ।

यसअघि नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै प्रधान सेनापति थापाले पद्धति र प्रणालीहरुको सुदृढीकरणमा सबैको योगदान हुनुपर्ने तथा नेपाली सेनाका सकल दर्जाले सिपाहीको विशिष्ट चरित्रलाई सदैव कायम राख्नुपर्नेमा जोड दिनुभएको थियो ।

बुझबुझारथ कार्यक्रम पश्‍चात पूर्वप्रधान सेनापतिहरुद्वारा जंगीअड्‍डा परिसरमा वृक्षारोपण समेत गरिएको थियो । साथै, प्रधान सेनापति थापाद्वारा वीरगति प्राप्त गरेका सेनाको सम्मानमा छाउनीस्थित वीर स्मारक र सैनिक मञ्‍च टुंडिखेलमा श्रद्धाञ्‍जली अर्पण गरेको निर्देशनालयले जनाएको छ ।

बुझबुझारथ कार्यक्रमको पूर्वसन्ध्यामा हिजो जंगीअड्‍डा परिसरमा रात्रीभोजको आयोजना समेत गरिएको थियो । आजदेखि बिदामा बसेपनि थापा प्रधानसेनापतिको सरकारी निवास ललितपुरको झम्सिखेलस्थित शशि भवनबाट भने भदौ २० गते मात्र आफ्नो निजी निवास बूढानीलकण्ठ सर्नुहुनेछ । त्यतिञ्जेल उहाँ पाटनमै रहने बताइएको छ ।

नयाँ सेनापति शर्माले भने भदौ २५ गते राष्ट्रपतिबाट पदभार ग्रहण गरेपछि मात्र सरकारी आवास प्रयोग गर्ने कार्यक्रम रहेको सैन्य स्रोतले बताएको छ ।

टिप्पणीहरू