एमालेमा अब दुबै पक्ष एक्ला चलो रे

एमालेमा अब दुबै पक्ष एक्ला चलो रे

कार्यदल (विघटित) स्तरमा एकता वार्ता चलिरहेका बेला संस्थापन पक्षले संगठनसम्बन्धी महत्वपूर्ण निर्णय गरेपछि एमाले विवाद बेग्लै मोडमा पुगेको छ । वरिष्ठ नेता माधव नेपाल पक्षले एकलौटी निर्णय नगर्न दिएको चेतावनीका बाबजुद संस्थापनले विधान संशोधन प्रस्ताव पार्टी गर्नुका साथै अन्य महत्वपूर्ण निर्णय गरेपछि एमाले विवाद उत्कर्षमा पुगेको हो ।

नेपाल समूहको उपस्थिति बिना नै आज बसेको संस्थापन पक्षको बैठकले विधान संशोधन प्रस्तावको मस्यौदा पारित गरेको छ भने पार्टी संरचना फेर्ने प्रस्ताव गरिएको छ । विधान संशोधन प्रस्तावमा केन्द्रीय समितिको संख्या २२५ जना हुने प्रस्ताव गरिएको छ । यस्तै अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था गरिएको छ ।

“प्रस्तावित विधानमा पोलिटब्यूरो नरहने र जिल्ला कमिटी खारेज गर्ने उल्लेख छ ।”

प्रस्तावित विधानमा पोलिटब्यूरो नरहने र जिल्ला कमिटी खारेज गर्ने उल्लेख छ । त्यस्तै,प्रदेश कमिटी र स्थानीय तह कमिटीलाई कार्यकारी बनाउने विधानमा प्रस्ताव गरिएको छ । स्थायी कमिटीबाट पारित भएर केन्द्रीय कमिटीमा छलफलमा रहेको विधान संशोधनको प्रस्ताव अनुमोदन भएपछि लागू हुनेछ ।

नेपाल समूहले भने एकता प्रक्रिया जारी रहेकाले बैठक रोक्न माग गर्दै आएको थियो । शुक्रबार सम्पन्न सो समूहको केन्द्रीय समिति बैठकले विधान अधिवेशन, सदस्यता नवीकरणलगायतका निर्णय नगर्न आग्रह गरेको थियो ।

संस्थापन पक्षले एकलौटी निर्णय गरेपछि नेपाल समूहले पार्टी एकता कठिन मोडमा पुगेको निष्कर्ष निकालेको छ । आजको निर्णयले केपी ओली एक्लै हिंड्न खोजेको पुष्टि भएको भन्दै नेता जीवनराम श्रेष्ठले पार्टी एकताको प्रयास असफल हुने अवस्थामा पुगेको बताए । आफ्नो समूहले यसबारे छिट्टै आधिकारिक धारणा बनाउने श्रेष्ठको भनाइ छ।

‘हामीले बैठक रोकेर सहमतिमा आउन औपचारिक निर्णय नै गरेका थियौँ । तर,उहाँहरुले बैठक रोक्नु भएन । एकपक्षीय रुपमा निर्णय गर्नुभयो भन्ने सुनिएको छ । मैले निर्णय त हेरेको छैन । विवाद बढिरहेका बेला गरिएका यस्ता निर्णयले एकता प्रक्रियालाई बिथोल्छ’

‘हामीले बैठक रोकेर सहमतिमा आउन औपचारिक निर्णय नै गरेका थियौँ । तर,उहाँहरुले बैठक रोक्नु भएन । एकपक्षीय रुपमा निर्णय गर्नुभयो भन्ने सुनिएको छ । मैले निर्णय त हेरेको छैन । विवाद बढिरहेका बेला गरिएका यस्ता निर्णयले एकता प्रक्रियालाई बिथोल्छ’,नेता श्रेष्ठले भन्नुभयो ।

नेपाल पक्षका अर्का एक नेताले पनि अध्यक्ष ओलीका कारण पार्टी एकता बिथोलिएको बताए । एकता प्रक्रियालाई कमजोर बनाउने गरी ओली एकलौटी रुपमा अघि बढेकाले आफूहरु चुपचाप नबस्ने उनको भनाइ छ । भने, ‘उहाँहरु एकलौटी रुपमा वडासम्मै संगठन विस्तारमा लागिसक्नुभ्यो । अब हामी चुप लागेर बस्दैनौँ,हाम्रा गतिविधि पनि अघि बढ्छ ।’

अध्यक्ष ओलीले भने संगठन विस्तारलाई थप ब्यापक बनाउन निर्देशन दिनुभएको छ । आजको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले तल्ला कमिटीका गतिविधिहरु नरोक्न निर्देशन दिनुभएको हो । पार्टी जेठ २ अघिकै अवस्थामा पुगेको भन्दै उहाँले नेपाल पक्षलाई कुरेर बस्न नसकिने पनि प्रष्ट पार्नुभएको छ ।

नेपाल समूहका केही नेताले भने संस्थापन पक्षले बैठक स्थगित नगरे एमाले औपचारिक रुपमा विभाजन हुने यसअघि नै चेतावनी दिएका थिए । यद्यपि नेपाल समूहको औपचारिक धारणा आइसकेको छैन ।

टिप्पणीहरू