​अदालतप्रति प्रमको आक्रोश

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणमा जानुअघि पार्टी हेडक्वार्टरलाई गरेको ब्रिफिङ यस्तो थियो, ‘अन्तर्राष्ट्रिय चलन कार्यवाहक दिने सन्दर्भमा एकनासको छैन । कसैलाई दिए हुन्छ । नदिए पनि हुन्छ । यो प्रधानमन्त्रीको स्वविवेकको अधिकार र नितान्त प्राविधिक कुरा हो । म गएपछि फस्र्ट मेन, सेकेण्ड मेन को हुने भन्ने झगडा छ । बसेर सबैसँग सिरियस्ली कुरा गर्न पनि समय पुगेन । अहिलेको भ्रमणमा औपचारिक सन्धि–सम्झौता गर्नेभन्दा पनि पाइपलाइनमा रहेका योजनालाई कार्यान्वयनमा ल्याउने वातावरण बनाउने हो ।’

घरेलु राजनीतिबारे उनको भनाइ थियो– ‘समयमै चुनाव सम्पन्न गर्न सके सत्ता हस्तान्तरण पनि धेरै सजिलो हुन्छ । मधेसी दलबाहेक अरू सबै चुनावका निम्ति लचिलो भएका छन् ।’ पछिल्लो समसामयिक घटनाक्रमबारे उनी भन्दै थिए, ‘आइजी प्रकरणमा सर्वोच्चले कार्यपालिकाको कार्यक्षेत्र र अधिकारमाथि हस्तक्षेप गर्न खोज्यो । यो चिन्ताजनक कुरा हो । देउवाजीको प्रेसर आफ्नो ठाउँमा छँदै छ । गृहमन्त्री पनि उहाँकै पार्टीको हो । उहाँकै कुरा मानेर नियुक्त गरिएको हो । मुलुक अहिले चुनावउन्मुख छ । त्यसमा जानैपर्ने बाध्यता सबैको छ तर तयारी कसैको छैन ।’ आफ्नो पार्टीको स्थितिबारे उनले नेतालाई थप ब्रिफिङ गरे, ‘अहिले हाम्रो पोजिसन राम्रो छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता एजेण्डा हाम्रा हुन् । तर, त्यसबाट हाम्रो सम्बन्ध जनतासँग टुट्न खोजेको हुँदा हामीले यो चुनावमार्फत जनतासँग फेरि सम्बन्ध जोड्नुपर्छ ।’

टिप्पणीहरू