ढ्वाङ हिँडे धमाधम

५० रुपैयाँको नोट मात्र होइन, वैशाख ३१ गते हामीले भोट खसाल्ने ढ्वाङसमेत उत्तरबाट आउन लागेको छ । अबको एक साताभित्र चीनबाट ३० हजार वटा नयाँ मतपेटिका काठमाडौं आइपुग्नेछ । एकै चरणमा चुनाव गर्नुपर्ने हुँदा थप मतपेटिका आवश्यक परेको हो ।

पुराना ६० हजार थान छँदै छन् । अनि मतदाता पनि ०७० सालपछि २ लाख जना बढेका छन् । सम्भवतः ३ अप्रिलदेखि आपूर्तिकर्ताले ती मतपेटिका निर्वाचन आयोगलाई बुझाउन शुरु गर्नेछ । उता, बनाउँदै ल्याउँदै दिँदै गर्ने योजनामा आपूर्तिकर्ता रहेको बुझिएको छ । यस्तो मतपेटिका प्रतिगोटा ३२६० रूपैयाँमा किनिएको हो । देशभर जम्मा २१ हजार मतदान केन्द्र रहने प्रारम्भिक अनुमान छ ।

तराईमा छ र धादिङसहित पहाडका ३ जिल्लामा केन्द्र तोक्न अझै बाँकी छ । जम्मा कतिवटा मतदान केन्द्र र कुन स्थानमा रहने भन्ने विषय पछि टुंगो लाग्ने भए पनि अहिले मतपेटिका किनेर तयारी अवस्थामा राख्न आयोगले भाँडाचाहिँ खरिद गरेको हो ।

टिप्पणीहरू