प्रेमिल कथा तीर्थराम र बाटुलीको

प्रेमिल कथा तीर्थराम र बाटुलीको

हिँड्दा हिँड्दै कहाँ फ्याट्ट चुँडिन्छ जीवन, कसलाई के थाहा ? र, पनि हामी चलाउन खोज्छौं जीवनलाई नियममा । अक्सर जीवन नियममा कम, संयोगमा धेरै चल्छ । राजधानीको सडक किनारामै बसेर तीन दशकदेखि धेरै धुलो, धुवाँ खाए उनका दम्पतीले, सडक किनाराको नाङ्लो व्यापारले सम्पत्ति त के जोड्नु ? सात मुखका लागि बिहान–बेलुकाको जोहो, ४ सन्तानको शिक्षा–दीक्षा त्यही सडक किनारामै बसेर गरे । लाहुरे माया, चाहुरे पिरती लगाउनेहरूको भीडमा अनुकरणीय पात्र हुन् तीर्थराम । जसले विवाह गरेदेखि अनेकन व्यथाले गुज्रिएकी श्रीमतीको साथ छाडेनन् । श्रीमतीको जीर्ण शरीर बोकेर कहिले धामी–झाँक्री त कहिले अस्पताल चाहारे, सडकमै श्रम–पसिना बेचेर आर्जेको रकमको आधा अंश श्रीमतीकै उपचारमा खर्चिए ।

सातदोबाटो चोक नजिकै बसेर चिया बेच्न थालेको झण्डै तीन दशक भयो । कोरोना महामारीका कारण झण्डै दुई महिना रोकिएको चिया पसल निषेधाज्ञा खुकुलो भएसँगै खुला छ । परबाट गाडामा राखिएको चिया पसल बेच्ने दम्पतीको दैनिकी नियाल्दा गहभरि आँशु बर्सिन खोज्छ । रुवाउने कथा हो यो दम्पतीको ।

दशकौँ भयो चिया पसल खोलेर आफूसहित ७ जनाको जहान पालेको । चिया पसलले नै छोराछोरी पढायो, हुर्कायो । आज ती आ–आफ्ना ठाउँमा सक्षम छन् । उनीहरूले बुवा–आमालाई सडकमा धुलो धुवाँ नखान र पसलको काम छाडेर आनन्दले जीवन जिउन पनि अनुरोध नगरेका होइनन् । तर, यो दम्पती जति आफ्ना सन्तान वा छोराछोरीलाई माया गर्छ उति नै माया गर्छ पसललाई । दुई मुठी सास रहुञ्जेल पसलमै बसेर सेवा गर्ने बताउँछ ।

साँझ छिप्पिँदै गएपछि श्रीमान् वा छोराछोरीमध्ये कसैले घरसम्म पु¥याउँछन् । घरसम्म पुग्न भने त्यति सहज छैन ।

तीर्थराम र बाटुलीको कहानी हो यो । गरिब र दीनहीनलाई लाग्ने रै’छ दैव पनि । सडक किनारामै बसेर रोजीरोटी चलाइरहेको बाटुलीको देव्रे खुट्टा काट्नुपर्ने स्थिति आयो । हड्डीको क्यान्सर भएपछि अस्पतालले पिँडुलामुनिको भाग नकाटिए झन् खतरा हुने सुनायो र तत्काल अपरेशन गर्न सुझाव दियो । खुट्टा नै काट्नुपर्ने सुनेपछि तीर्थरामको मन भारी भयो । हजारौँपटक ‘हुन्न’ भने । तर, श्रीमतीको अवस्था देखेर मन दह्रो बनाए । र, अन्ततः काटियो खुट्टा । सक्कली खुट्टामा नक्कली खुट्टा राखियो । राति बिछ्यौनामा कैयौँ रात तीर्थराम रोएका छन् । बाटुली सम्झाउँथिन् । यसरी नै वर्ष बिते । अहिले उनीहरू ती दिन सम्झन चाहँदैनन् ।

जेठो छोरा र जेठी छोरीको विवाह भइसक्यो । अरु सबैको विवाह हुन बाँकी छ । फुर्सद हुँदा उनीहरू पनि आमा, बुवालाई सघाउन पसलमा आउँछन् । बिहान ४ बजे घडीको सुई घुम्दै गर्दा यो दम्पती उठ्छ । नित्यकर्म सकाएर श्रीमतीलाई ह्विलचेयरमा चढाई पछिबाट साहारा दिँदै पसलसम्म लाग्छन् । ह्विलचेयरबाट पसलसम्म आइपुग्न तीर्थरामलाई अहिले गाह्रो हुँदै गएको छ ।

सार्वजनिक बस स्टेशनमा नआइपुग्दै बाटुली चिया उमालिसकेकी हुन्छिन् । तीर्थराम भने सामान ल्याउँछन् । गाडामा बस्ने मिल्ने गरी बनाइएको सिटमा बिहानदेखि बेलुकासम्म चिया पकाउँछिन् । शौच गर्न मन लागे बैसाखी वा श्रीमान्को सहारा लिन्छिन् । साँझ छिप्पिँदै गएपछि श्रीमान् वा छोराछोरीमध्ये कसैले घरसम्म पु¥याउँछन् । घरसम्म पुग्न भने त्यति सहज छैन । वारपारको सडक पार गरेर जानुपर्छ । सीधा हिँड्ने सडक छैन । बस रोकेर विस्तारै सडक पार गर्नुपर्छ । सडकका खुड्किला पार गर्नुपर्छ ।

तीर्थले कैयौँपटक ‘अब तँ घरमै बस्, पसलको सबै काम म हेर्छु’ भने । तर, श्रीमतीको मन मान्दैन । गाडामा बस्दा छोराछोरीकै साथमा छु जस्तो लाग्छ । बिहान हुनेबित्तिकै उनी गाडाकै साथ खोज्छिन् । जुन गाडाले छोराछोरीलाई यहाँसम्म ल्याइदियो त्यो ‘गुनी’ गाडाको साथ कहिल्यै नछाड्ने सुनाउँछिन् ।

आत्मविश्वासको कुरा गर्दा बाटुली आकाशमा चम्किने ताराभन्दा पनि चम्किलो छिन् । कुरा सुन्दा सबैका लागि प्रेरणाकी खानी हुन् । जे छ त्यसैमा खुशी हुन्छिन् । त्यसमाथि श्रीमान्को अथक सहयोग पाएकी छन् । पसलको कमाई कति हुन्छ ? भन्छिन्, बाबु रोगदेखि भोकसम्मको हटाइदिएको छ पसलले । उनका अनुसार पसल दुहुनो गाईजस्तै हो र आफूहरू गाईका गार्ड हौँ । पसलले उनको उपचार, ऋण, पढ्दै गरेका छोराछोरीको पनि पढाइ खर्च धानेको छ । सडकपेटीमा पसल राखेर यतिबिघ्न आम्दानी होला र ? अनौठो लाग्न सक्छ । तर, वास्तविकता यही हो ।

खुकुलो निषेधाज्ञापछि मानिसको चहलपहल शुरु भएसँगै खुलेको पसलमा चिया पारखीहरू आउँछन् । यी दम्पतीकहाँ, पहिला जसरी नै बात मार्छन्, चिया पिउँछन् । दम्पती पहिलेजस्तै व्यस्त छन् । श्रीमान्, श्रीमतीबीच सामान्य ठाकठुक हुँदा समाजमा कैयौंका घर भाँडिएका छन् । अपांग शरीर घिसार्दै जो दुई हात थापेर होइन, दुई हात, दश आैला खियाएर आफ्नो जीवनको रथ हाँकिरहेकी छन् । अपांगले सामाजिक सुरक्षा भत्ता पाउँछन् रे भन्ने त उनले पनि सुनेकी छन् ।

तर, त्यो कुन चरीको नाम हो उनलाई पत्तो छैन । सरकारले दिने मासिक दुई तीन हजार भत्तामा होइन आफ्नो श्रम, पसिनामा विश्वास गर्छ यो दम्पती ।

टिप्पणीहरू