​बेइजिङमा नेपालको धेरै बेइज्जती

भारत गैरहने र चीनसँग सम्बन्ध बिगारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अप्ठ्यारो पार्ने परराष्ट्रमन्त्री प्रकाशशरण महतले बेइजिङ पुगेर देशको हुर्मत लिएका छन् । सकेसम्म चीनसँग सम्झौता नगर्ने र गर्न नदिने उद्देश्य बोकेका महत पहिले प्रधानमन्त्रीसँग चीन जान तयार थिएनन् । तर, जब चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र परराष्ट्रमन्त्री वाङ यी त्यो बेला अष्ट्रेलियामा रहने सुइँको पाए तब चीन जान कस्सिए ।

जे–जस्तो उद्देश्य लिएर उनी चीन पुगेका थिए उसैगरी उनको कामलाई सञ्चार माध्यमले पर्दाफास गरिदिएका छन् । हाइनानमा आयोजित बोआओ फोरमका कतिपय क्षेत्रमा उनले प्रधानमन्त्री दाहाललाई ओभरटेक गर्दै बोलेका थिए बेइजिङ पुगेकै दिन नेपाली दूतावासमा आयोजित कार्यक्रममा त झनै गाईजात्रा देखाए । महत प्रधानमन्त्री र राजदूत लीलामणि पौडेलसँगै मञ्चमा राष्ट्रगान बज्दा उभिएका थिए । राजदूतले दाहिने हात देब्रे छातीमा राखेर राष्ट्रगान गुन्गुनाए भने प्रचण्ड सतर्क पोजिसनमा उभिए । तर, परराष्ट्रमन्त्री महतचाहिँ केही चपाउँदै थिए । सम्भवतः उनी मञ्चमा जानुअगाडि बदाम अथवा पकौडा खाँदै थिए र हतारहतार जाँदा एकाध मीनेट पनि मुखको खानेकुरा नचपाई बसिरहन सकेनन् । राष्ट्रगान बज्दा कुन अवस्थामा रहनुपर्छ भन्ने कुराको पनि हेक्का राखेनन् ।

त्यति मात्र होइन, प्रधानमन्त्रीले छुट्टै कोठामा विभिन्न तहका चिनियाँ प्रतिनिधिसँग छलफल गर्दा मोबाइल खेलाएर बसेका थिए । सबैभन्दा बढी उनी आइतबार बेइजिङ फरेन स्टडी विश्वविद्यालयको कार्यक्रममा चिप्लिए ।

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा सहभागी जनआस्थाका एकजना शुभेच्छुकले मंगलबार ल्हासाबाट बताएअनुसार प्रचण्डभन्दा अगाडि बोलेका महतले चुनाव प्रसारजस्तो अन्टसन्ट बोलेर गाईजात्रा देखाए । परराष्ट्रमन्त्रीको हैसियत के बोल्ने र के नबोल्ने भन्ने पनि ख्याल गरेनन् । चीनले अगाडि सारेको वन बेल्ट वन रोड कार्यक्रममा नेपाल सहभागी हुन्छ भन्ने आवश्यकता पनि देखेनन् । बरु नेपालको विकासमा चीनजत्तिकै भारतको पनि महŒव रहेको बताए । महतको यस्तो बोली अञ्जानमै चिप्लिएको थियो अथवा जानाजानी भारतलाई खुशी बनाउन बोलेका थिए त्यो त उनैले जान्ने कुरा हो । तर, उनको बदमासीलाई बाहिर ल्याउने काम भने एक नेपाली दैनिक पत्रिकाले गरेको छ ।

महतले देशकै बेइज्जत हुनेगरी भद्रगोल बोलेको भनेर नेपालको एक अनलाइनमा प्रकाशन भएपछि समाचारको प्रभाव व्यापक रह्यो । यसबाट मन्त्रीको पनि टाउको नदुख्ने कुरै थिएन । फलतः उनले बेइजिङबाट समाचार लेख्ने ती पत्रकारलाई फोनमा हप्कीदप्की गरेको बुझिएको छ ।

त्यसो त प्रधानमन्त्रीको चीन भ्रमणअगाडि क्याबिनेट बैठकमा परराष्ट्रमन्त्री र ऊर्जामन्त्री जनार्दन शर्माबीच चर्काचर्की परेको थियो । मन्त्री शर्माले महतलाई चीनविरोधी काम गरेको र प्रधानमन्त्रीलाई समेत अप्ठ्यारोमा पारेको भनेपछि महत पड्किएका थिए । महतले विभिन्न नेपाली सञ्चारमाध्यममा चीनले निमन्त्रणा नै गर्दैन, गरे त जान्थेँ नि भन्दै भारतले बारम्बार निम्तो गरेकाले दिल्ली गइरहनुपरेको विचार व्यक्त गरेका थिए । उनले नेपाल–चीनबीच संयुक्त सैनिक अभ्यास हुन सक्दैन र हुँदैन भनेर नेपाल–चीनबीच भएको संयुक्त सैनिक अभ्यासलाई समेत बिच्क्याउन खोजेका थिए ।

परराष्ट्रमन्त्रीले देखाउँदै आएको केटौलेपन र चीनविरोधी छविको शुरुआतचाहिँ कांग्रेस सभापति शेरबहादुर देउवाले दलाई लामाका प्रधानमन्त्रीसँग गोवाको एउटा कार्यक्रममा भाग लिएपछि आएको समाचार छल्ने कुराबाट भएको थियो ।

टिप्पणीहरू