शिशा फोरेपछि पैसा सर्लक्कै

कांग्रेस केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ का सांसद मोहनबहादुर बस्नेत भन्नासाथ धेरैले राजनीतिक संस्कार कम, ‘गुण्डागर्दी’ र थर्काउने मर्काउने नेताको रूपमा बढी चिन्छन् । 

तातोपानी भन्सारमा धेरै पटक गएर कर्मचारीको सातो खाएका छन्, ठूलो स्वर र ज्यानले गर्दा पनि त्यसो गर्न सजिलो छ । जिल्लामै आतंक मच्चाउने बस्नेतले सुरक्षाकर्मीको बाक्लो उपस्थित रहने र सरकारी कर्मचारीको मुटु सिंहदरबारमै गएर उपद्रो मच्चाएका छन् ।

माओवादी सिफारिसमा अर्थ मन्त्रालयले करोडौं निकास गरेको र आफ्ना योजनामा एक रुपैयाँ पनि बजेट नहालेको भन्दै बस्नेत आफ्ना केही सहयोगीसहित कर्मचारीलाई कुट्ने मन बनाएर मन्त्रालय पुगेका थिए । पानी नपरे पनि छाता बोकेर बजेट महाशाखामा पुग्दा शाखाका सह–सचिव मधु मरासिनी कर्मचारीसँग गफमा व्यस्त थिए । नाङ्ले टोपी लगाएका बस्नेतलाई कर्मचारीले बस्न आग्रह गरे । तर, बस्नेतले गालीको बर्षा गर्न थाले । शब्द यति अश्लील थियो कि महिला कर्मचारी शब्द सुन्न नसकेर रातोपिरो हँुदै हिँडे । उनको गाली सुन्न अरू शाखाका कर्मचारी पनि त्यही कोठामा जम्मा भएका थिए । 

झण्डै एक घण्टाजति मनपरी बोलेपछि उपसचिवले यहाँबाट कुनै पनि जिल्लामा बजेट गएको छैन भन्नासाथ बस्नेतले उनको अगाडि रहेको टेबुल ठोकेर सिसा फुटाइदिएका थिए । कतै पनि नपठाएको भए यो तेरो बाउले पठाएको त, अर्थ मन्त्रालय माओवादीको पेवा हो ? तेरो पाँच वटा दाँत एक सटमा झारिदिऊँ भन्दै टेबुल ठोकेको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । माओवादी नेताको सिफारिसमा सिन्धुपाल्चोकलगायत अन्य जिल्लाका विभिन्न योजनामा बजेट पठाएको पत्र पेश गर्दै अहिले भर्खरै मेरो योजनामा बजेट हालिनस् भने तेरो दाँत सबै झारिदिन्छु भन्दै बस्नेत हिँडेका थिए । 

गालीको वर्षा र टेबुल फोरेपछि उनी आफ्ना सहयोगी रामेश्वर आचार्यलाई त्यहीँ राखेर हिँडेको बताइन्छ । त्यसपछि तत्कालै बैठक बसी उनको सिफारिसमा झण्डै १ अर्ब बजेट सिन्धुपाल्चोकमा पठाइएको छ । 

टिप्पणीहरू