दार्चुला गएको टोलीलाई तत्काल काठमाडौं नआउन निर्देशन

दार्चुला गएको टोलीलाई तत्काल काठमाडौं नआउन निर्देशन

नेपाल-भारत सीमाको महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबि) का एक जवानले तुइनको लठ्ठा फुस्काएपछि जयसिंह धामी नदीमा बेपत्ता भएको ठाउँमा धामी र घटनाबारे सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा खटिएको टोली काम सकिए पनि अझै दार्चुला सदरमुकाममै छ ।

स्रोतका अनुसार दार्चुला गएको छानबिन टोलीले आफ्नो काम सकाएको छ । रिपोर्ट बनाउन भनेर टोली दार्चुलाबाट हिँड्नै लाग्दा सिंहदरबारबाट तत्काल काठमाडौं नआउन आदेश भएपछि उनीहरु त्यहिँ थप वयान लिने नाममा अड्किएका हुन् ।

तत्काल काठमाडौं फर्कंदा सर्वसाधारणलाई समेत चासो हुने भएकाले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी,प्रशासन र सरकार भिडिरहेको देखाउन पनि टोलीलाई केही दिन उतै बस्न निर्देशन दिइएको गृह मन्त्रालय स्रोतले बताएको छ । स्रोतले भनेको छ,‘रिपोर्ट पेश गर्ने बित्तिक्कै के हो, कसो हो भन्ने चर्चा हुन्छ, त्यसैले केही दिन त्यहिँ भुल्न भनिएको होला । नत्र काम भने सकिइसकेको छ ।’

अहिले छानबिन टोलीका सदस्यहरु सबै दार्चुला सदरमुकाममा बसेका छन् । उनीहरु नजिकैका सरकारी गेष्टहाउसहरुमा बाँडिएर बसेको बताइन्छ ।

छानबिन टोलीमा संयोजक तथा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम,नेपाल प्रहरीका नायव महानिरीक्षक पुरुषोत्तम कँडेल,राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा,सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी रहेका छन् ।

टोलीले भारततर्फको महाकाली किनारमा पुगेर तुइन बाँधिएको रूखको नापजाँच समेत लिएको छ । उनीहरूले घटनास्थलको फोटो र भिडियो खिचेका छन् । धामी तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको लठ्ठा फुस्काइ दिँदा नदीमा खसेर बेपत्ता भएका हुन् ।

टिप्पणीहरू