लुम्बिनीको एमाले सरकार पर्सि ढल्ने निश्चित

लुम्बिनीको एमाले सरकार पर्सि ढल्ने निश्चित

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) को लुम्बिनी प्रदेशका तीन सांसदलाई पद थमौति गर्ने अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीको निर्देशन विपरित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमाले सरकारमा मन्त्री बनेर कारवाहीमा परेपछि पद जोगाउन अन्तरिम आदेश माग्दै उनीहरु सर्वोच्च पुगेका थिए ।

अन्तरिम आदेश दिन नमानेको न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले उनीहरुलाई पदमुक्त गर्नुको कारण पेश गर्न विपक्षीहरुका नाममा कारण देखाऊ आदेश भने दिएको छ । रिटमा जसपा केन्द्रीय कार्यकारिणी समिति,लुम्बिनी प्रदेश संसदीय दल र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको थियो ।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षरको मसी नसुक्दै सरकारमा सहभागी भएका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डे,भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई जसपाले यसअघि पनि कारवाही गरेको थियो । उक्त कारवाहीविरुद्ध अदालत पुगेका उनीहरुको अन्तरिम आदेशबाट पदबहाली भएको थियो ।

जसपाको आधिकारिकता विवाद टुंगो लागेसँगै उनीहरु पुन: कारवाहीमा परेका हुन् । अघिल्लो मुद्धा विचाराधीन रहेका बेला पार्टीले गरेको कारवाही अवैधानिक हुने भन्दै उनीहरु पुन: अदालत गएकोमा आज न्यायाधीश खतिवडाको इजलासले पद थमौती गर्न अस्वीकार गरेको हो ।

अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै लुम्बिनी सरकार संकटमा परेको छ । मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । उक्त प्रस्तावमाथि छलफल गर्न पर्सि २७ गते प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । यसैपनि अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेल आफ्नो पक्षका तीन सांसद घटेपछि थप कमजोर बनेका छन् ।

यसैवीच भूमि आयोग विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अदालतले आयोग विघटन गर्ने मन्त्रिपरिषदको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश पनि दिएको छ । साथै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा दुवै पक्षलाई भदौ १ गते छलफलका लागि पनि बोलाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग विघटन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयका विरुद्ध विघटित भूमि आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका तर्फबाट अधिवक्ता महेश भट्टराईले रिट हालेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विपक्षी बनाएर हालिएको रिटमा अन्तरिम आदेश मागिएको थियो ।

सर्वोच्चको आदेशसँगै भदौ १ गतेसम्मका लागि आयोग ब्युँतिएको छ ।

टिप्पणीहरू