माधव पक्ष नगए पनि ओली खेमा अघि बढ्यो

माधव पक्ष नगए पनि ओली खेमा अघि बढ्यो

दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संस्थापन पक्षको स्थायी कमिटी बैठक शुरु भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित स्थायी कमिटीका नेताहरु सहभागी छन् ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुनुभएको छ । त्यस्तै,महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेवाङ,उपमहासचिव बिष्णु पौडेल, प्रवक्ता प्रदीप ज्ञवाली,माओवादीबाट गएका स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा बादल,मणिचन्द्र थापा,लेखराज भट्ट,टोपबहादुर रायमाझी,शंकर पोखरेल,रघुवीर महासेठ,कार्यालय सचिव शेरबहादुर तामाङलगायतका नेताहरु बैठकमा सहभागी छन्।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको अनुपस्थितिमा बसेको बैठकले विधान संशोधनको मस्यौदा प्रस्ताव पारित गरेर केन्द्रीय कमिटीमा पेश गर्ने बताइएको छ । नेपाल समूहले भने एकता वार्ता चलिरहेका बेला विधान संशोधन र संगठनसम्बन्धी कुनै पनि निर्णय नगर्न आग्रह गर्दै आएको छ ।

नेपाल पक्षको आग्रहअनुसार नै हिजोको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । तर, आजको बैठक भने कुनै पनि हालतमा नरोकिने ओली पक्षका एक नेताले बताए । नेपाल समूहका कतिपय नेताले भने बैठक स्थगित नभए एमाले औपचारिक विभाजनमा पुग्ने चेतावनी दिएका छन् ।

ओलीपक्षले आगामी भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन तोकेको छ ।

टिप्पणीहरू