आजको धर्नामा प्रहरी हस्तक्षेपको सम्भावना

आजको धर्नामा प्रहरी हस्तक्षेपको सम्भावना

राजधानी काठमाडौंमा आज विभिन्न कार्यक्रम हुने जानकारी प्राप्त भएको छ । विभिन्न विकास कार्यक्रमको शिलान्यासदेखि विरोध कार्यक्रमसमेत तय भएको बताइएको छ ।

जसअनुसार सबेरै सूर्यविनायक नगरपालिका ८ वडा कार्यालयले नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यमा घ्याम्पे डाँडा–पाटी भञ्ज्याङ्ग सडक खण्ड स्तरोन्नतिको शिलान्यास कार्यक्रम राखेको छ ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय,सानेपामा आज पनि नेता तथा कार्यकर्ताको धर्ना कार्यक्रम छ । बारा र धनुषा जिल्लामा क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध बिहान ९ बजेदेखि धर्ना कार्यक्रम रहेको बताइएको छ ।

उता नेपाल टेलिकम वर्कर्स युनियन,नेपाल टेलिकम कर्मचारी युनियन र एनटीइएनले २०६१ सालको सट्टा नयाँ विनियमावली लागू गरिएको बिरोधमा आज पनि बिहान १० बजेदेखि टेलिकमको केन्द्रीय कार्यालय, भद्रकाली प्लाजामा धर्ना कार्यक्रम राखेको छ । कार्यक्रममा आज प्रहरी हस्तक्षेप हुने संभावना बढी छ ।

मंगोल नेशनल अर्गनाइजेसन (डा .गोपाल गुरुङ,संगठन) को बाग्मती प्रदेश युवा सभाले मूलवासी दिवसमा मंगोल राष्ट्रवाद प्रशिक्षण साथै भेटघाट कार्यक्रम राखेको छ । उक्त कार्यक्रम ललितपुरको इमाडोलमा बिहान १० बजे राखिएको हो ।

उता नेपाल वायुसेवा निगम युनियन,नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल वायुसेवा निगम कर्मचारी संघले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको बिरोधमा आज पनि धर्ना कार्यक्रम तय गरेका छन् । निगमको कार्यालय न्यूरोड गेटमा बिहान साढे १० देखि साढे १२ बजेसम्म धर्ना हुनेछ ।

आज संघीय संसद सचिवालय सिंहदरबारमा विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बोलाइएको बताइएको छ । त्यसैगरी,राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन समितिको बैठक पनि डाकिएको छ । उक्त बैठक कानून,न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, सिंहदरबारमा मध्यान्ह १२ बजे बस्दैछ ।

आजै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक पनि बोलाइएको छ । उक्त समितिको बैठक समितिको सभाकक्ष, सिंहदरबारमा दिउँसो १ बजे बस्ने जनाइएको छ ।

तारा बराललगायतका अभियन्ताहरूले एमसीसीको पक्षमा रहेका दल,एमसीसीमा हस्ताक्षर गर्ने पदाधिकारी तथा एमसीसीसँग प्रत्यक्ष जोडिएका व्यक्ति तथा संस्थाविरुध्द आज दिउँसो १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने भएका छन् ।

हिजो स्थगित नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो ३ बजे बैठक डाकिएको हो ।

उता क्याथपोर्ड कलेजमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न माग राख्दै कलेज प्रशासनमा हिजोदेखि गरेको तालाबन्दी आज पनि जारी रहने बताइएको छ । त्यसैगरी अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस इकाई कमिटीले विभिन्न माग राखी क्याम्पस प्रमुखको कार्यकक्षमा साउन ५ गतेदेखि गरेको तालाबन्दी पनि जारी रहेको छ ।

नेविसंघको पुल्चोक इन्जिनियरिङ क्याम्पस कमिटीले पनि माग पूरा नगरेको भन्दै डिनको कार्यकक्षमा चैत ३१ गतेदेखि लगाएको तालाबन्दीलाई आज पनि जारी राख्ने जनाएको छ ।

उता,नेपाल भूमिहिन सुकुम्बासी संगठन केन्द्रीय कमिटीले परमादेशद्वारा गठित सरकारले गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्ध बिरोध प्रदर्शन गर्ने भएको छ । बालाजुमा गरिने प्रदर्शन दिउँसो ३ बजे हुने जनाइएको छ ।

टिप्पणीहरू