​अबको बाटो अशान्तिकै हो ?

प्रधानमन्त्री प्रचण्ड अहिले एकसूत्रीय रुपमा सरकार कसरी टिकाउने भन्ने सोचमा छन् । आजबाट मधेसी मोर्चाले दिएको समर्थनको म्याद सकिँदैछ भने संविधान संशोधनको लागि आवश्यक दुई तिहाई अब आकाशको फल बन्दैछ । उपप्रधानमन्त्री र रोजेको मन्त्रालय दिएर कमल थापालाई सरकारमा त ल्याइएको छ तर अहिलेकै अवस्थामा संविधान संशोधन प्रक्रिया अघि बढाइयो भने तुरुन्त बाहिरिन्छु भनेर उनले सार्वजनिक घोषणा गरिसकेका छन् । यसो हुँदा प्रचण्डले गरेको पछिल्लो मन्त्रिपरिषद् विस्तारको औचित्यसमेत पुष्टि हुन नसक्ने देखिएको छ ।

उता एमालेले अब आफ्नो यात्रामा पूर्णविराम नै लगाउँछ होला भन्ने जुन अनुमान सत्तापक्ष र मधेसी मोर्चाले लगाएका थिए, त्यो गलत सावित भएसँगै चुनावी राजनीतिमा समेत एमालेको प्रतिस्पर्धी बन्नु निकै कठिन छ भन्ने निश्कर्षमा अन्य दलहरु पुग्ने सम्भावना बढेको देखिन्छ ।
पृष्ठभूमिमा यस्तो वातावरण सिर्जना हुनु र सरकारले ०५४ सालकै झल्को दिनेगरी मन्त्रिपरिषद्लाई अंकगणितको आधारमा विस्तार गर्नुले देश दिनप्रतिदिन अस्थिरतातर्फ धकेलिँदै गएको आभाष भइरहेको छ । एकातिर स्थानीय तहको चुनाव घोषणा भइसकेको छ र त्यसप्रति इमान्दार भएर वातावरण निर्माण गर्न सरकार नै लागिपरेको कुनै प्रमाण अहिलेसम्म देखिएको छैन ।

उता प्रमुख प्रतिपक्षी एमालेले आफूलाई पूर्णरुपमा चुनावी माहौलमा धकेलिसकेको छ भने जसरी भए पनि चुनाव रोक्ने योजना निर्माणमा मधेसी मोर्चा तल्लिन छ । यसले नयाँ ढंगले भिडन्त त हुँदै छैन भन्ने आशंका एकातिर छ भने सरकारले कतै मधेसी र एमाले भिडाएर आफू रमिता हेर्ने अघोषित नीति नै बनाएको त होइन भन्ने ढंगले विश्लेषण गर्ने प्रशस्तै आधारहरु सतहमा देखिन्छन् । 

चाहे जे होस्, सरकारले जिम्मेवार बन्न सक्नुपर्छ । यदि मुलुक कुनै अनिष्ट बाटोमा उन्मुख हुँदैछ भने त्यसलाई रोक्ने उपायहरुको खोजी गर्नु सत्तामा बसेकाहरुको प्राथमिक दायित्व र कर्तव्य हो । तर यहाँ जसरी साँढेको जुधाई हेरेर रमाइलो मान्ने प्रवृत्ति देखिँदैछ, त्यो निन्दनीय छ । मधेसी मोर्चाले औपचारिक–अनौपचारिक दुवै रुपमा लगभग घोषणा नै गरिसकेको छ, ‘अब हामी आन्दोलनको स्वरुप बदल्छौं ।’ उनीहरुले छापामार ढंगले आन्दोलन गर्ने कुरा गरिरहेका छन् । त्यो भनेको एक प्रकारको विद्रोह नै हो र त्यसमा शान्तिपूर्ण गतिविधिको कुनै गुञ्जायस नै देखिँदैन । भन्ने आन्दोलन तर गर्नेचाहिँ युद्धको मोडमा पुग्नु । शान्तिपूर्ण ढंगले चुनावमा जाने तयारीमा एमाले लाग्नु र सरकारचाहिँ कर्मकाण्डी ढंगले मात्र चलिरहनुलाई कसरी बुझ्ने ? के अबको बाटो अशान्ति र द्वन्द्वकै हो ?

टिप्पणीहरू