प्रभुरामपछि सेनापतिमा कसको पालो ?

प्रभुरामपछि सेनापतिमा कसको पालो ?

बहालवाला प्रधानसेनापति पूर्णचन्द्र थापा बिदा हुने दिन नजिकिँदै छ र सरकारले साउन २४ देखि लागू हुने गरी प्रभुराम शर्मालाई कायममुकायम मुकर्रर गरिसकेको छ । यससँगै हिसाब शुरु भएको छ, प्रभुरामपछि कसको पालो ?

अहिले सिरियाको गोलानहाइटमा शान्ति स्थापनार्थ खटिएका फोर्स कमाण्डर ईश्वर हमाल प्रधानसेनापतिपछिको वरियतामा रहने भएका छन् । तेस्रो व्यक्ति हुँदैछन्, बालकृष्ण कार्की । उनी जंगी अड्डाकै अनुसन्धान विस्तार निर्देशनालयमा काम गरिरहेका छन् ।

यससँगै सेनामा विभिन्न विभागहरुको हेरफेर हुने सम्भावना छ । भर्खरै डिजिएमओमा पश्चिमबाट निर्मल थापा आएका छन् । सामान्यतया एक–एक वर्षमा फेरिने पृतनाहरुको कमाण्डबारे अन्योल समाप्त भएको छ । विभिन्न पृतनाहरु गाभेर देशभर चार कमाण्ड खडा गरिएको छ । सबै कमाण्डमा जर्नेलसहितका टोली तैनाथ गरिसकिएको छ ।

नयाँ प्रधानसेनापति आउनासाथ कमाण्डरहरु फेरिने प्रचलन छैन । त्यसका लागि कि कार्यकाल एक वर्ष पूरा भएको हुनुुपर्छ कि कुनै विशेष कारण हुनुपर्छ । उता, कर्णेल चन्द्रप्रकाश चापागाईं कारवाहीमा परेका छन् ।

अनियमितता आरोपमा सैनिक हिरासतमा राखिएका उनलाई सेवाबाट बर्खास्त गरिएको छ । उनी शिव दल गणबाट खटिएर शान्ति स्थापनार्थ लेबनानमा थिए ।

उक्त मिशनमा उनीसहितका अन्य पाँच जना सैनिक अधिकृत स्वदेश फर्किनासाथ पक्राउ परेका छन् । उनीहरुले विदेशमा आर्थिक अनियमितता गरेको आरोप लागेको थियो ।

टिप्पणीहरू