तैं चुप मैं चुप !

अस्ति सप्तरीमा गोली चल्यो । त्यसपछि कञ्चनपुरमा अर्को गोली चल्यो । तर आश्चर्य के छ भने, दुवै गोली कहाँबाट कसले चलायो कसैलाई थाहा छैन । सप्तरीमा चलेको गोली हाम्रो होइन भनेर नेपाल प्रहरीले भनि नै सक्यो । कञ्चनपुरमा चलेको गोली पनि हाम्रो होइन भनेर भारतको एसएसबीले भन्या । दुवै ठाउँमा अज्ञात ढंगले गोली चलेको छ ।

नेपालमा गोली पनि अनौठो–अनौठो ढंगले चल्दो रहेछ । कहाँबाट चल्छ, कसरी चल्छ कसैलाई थाहा हुँदैन । नेपालमा अक्सर सरकार कहाँबाट चल्छ कसैलाई थाहा हुँदैन । बाहिरबाट हेर्दा प्रधानमन्त्रीले चलाइरहेको जस्तो देखिन्छ । तर साँच्चै चलाउनेचाहिँ अर्कै हुन्छ । अब गोली पनि त्यस्तै हुन थालेको छ । चलिरहेको छ, चलिरहेको छ । तर कसले चलाएको हो, कसैलाई थाहा छैन । 

यो अचम्मको गोली काण्डसँगै फेरि अर्को अचम्म पनि जोडिएको छ । त्यो के भने सप्तरीमा जो गोली चल्यो त्यसबारे एमाले चुप छ । कञ्चनपुरमा जो गोली चल्यो त्यस बारे मधेसी मोर्चा चुप छ । सप्तरीमा एमाले चुप, कञ्चनपुरमा मोर्चा चुप । तैं चुप, मैं चुप भनेको यही हो कि क्या हो ?   

टिप्पणीहरू