परीक्षा बोर्डले विद्यार्थी नचिनेको २ वर्ष भयो : बोर्ड अध्यक्ष पौडेल

परीक्षा बोर्डले विद्यार्थी नचिनेको २ वर्ष भयो : बोर्ड अध्यक्ष पौडेल

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यार्थीको आन्तरिक मूल्याङ्कनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप आउनसक्ने बताउनुभएको छ ।

एसईईको नतिजापश्चात् आइतबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष पौडेलले आन्तरिक मूल्याङ्कनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षरले पनि हाइस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताउनुभएको हो ।

उहाँले शिक्षकलाई सुधारिएका विषयहरूको तालिम नदिनुले पनि उचित किसिमको मूल्याङ्कन हुन नसक्ने बताउनुभयो । विद्यार्थीहरूमा पढेपनि पास र नपढे पनि पास भन्ने परिपाटी विकसित हुँदै गएकाले भविष्यमा मुलुकलाई ठूलो क्षति हुने उहाँको भनाई छ ।

“विद्यार्थीहरूमा पढेपनि पास र नपढे पनि पास भन्ने परिपाटी विकसित हुँदै गएकाले भविष्यमा मुलुकलाई ठूलो क्षति हुने उहाँको भनाई छ । “

शिक्षक र विद्यार्थीको भेट नभएको अवस्थामा नम्बर दिनुपर्ने बाध्यता रहेको बताउँदै पौडेलले परीक्षा बोर्डले को, कस्तो विद्यार्थी हो भनेर नचिनेको २ वर्ष भइसकेको टिप्पणी गर्नुभयो ।

आन्तरिक मूल्याङ्कनबाट गरिएको नतिजा प्रकाशनले बोर्डलाई अपजस मात्र आउने गरेको बताउँदै भन्नुभयो, ‘आन्तरिक मूल्याङ्कनले दिने नतिजाले अपजसभन्दा पनि धेरै विकराल स्थिति आउन सक्छ । यसले देशको शिक्षा प्रणाली र मुलुकको विकास प्रक्रियामा नै गम्भिर असर पार्ने छ ।’

यसको पहिलो जिम्मेवारी मुलुकको भएकाले राजनैतिक नेतृत्वले बेलैमा नसोच्ने हो भने यसबाट देश र समाजलाई ठूलो क्षति हुने उहाँले उल्लेख गर्नुभएको छ । कक्षा १२ को परीक्षा बोर्डले चाहेर पनि सरकारको निर्देशनका कारण हुन नसकेको समेत उहाँले बताउनुभयो ।

अध्यक्ष पौडेलले देशभर परीक्षा सञ्चालन हुने केन्द्रहरूमा स्वास्थ्य सावधानी र थप मापदण्ड बनाएर परीक्षा सञ्चालन गर्न सकिने विश्वास समेत व्यक्त गर्नुभएको छ । कोरोना संक्रमणको जोखिमका कारण यसअघि कक्षा १२ को परीक्षा दुई–दुई पटक रोकिएको उहाँले जानकारी दिनुभयो ।

बोर्डले परीक्षाका लागि सम्पूर्ण तयारी गरे पनि सीसीएमसीले मन्त्रालयमार्फत् हालका लागि परीक्षा स्थगित गर्न निर्देशन दिएपछि रोकिएको उहाँले स्पष्ट पार्नुभएको छ ।

यो वर्ष कक्षा १२ को परीक्षा जेठमा हुने भनिएको थियो । तर त्यसपछि साउन ३१ गतेबाट हुने भनी नयाँ तालिका तोकिएको थियो । गत वर्ष पनि कोरोना महामारीका कारण कक्षा १२ को परीक्षा मंसिरमा भएको थियो ।

टिप्पणीहरू