​बेलायत बस्ने गोर्खालीका व्यथा

  • टिमोथी ओलिभर हिभर

बेलायतमा बस्दै आएका नेपाली सबभन्दा कठिन परिश्रम गर्नेमध्ये पर्छन् । शरणार्थी बन्ने उद्देश्यले छिरेका हुन् वा अध्ययनार्थ प्रायः सबैले लगन र परिश्रमबाटै गुजारा चलाउँदै आइरहेका छन् अर्थात् राज्यकोषसँग सहायता मागेका छैनन् । यसबाहेकका नेपाली भने बेलायतमा सैन्य सेवा गर्दै गरेकाहरूको परिवार हुन्, यहाँको सरकारले उपलब्ध गराउँदै आएको बसाई (घर) र स्वास्थ्य सेवाजस्ता कल्याणकारी सेवा लिएर बसेका छन् । सेनामा कार्यरत सबै नेपालीको परिवार बेलायतमा छैनन्, जो छैनन् उनीहरू पनि पस्न लालायित छन् ।

कतिपयका परिवार र छोराछोरी नेपालमै छन्, नेपाली आफ्ना छोराछोरीलाई यतै ल्याउन चाहन्छन्– राम्रो शिक्षा र भविष्यमा उनीहरूबाट सेवा र हेरचाह पाइएला भन्ने आशामा । यस्तो आशा गर्नुको एउटा बलियो कारण गोर्खा सैनिक सम्बद्ध कतिपय समूहले नेपालीलाई दिने गलत आश्वासन हो । यथार्थमा बेलायतको बसाई त्यति सजिलो छैन, जति बाहिरकाले सोच्छन् । कोही अत्यन्त कठिनपूर्ण तरिकाले जीवन गुजार्न बाध्य छन् । धेरै बेलायती युरोपेली समुदायबाट बेलायत हटेपछि नागरिकले भोग्दै आएको कठिनता समाप्त हुन्छ भन्ने आशा गर्छन् ।

युरोपेली युनियनबाट बेलायत हट्ने निर्णयको विवाद अझै सल्टिसकेको छैन । अझै केही सांसद, प्रधानमन्त्री थेरेसा मेले युनियनसँग सम्झौता गरुन् भन्ने चाहना राखिराखेका छन् । तर धेरेको मत छ कि प्रधानमन्त्रीले छिटोभन्दा छिटो युनियन छाड्ने सरकारको निर्णयको आधिकारिक सूचना देओस् । सम्भवतः प्रधानमन्त्री थेरेसाले अर्को हप्ता युनियनलाई निर्णयको औपचारिक जानकारी दिँदैछिन् । यी सांसदको भनाइ हो– ‘जनताको अभिमतको सरकारले सम्मा नगरोस् । उता, जनमत संग्रहबाट आएको नतिजाबाट असन्तुष्ट सांसद भन्छन् ‘जनमतको नतिजा अप्रत्यासित थियो, अहिले जनताले आफ्नो मन बदलिसकेका छन् ।  उनीहरू बेलायतले युनियन छाडोस् भन्ने चाहँदैनन् । त्यसो त यो भनाइ सर्वथा अनुचित पनि छैन । किनभने जनमत संग्रहलाई धेरैले सरकारप्रतिको असन्तुष्टिका रूपमा प्रकट गरेका छन् । मुलुकमा बढ्दो आप्रवासी समस्या राजनीतिक अस्थिरता आदि साधारण नागरिकजनले सोचेभन्दा भिन्न बन्दै गयो । 

ब्रिटेन यतिखेर कठिन मोडमा छ । नागरिक ऋण चुक्ता गर्ने वा घटाउने राजनीतिक निर्णयको असर जताततै पर्दै छ । राज्यको स्रोतको कमीले ज्येष्ठ नागरिक र अशक्त विरामीले पाउने सुविधामा असर परेको छ । विद्यालयले पैसा अभावमा राम्रो शिक्षा प्रदान गर्न नसकिरहेको गुनासो गर्दै छन् । सेनाको संख्यामा कटौती हुँदै छ । जबकि एउटा ठूलो एयरक्राफ्ट क्यारियर थप्ने सोचमा जल सेना थियो । सेनामा कटौतीको असर गोर्खाली सेनामा पनि पर्ने निश्चित छ ।

टिप्पणीहरू