एमसिसी खारेजको माग गर्दै युवाहरुले बुझाए विरोधपत्र

एमसिसी खारेजको माग गर्दै युवाहरुले बुझाए विरोधपत्र

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन नगर्न प्रमुख राजनीतिक दलहरुलाई चेतावनी दिइरहेको शिव सेना नेपालले आज जनता समाजवादी पार्टी (जसपा) लाई विरोधपत्र बुझाएको छ ।

एमसीसी अनुमोदनको निर्णय खारेज नगरे यसले नसोचेको परिणाम ल्याउने चेतावनी दिँदै शिव सेनाले त्यसको जिम्मेवारी सांसदहरुले लिनुपर्ने बताएको छ । मुलुकको सार्वभौमसत्ता,स्वाधीनता र संविधान विपरित एमसीसी अनुमोदन गरिए सांसदहरुको धुलाई गर्ने विरोधपत्रमा चेतावनी दिइएको छ ।

नागरिकता विधेयकको विरोध गर्न नसक्ने सांसदहरुले एमसीसी खारेजीको पक्षमा आफूलाई उभ्याउन नसक्ने शिव सेनाको ठम्याइ छ । विरोध पत्रमा एमसीसीबारे सार्वजनिक जवाफ दिन सरकारसँग माग पनि गरिएको छ ।

शिवसेना नेपालका युवा नेता मनोज सापकोटाको नेतृत्वमा गएको टोलीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई विरोध पत्र बुझाएको हो । शिव सेनाले अस्ति प्रमुख प्रतिपक्ष एमालेलाई पनि एमसीसी खारेजीको मागसहित विरोध पत्र बुझाएको थियो ।

नेपालमा एमसीसी सम्झौतालाई लिएर चर्को विवाद छ । सम्झौताका कतिपय बुँदाहरु नेपालको विद्यमान कानून,नेपालले अबलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीति र कुनैपनि मुलुकको सैन्य गठवन्धनमा सहभागी नहुने नीति र अभ्यास विपरित षड्यन्त्रपूर्ण ढंगले राखिएको भन्दै राजनीतिक नेतृत्वदेखि आम जनतासम्मले गम्भीर प्रश्न उठाइरहेका छन् ।

सम्झौतामा उल्लेख कतिपय बूँदाले नेपालको राष्ट्रियता, सार्वभौमिकता,स्वाधीनता, स्वतन्त्रता,भौगोलिक अखण्डता र स्वनिर्णयको अधिकारलाई कुण्ठित गर्ने भन्दै एमसीसी खारेजीको आवाज सशक्त रुपमा उठिरहेको छ ।

सन् २०१७ मा तत्कालीन कांग्रेस नेतृत्वको सरकारका अर्थमन्त्री (हालका कानूनमन्त्री) ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता कार्यान्वयनका लागि संसदले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । दलहरुबीच बिबाद हुँदा प्रतिनिधिसभामा सम्झौताको विधेयक टेबल हुन सकेको छैन ।

टिप्पणीहरू