खाल्डो पार्ने अरु, दोष बोक्ने ऊ ? « Jana Aastha News Online
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022

खाल्डो पार्ने अरु, दोष बोक्ने ऊ ?

प्रकाशित मिति :  ५ चैत्र २०७३, शनिबार ११:१८


  • विद्यासुन्दर शाक्य, काठमाडौंका एमाले नेता


स्थानीय निर्वाचन ०४९ र ०५४ मा अत्यधिक मतका साथ काठमाडौं महानगरपालिकाको वडा नं. २१ मा अध्यक्ष निर्वाचित विद्यासुन्दर शाक्य अहिले नेकपा (एमाले), काठमाडौं जिल्ला कमिटीका सचिव हुन् । सरकारले बैशाख अन्तिममा स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । सात सय ४४ संख्या कायम गर्दै स्थानीय संरचना फेरिएसँगै अहिले देशभर चुनावी सरगर्मी छाएको छ । स्वाभाविक हो, काठमाडौंमा पनि चुनावी हावा उत्तिकै चल्ने नै भयो । विगतका दुई स्थानीय निर्वाचनमा लोकप्रिय मतका साथ एमाले बर्चस्व स्थापित गर्नमा महŒवपूर्ण भूमिका खेलेका विद्यासुन्दर काठमाडौं महानगरपालिकाको आगामी मेयरका रुपमा एमालेबृत्तमा चिनिन्छन् । यद्यपि, पार्टीभित्रैबाट अन्य व्यक्तिलाई उम्मेदवारका रुपमा अगाडि सार्ने क्रम पनि उत्तिकै बढेको पाइन्छ । अहिलेसम्म उठेजति चुनाव नहारेका, काठमाडौंको नेवार समुदायबीच युवा व्यक्तित्वको रुपमा लोकप्रिय शाक्य लगनटोलका स्थायी बासिन्दा हुन् । 

० सरकारले स्थानीय निर्वाचन गराउने भनेको छ । कत्तिको विश्वास गर्नुहुन्छ ?

– केही जटिलता पक्कै छन् । तर, चुनाव हुने कुरामा विश्वस्त छौँ । हाम्रो पार्टीले दुई चरणमा गर्दा सहज हुन्छ भन्ने मनशाय व्यक्त गरेको थियो । तर, सरकारले एकै चरणको आँट गरेको छ । हामी त्यसको प्रशंशा गर्दछौँ । स्थानीय निर्वाचन सफल पार्न एमालेले कुनै कसर बाँकी राख्ने छैन ।

० काठमाडौंमा एमाले गुटले ध्वस्त छ भनिन्छ । यस्तो अवस्थामा कसरी चुनावमा सफल हुनुहोला ?

– पार्टी संरचनाकै आधारमा पनि काठमाडौंभित्र तीन प्रकारका घोषित जिल्ला कमिटी छन् । म सचिव रहेको जिल्ला कमिटीले भूगोललाई प्रतिनिधित्व गर्छ, जो ‘डे टु डे’ जनताको बीचमा काम गरिरहेको छ । अर्को छ, मजदुर विशेष जिल्ला कमिटी, विद्यार्थी विशेष जिल्ला कमिटी र राजधानी पेशागत जिल्ला कमिटी । ती कमिटीका साथीहरु पनि आ–आफ्नो मोर्चामा उत्तिकै दत्तचित्त भएर काम गरिरहनुभएको छ । यहाँ विभिन्न सम्पर्क मञ्च छन् । जनवर्गीय संगठनका आ–आफ्नै सांगठानिक संरचना सक्रिय छन् । पेशागत संगठनहरु उत्तिकै क्रियाशील छन् । काठमाडौंमा त्यस्तो कुनै ठाउँ छैन, जहाँ एमालेले कुनै वर्ग, समुदाय, जात, धर्म र पेशाका जनताबीच आफूलाई उपस्थित नगराएको होस् । हरेक महानगरसहित नगरपालिका, हरेक वडा र प्रत्येक टोलमा कमिटीहरु क्रियाशील छन् । अहिले काठमाडौंका जनताबीच कुनै पार्टीको जीवित सम्पर्क छ भने त्यो एमालेमात्र हो । अरु चुनावमा मात्रै पुग्ने पार्टीभन्दा सधैं जनताको बीचमा रहने पार्टीलाई नै यहाँका जनताले रुचाउँदै आएका छन् ।

० गुटबन्दीचाहिँ ?

– गुटबन्दी कहाँ छैन ? कुन पार्टीमा छैन र ? नेपालको राजनीति नै गुटबन्दीले ग्रस्त छ । हाम्रो पार्टीमा भएको गुटबन्दी त्यस्तो आत्मघाती छैन, जसले आफ्नो घरमा आगो बालेर न्यानो तापोस् । अहिले हेर्नुस्, पार्टी मेची–महाकाली अभियानमा छ । एक ढिक्का भएर जनताको बीचमा गएको छ । गुट भनेको ऐन–मौकामा देखिन्छ । तर, जनताको बीचमा जाने, जनतालाई सेवा प्रवाह गर्ने र पार्टीको विजय हासिल गर्ने सन्दर्भमा एमालेका गुटहरु समाप्त हुने गरेका छन् । काठमाडौंमा भएभरका नेता बस्नुहुन्छ । उहाँहरुसँग स्थानीय पार्टी कमिटीका साथीहरुको दैनिक भेट हुन्छ । कुराकानी हुन्छ । बाहिरका जिल्लाहरुमा नेताहरु सधैँ भेटिनुहुन्न र त गुटबन्दी छ भने काठमाडौंमा हुनु नौलो कुरा होइन । तर, जहाँ जस्तो भए पनि एमाले आफ्नो मिसन पूरा गर्ने सन्दर्भमा गुटमुक्त हुन्छ । काठमाडौंको हकमा पनि त्यस्तै हो । जस्तो कि, म काठमाडौंको नभएर काभ्रे वा चितवनको पार्टी काममा भएको भए त्यहाँको केपी ओली, माधव नेपाल, झलनाथ खनाल भनेजस्तो नेता मैँ वा हामीजस्ता जिल्ला नेता नै हुन्थ्यौँ । तर, काठमाडौंमा स्वयं केपी ओली हुनुहुन्छ, माधव कमरेड हुनुहुन्छ, जेएन कमरेड पनि यतै हुनुहुन्छ । यहाँ उहाँहरु हुँदाहुँदै हाम्रो गणना अलिक पछाडि हुने नै भयो । त्यसैले ठूला नेताहरुको उपस्थितिका कारण गुट बढी हो कि भन्ने परेको छ । वास्तविकता त्यस्तो होइन ।

० तपाईंहरुले लामो समयदेखि जिल्ला अधिवेशन गर्नुभएन । किन ? 

– हामीले घोषणा नै गरेका थियौँ । तर, स्थानीय निकायको संरचना फेरिने, निर्वाचनको मिति घोषणा हुने भएपछि पार्टी केन्द्रकै निर्देशनमा स्थगित गरिएको हो । हामीले गर्न नसकेको वा कुनै कारणले हुन नसकेको होइन । 

० चुनावको तयारी शुरु गरिसक्नुभयो ?

– हामी चौबीसै घण्टा जनतासँग काम गर्नेलाई चुनाव आएपछि मात्रै तयारीमा जुट्ने भन्ने प्रश्नै हुँदैन । हामी त हरदम तयारै छौँ । बरु, काठमाडौं महानगरका जनता एमालेलाई मतदान गर्न आतुर छन् । ती जनतालाई चुनाव आजै भए पनि, भोलि नै भए पनि हुन्छ । हामी यसपालिको स्थानीय चुनावमा ०५४ को भन्दा बढी सफलताका साथ अगाडि आउँदैछौँ ।

० बीचमा जातीय, क्षेत्रीय र विभिन्न किसिमका दलहरुले उपत्यकाका राम्रो मानिएका एमाले नेतालाई लगेका छन् । त्यसले कत्तिको असर गर्छ ?

– ०६४ र ०७० को संविधानसभा निर्वाचन पनि देख्यौँ । हो, कतिपय लोकप्रिय नेताले पार्टी छाड्नुभएको हो । तर, त्यसको परिणाम के भयो भन्ने कुरा विगतका दुईवटा संविधानसभा निर्वाचनले दिइसकेको छ । अनुमान के गरियो भने, राम्रा–राम्रा नेता पार्टी छाडेर गए, त्यसैले एमाले सकियो । तर, परिणाम के आयो भने, काठमाडौंको एमाले नेताआधारित होइन, कार्यकर्ताआधारित पार्टी रहेछ । नेता गए, तर कार्यकर्ता एमालेसँगै रहे । हो, एउटा नेता जाँदा १०–२० जनता साथी जालान्, गएका पनि हुन् । तर, दुई–चार अञ्जुली पानी उबाएर समुन्द्र सुक्दैन रहेछ । विगतमा विभिन्न जातीय, क्षेत्रीय नारा बोकेर आएका पार्टीले एमालेविरुद्ध अनेकन भ्रम सिर्जना गरे । कतिपय जनतामा ‘हो कि’ भन्ने पनि प¥यो । तर, हाम्रो पार्टीले जसरी राष्ट्रियता र जनजीविका, समावेशी तथा सद्भावपूर्ण राष्ट्रिय एकता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा आफ्नो दृढ अडान प्रस्तुत गर्दै आयो, यसबाट भ्रममा परेको जनसमुदायको एउटा तप्का भ्रममुक्त भइसकेको अवस्था छ । विगतका अराजकतापूर्ण भड्काउलाई काठमाडौंका जनता अनुमोदन गर्ने पक्षमा छैनन् । विगतमा पनि पद्म दाइ (पद्मरत्न तुलाधर), केशव दाइ (स्थापित), राजेन्द्र श्रेष्ठहरु एमालेबाट  उठ्दा कति भोट आयो र एमाले छोडेर चुनावमा जाँदा के भयो ? यहीबाट बुझ्न सकिन्छ । व्यक्तिको पनि प्रभाव नहुने होइन, तर काठमाडौंमा एमाले बलियो छ । यहाँ हाम्रो राजनीतिक, सांगठानिक स्थिति मजबुत हुनाले व्यक्तिहरुका कारण धेरै ठूलो समस्या हुँदैन । कार्यकर्ता नेतासँग होइन, विचारमा अडिग छन् । विद्यासुन्दर शाक्यले छोडेर गयो भने पनि हुने त्यही हो ।

० बीचमा नेवाःराज्य भनेर यहाँका जनता लोभ्याउने नारा आए । जनता लोभिए त ?

– काठमाडौंका जनता लोभी छैनन्, स्वाभिमानी छन् । यहाँका जनतालाई कुन राज्य, कुन प्रदेश भन्ने कुरासँग त्यति धेरै मतलब छैन, जति मलतब यहाँका जनताको बीचमा सेवा, विकास र समृद्धिका कार्यक्रम लिएर जाने कुरासँग छ । हामी पनि काठमाडौंका आदिवासी हौँ । यहाँका जनतालाई चाहिएको विषय हामीले जस्तो अरुले बिरलै बुझेका छन् । त्यसैले लोभ देखाएर काठमाडौंका जनता लोभ्भिन्छन् भन्ने सोच्नु मूर्खता हो । जनताको स्वाभिमानसँग खेलबाड गरेर लोभ, लालच बाँड्नेहरुलाई आजसम्म उनीहरुले जवाफ पनि त्यहीअनुसारको दिँदै आएका छन् । हिजो जसले लोभ्याउन खोजे, आज उनीहरु सेलाइसकेका छन्, थाकिसकेका छन् ।

० काठमाडौं महानगरमा एमाले के गर्न चाहन्छ ?

– हामीले ०४९ मा मेयर, उपमेयर हारे पनि १४ जना वडाध्यक्ष जित्यौँ । भनेका थियौँ, आगामी पाँच वर्षभित्र काठमाडौंमा कामबाटै पार्टीलाई स्थापित गर्ने छौँ र एक नम्बरको पार्टी बनाउने छौँ । कांग्रेसको काम गराई र हाम्रो काम गराईबाटै जनताले कुरा बुझिहाले, चाहिने पार्टी एमाले नै रहेछ । फलस्वरुप ०५४ मा मेयर, उपमेयरसहित दुई तिहाई स्थानमा जित हासिल ग¥यौँ । दुर्भाग्य के भयो भने, त्यही बेला पार्टी विभाजित भयो । मेयरले आफ्नो पक्षमा बहुमत देखाउन अरु पार्टीका अनुचित माग पूरा गर्दै जाने स्थिति भयो । तर, अब त्यस्तो हुने छैन । पार्टीभित्रको आन्तरिक कलहले पार्टीबाट आश राख्ने जनसमुदाय निराश हुन्छन् । तर अब जनतालाई निराश हुन दिँदैन ।

० कामचाहिँ के गर्नुहुन्छ ?

– महानगरभित्र विकास, निर्माणका सबै कामको अगुवाई महानगरपालिकाले नै गर्नुपर्छ । त्यसका लागि अलग्गै काठमाडौं महानगर ऐन चाहिन्छ । हामी त्यो ऐन पारित गराएर काम गर्ने छौँ । 

० अहिलेको महानगरपालिकाले विकासका काम गर्दैन ?

– अधिकारको दायरा सिमित छ । जस्तो कि, मेलम्ची खानेपानीको पाइप बिच्छ्याउन काठमाडौं उपत्यका खानेपानी लिमिटेडले कतिबेला सडक खन्छ, महानगरपालिकालाई थाहै हुँदैन । सडक विभागले खनेको ठाउँ पुर्छ, त्यो पनि थाहै हुँदैन । विद्युत प्राधिकरणले बिजुलीको पोल हाल्दैन, दोष महानगरपालिकाले बोक्नुपर्ने । अहिले पनि काठमाडौंमा जताततै खाल्डैखाल्डा छन् । दोष महानगरपालिकालाई दिइन्छ । जबकि महानगरपालिकालाई थाहै हुँदैन । मेलम्चीको खानेपानी व्यवस्थापन केयुकेएलले गर्छ । त्यसमा महानगरपालिकाको ३० प्रतिशत शेयर छ । हाम्रो भनाइ हो कि, त्यसको नेतृत्व महानगरपालिकाले गर्नुपर्छ । मन्त्रीहरुले दुरुपयोग गरेर आफ्नो अनुकूलका काम गर्न थाले । यही कारण काठमाडौंमा धुलो र हिलोको समस्या आएको हो । यसबाहेक विभिन्न लाइन एजेन्सीहरु छन्, बाटो खन्ने, पुर्ने । यस्तो काममा लागेका विद्युत प्राधिकरणदेखि, टेलिकम, सडक विभाग र केयुकेएल कसैका बीचमा कामको समन्वय छैन । फलस्वरुप जनताले दुःख पाइरहेका छन् । राजधानी शहर अस्तव्यस्त भएको छ । हामी चाहन्छौँ, यी सबै कामको नेतृत्व महानगरपालिकाले लिनुपर्छ । काम व्यवस्थित रुपमा हुनुपर्छ । ढिलासुस्ती हुनुहुँदैन । महानगरपालिकाअन्तर्गत एउटा अलग्गै महाशाखा स्थापना गरेर यी काम अगाडि बढाउँदा राज्यको ढुकुटीबाट रकम पनि जोगिन्छ ।

० सडक विस्तारका नाममा पनि ज्यादती भइरहेको भनिन्छ । कति सत्य हो ?

– उपत्यका विकास प्राधिकरणले सडक विस्तारका नाममा जनताको घर भत्काउने, तर मुआब्जा र क्षतिपूर्ति नदिने अवस्था ठीक भएन । अघिल्लो दिन घरबार भएको जनता भोलिपल्टै सुकुम्बासी हुने स्थिति सिर्जना भइरहेको छ । हामी त्यस्ता जनतालाई उचित मुआब्जा, उचित क्षतिपूर्ति दिलाउने कुरालाई सबभन्दा महŒवका साथ उठाउँछौँ ।

० केशव स्थापित फेरि एमालेमा फर्किनुभएको छ । उहाँको मूल्यांकन कसरी गर्नुहुन्छ ?

– उहाँ हाम्रै मेयर हो । हाम्रै दाइ हो । बीचमा बिग्रिनुभयो । संकटको बेलामा पार्टी छोड्नुभयो । यहाँ कोही पनि फलानो नेता भनेर एमालेमा लागेका छैनन् । पार्टी र विचारका कसीमा नेता जनताको बीचमा स्थापित हुने र नहुने कुरा हुन्छ । बीचमा केशव दाइले त्यस्तो भूमिका नखेलेको भए राम्रो हुन्थ्यो । ०७० कै चुनावमा पनि उहाँले अर्को पार्टीबाट उम्मेदवारी नदिएको भए इश्वर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, योगेश भट्टराईहरुले हार्नुपर्ने थिएन । राजेन्द्र श्रेष्ठलाई ०६४ कै निर्वाचनमा ७ नं. क्षेत्रबाट नउठ्नुस्, हार्नुहुन्छ भनेका थियौँ । हामीले उहाँलाई उम्मेदवार सिफारिस पनि गरेनौँ । तर, केन्द्रबाट टिकट लिनुभयो । चुनाव हार्नुभयो । त्यही क्षेत्रमा ०७० मा रामवीर मानन्धरलाई जिताएरै देखायाँै । चुनाव भनेको केन्द्रमा काम गरेर जितिने होइन । जो नेता जनतासँग सधैँ काम गरिरहेको हुन्छ, चुनाव त्यसले जित्ने रहेछ । चुनावमा पार्टीको केन्द्रीय कमिटीभन्दा टोल कमिटी र शाखा कमिटीहरुको मूल्यांकन, विश्लेषण महŒवपूर्ण हुन्छ । जनतामा को भिजेको छ, कसको पक्षमा जनमत छ भन्ने कुरा केन्द्रीय कमिटी र जिल्ला कमिटीलाई भन्दा बढी शाखा कमिटीलाई थाहा हुन्छ ।

० यसपालि मेयरको टिकट पाउनुहुन्छ त ?

– पार्टी निर्णय मानेर हिँड्ने सिपाही हुँ । जे निर्णय हुन्छ, त्यहीअनुसार चल्नु मेरो दायित्व हो । ‘मेरो गोरुको बाह्रै टक्का’ भनेजस्तो गर्दिनँ । तर, पार्टीले सही निर्णय गर्छ भन्ने विश्वास छ । विगतका निर्वाचनहरुको भूमिका, जनताको बीचमा काम गरेको अनुभव र अब जनताले पत्याउने व्यक्तित्वको खोजी गर्दै पार्टीले निष्पक्ष निर्णय लिन्छ भन्ने लाग्छ ।


प्रतिक्रिया दिनुहोस !