देउवा असफल हुनेमा एमालेको चिन्ता,संयन्त्रको बन्धक नबन्न आग्रह

देउवा असफल हुनेमा एमालेको चिन्ता,संयन्त्रको बन्धक नबन्न आग्रह

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद डा. विमला राई पौडेलले आफू कमजोर हुने गरी राजनीतिक संयन्त्र गठनमा सहमत नहुन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकी छन् । सत्ता साझेदार दलहरुबीच उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको छलफल चलिरहेका बेला उनले प्रधानमन्त्री देउवालाई संयन्त्रको बन्धक नबन्न सुझाएकी हुन् ।

आज राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले केपी ओली नेतृत्वको सरकारलाई अप्ठयारोमा पार्न त्यतिबेला पनि राजनीतिक संयन्त्रको माग गरिएको दावी गरिन् । अहिले पनि सरकारलाई कमजोर बनाउन सो प्रयास गरिएको उनको भनाइ छ ।

सांसद राईले राजनीतिक संयन्त्र बनाउने हल्लाकै कारण प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बिस्तार गर्न नसक्ने लज्जाजनक अवस्था आएको पनि बताइन् । संविधानले नचिन्ने राजनीतिक संयन्त्रको अर्थ नहुने भन्दै उनले प्रधानमन्त्री देउवालाई संसदप्रति जवाफदेही बन्न तर राजनीतिक संयन्त्रको बन्धक नबन्न पटक-पटक आग्रह गरिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी फुटाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्न चाहेको उनले गम्भिर आरोपसमेत लगाएकी छन् । संसद्को सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र मन्त्रिपरिषदमा समावेश गरौंला भनेर प्रधानमन्त्री देउवाले पर्खेर बसेको उनको भनाइ छ ।

‘सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मेरो सरकार टिकाउन मन्त्रिपरिषदमा ज्वाईन गरौंला भनेर पर्खी बस्ने प्रधानमन्त्री हो ? यति कमजोर प्रधानमन्त्री । चिन्ता शेरबहादुरजी कमजोर हुनु भो भनेर होइन,चिन्ता फेरि संसदीय व्यवस्था कमजोर हुन्छ भन्ने हो । यो व्यवस्थालाई कमजोर बनाउने काम नगर्न प्रधानमन्त्रीलाई मेरो अनुरोध छ’, उनले भनिन् ।

टिप्पणीहरू