डर नमानी खोप लगाउन सबैलाई सूचना

डर नमानी खोप लगाउन सबैलाई सूचना

कोरोना भाइरसविरुध्द कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई भोलिदेखि दोस्रो मात्रा दिइने भएको छ । दोस्रो डोजका लागि भूटान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्रोजेन खोप लगाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

पहिलो डोज कोभिसिल्ड लगाएकाले दोस्रो डोज एस्ट्रोजेन लगाउँदा स्वास्थ्यमा असर गर्ने आमचिन्ता भैरहेका बेला स्वास्थ्य मन्त्रालयले भने कुनै समस्या नहुने बताएको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद भट्टराईले कोभिसिल्ड लगाएकाहरुले एस्ट्रजेन खोप लगाउन डराउनुपर्ने अवस्था नभएको प्रष्ट पार्नुभयो ।

एस्ट्रोजेन र कोभिसिल्ड एकै सूत्रमा आधारित रहेर उत्पादन गरिएका खोप हुन् । नेपाल सरकारले कोभिसिल्ड खरिद गर्न भुक्तानी पठाइसके पनि भारतले खोप पठाउन ढिलाइ गरेपछि एस्ट्रोजेन खोप भुटानबाट आयात गरिएको हो ।

शुक्रराज ट्र्पिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ डाक्टर शेरबहादुर पुनले एस्ट्रोजेन र कोभिसिल्ड एउटै सूत्रको प्रयोग गरी बनाएको हुनाले खोप लगाउँदा केही फरक नपर्ने बताउनुभयो । कम्पनीहरुको ब्राण्ड नाम फरक भए पनि कोभिसिल्ड र एस्ट्रोजेनले एउटै काम गर्ने भएकाले ढुक्क भएर खोप लगाउन उहाँले सबैलाई आग्रह पनि गर्नुभयो ।

एस्ट्रोजेन खोप लगाउन उपत्यकामा १४४ वटा केन्द्र तोकिएका छन् ।

टिप्पणीहरू