आज २४ गतेको म्याद टर्यो,भोलि हुने के हो ?

आज २४ गतेको म्याद टर्यो,भोलि हुने के हो ?

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला एकपक्षीय बैठक राखेर धमाधम निर्णय गरिरहेको एमाले संस्थापन पक्षले आजका लागि निर्धारित केन्द्रीय कमिटी बैठक अन्तिम समयमा स्थगित गरेको छ । कुनै पनि हालतमा बैठक नरोक्ने यसअघिको अडानबाट पछि हट्दै अध्यक्ष केपी शर्मा ओली एकाएक आजको बैठक भोलिका लागि सार्न तयार भएपछि एमाले विवाद साँघुरिने दिशामा गएको अनुमान गरिएको छ ।

पार्टी एकता प्रक्रिया जारी रहेकै बेला बैठक राखेर ओली पक्षले विधान महाधिवेशन,संगठन विस्तार,सदस्यता नवीकरणलगायतका महत्वपूर्ण निर्णय गरेको थियो । संगठनसम्बन्धी सबै गतिविधि रोकेर एकताका लागि सहमतिमा आउन नेपाल समूहको आग्रहपछि दबाबमा पर्नुभएका अध्यक्ष ओलीले आज उपाध्यक्ष भीम रावलसहितसँगको छलफलपछि बैठक स्थगित गर्नुभएको बताइएको छ।

नेपाल समूहले आजको बैठक रोक्न अध्यक्ष ओलीलाई अल्टिमेटम दिँदै अन्यथा पार्टी विभाजनमा जाने चेतावनी दिएको थियो । नेपाल समूहको केन्द्रीय समिति बैठकले पारित गरेको चार बुँदे प्रस्तावमा पनि विधान अधिवेशन,सदस्यता नवीकरण लगायतका संगठनसम्बन्धी सबै गतिविधि रोक्न माग गरिएको थियो । नेपाल समूहका कतिपय नेताले सार्वजनिक रुपमै आजको बैठक स्थगित नगरे एमाले औपचारिक रुपमा विभाजन हुने बताएका थिए ।

“ओलीकै अनिच्छाका कारण तत्कालीन नेकपाको केन्द्रीय कमिटी बैठक २० महिनासम्म बस्न सकेको थिएन । नेकपाको विधानमा प्रत्येक ६ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्ने व्यवस्था भए पनि २० महिनापछि बल्ल बैठक बसेको थियो ।”

उपाध्यक्ष रावलले अध्यक्ष ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग बेग्लाबेग्लै गोप्य भेटवार्ता गरेपछि परिस्थिति फेरिएको खुलेको छ । रावलसँगको भेटपछि ओली बैठक सार्न राजी हुनुभएको बताइन्छ । ओली र भण्डारीसँगको भेटमा रावलले वरिष्ठ नेता माधव नेपालको पछिल्लो अडान र सम्भावित मिलनबिन्दु सुझाएपछि ओली एकाएक यूटर्न भएको दाबी गरिएको छ ।

नेपाल पक्षले पार्टी एकताका लागि १० बुँदेमा टेकेर पावर सेयरिङमा ओलीको सहमति खोजेको छ । पार्टी एकतापछि संगठनमा ओलीले एकलौटी गर्नसक्ने भयका कारण नेपाल समूहले बराबर हैसियतको अध्यक्ष आफ्नो समूहलाई दिनुपर्ने माग अघि सारेको छ । माइन्युट,अन्तरपार्टी निर्देशन (अपानि) र निर्वाचन आयोगलगायतका निकायहरुमा गरिने पत्राचारमा दुई जनाको हस्ताक्षर अनिवार्य हुने विधानमा व्यवस्था गर्नुपर्ने उसको बटमलाइन छ ।

१० बुँदेप्रति सकारात्मक भनिएपनि अध्यक्ष ओली बराबर हैसियतको अध्यक्षमा भने सहमत हुनुभएको छैन । आज बिहान आफू निकट नेताहरुसँगको परामर्शमा पनि ओलीले बराबर हैसियतको अध्यक्ष दिन नसकिने अडान राख्नुभएको बताइन्छ । त्यसैले,ओली समूहका नेताहरुले आजको बैठक कुनै हालतमा नरोकिने बताइरहेका थिए ।

‘आफूलाई प्रतिकूल हुने देखेपछि बैठकबाट भाग्ने त उहाँको प्रवृति नै हो,अहिले उहाँ कमजोर भएकाले एकताप्रति केही नरम देखिनुभएको छ । यो खड्को टरेपछि फेरि त्यस्तै गर्छन् भन्ने हाम्रो आशंका हो । “

जानकार स्रोतले बताएअनुसार माधव नेपाललाई मनाउने विश्वास रावलले दिलाएपछि ओली ‘ठीकै छ नि त’ भन्नेमा पुग्नुभएको हो । तर,भोलिको बैठक भने नसर्ने ओली पक्षका एक नेताले बताए । ‘उहाँहरु (नेपाल समूह)को आग्रहअनुसार आजको बैठक रोकिएको हो’,ती नेताले भने, ‘भोलिका लागि बोलाइएको बैठक सर्दैन,भोलि जो-जो बैठकमा आउनुहुन्छ ठीक छ,नआउनेहरु छुट्छन् । ‘

यद्यपि उनले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच आज निर्णायक छलफलको प्रयास भैरहेकाले सहमतिको सम्भावना अझै बाँकी रहेको बताए । पावर सेयरिङ्गमा सहमति भए पनि त्यसलाई विधान अनुकूल बनाउन विधान अधिवेशनसम्म कुर्नुपर्ने भएकाले भोलिको बैठकपछि पनि दुईपक्षीय छलफल चलिरहने उनको दाबी छ ।

‘आज सहमति भयो भने पनि विधानमा त मिलाउनुपर्यो नि, त्यसैले विवाद पूरै मिल्ने भनेको विधान अधिवेशनपछि मात्रै हो । हाम्रो विधानमा दुई अध्यक्षको व्यवस्था छैन,त्यसका लागि विधान संशोधन हुनुपर्छ । संशोधनका लागि विधान अधिवेशन गर्नुपर्ने व्यवस्था छ । त्यसकारण भोलिको बैठककै कारण एकता प्रक्रिया टुट्छ भन्नेकुरा ठीक होइन ।’

नेपाल समूह भने ओली सहमतिमा आउनेमा विश्वस्त देखिएको छैन । नेपाल समूहका धेरै नेताहरु ओलीको विगतको कार्यशैलीले विश्वासको वातावरण बन्न नसकेको बताउँछन् । ओलीमाथि अप्ठेरोमा पर्दा सहमति गरिदिने तर कार्यान्वयन नगर्ने गरेको आरोप छ । त्यसैले भोलि ओलीले एकलौटी गर्नसक्ने भएकाले हतारमा सहमति गर्न नहुनेमा सो समूहका अधिकांश नेता सहमत छन् ।

त्यसो त,ओलीकै अनिच्छाका कारण तत्कालीन नेकपाको केन्द्रीय कमिटी बैठक २० महिनासम्म बस्न सकेको थिएन । नेकपाको विधानमा प्रत्येक ६ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्ने व्यवस्था भए पनि २० महिनापछि बल्ल बैठक बसेको थियो । ०७५ जेठ ३ गते माओवादीसँग एकता भई बनेको नेकपाको केन्द्रीय कमिटी बैठक २०७६ को माघ १५ गते बसेको थियो ।

‘आफूलाई प्रतिकूल हुने देखेपछि बैठकबाट भाग्ने त उहाँको प्रवृति नै हो,अहिले उहाँ कमजोर भएकाले एकताप्रति केही नरम देखिनुभएको छ । यो खड्को टरेपछि फेरि त्यस्तै गर्छन् भन्ने हाम्रो आशंका हो । त्यसैले पनि हामीले बराबरी हैसियतको अध्यक्षको बटमलाइन अगाडि सारेका हौँ । सारमा यो ओलीप्रतिको अविश्वास नै हो’, नेपाल समूहका एक नेताले भने ।

प्रचण्ड र ओलीबीच मेलमिलाप हुँदासम्म नेकपामा दुई जनाले जे भन्यो त्यो हुँदै आएको थियो । दुई अध्यक्षबीच विवाद शुरु हुन थालेपछि सचिवालयसम्म छलफल हुन थाल्यो । बिबाद बढ्दै जाँदा स्थायी कमिटीको बैठक बोलाउन थालियो,तर ओलीले बैठक बहिष्कार गर्न थाल्नुभयो । त्यसयता नेकपा विभाजनदेखि एमाले विवादसम्म आउँदा ओलीमाथि पार्टी निर्णय नमान्ने गरेको आरोप छ । अहिले नेपाल समूहको चिन्ता त्यसैमा देखिन्छ ।

टिप्पणीहरू