अँधेरी छाङ्गोले निशाको ज्यान लग्यो,श्यामको जीवनमा अन्धकार

वर्षातको बेला मनमोहक झरना बन्ने अँधेरीको छाङ्गो हेर्ने रहर पुरा नहुँदै निशाले घर परिवार सबैलाई रुवाउँदै ससार छोडेकी छन् । उदयपुरगढी गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया निशा दनुवार सपरिवार अँधेरी झरना हेर्न मोटरसाइकल चढेर आएकी थिइन् ।
झरना नजिकै शीतल छहारीमा रोकेको टेम्पोमा एकछिन सुस्ताउन नपाउँदै जरो मक्किएको सखुवाको रुख ढल्यो । ढलेको रुखले टेम्पोसँगै किचेर उनको प्राणपखेरु उड्यो ।
हिजो दिउँसो तीन बजेतिर न हावा हुरी,न पानी बतास एकतमासको घामलाग्दो थियो । गर्मीले हपहपी भएको बखत उनीहरु अँधेरी झरना नजिकैको छहारीमा रोकेको टेम्पोमा बसेर घाम छल्न लाग्दै थिए । दनुवारसँग मोटरसाइकलमा सवार श्रीमान श्याम र मीना दनुवार तथा टेम्पो चालक कुमार तामाङ् घाइते भएका छन् ।
उनी सुस्ताउन रोकी राखेको प्र२-०१-००१ह०५६० नम्बरको टेम्पोमा गएर बसेकी थिइन् । ढलेको रुखले टेम्पो र मोटरसाइकललाई पुरै ढाकेर सडकसमेत केही घण्टासम्म अवरुद्ध भएको थियो ।
घाइतेमध्ये मीना र कुमारको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मृतकका पति श्याम दनुवारको स्थानीय मेडिकलमा नै उपचार जारी छ । घटनासम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले थप अनुसन्धान गरिरहेको छ ।
निर्माणाधीन सडक खण्डमा रहेको अँधेरी झरनाको चर्चा सुनेर शनिवार रमाइलो मनाउन घर परिवारसहित उनी आएकी थिइन् । तर नजिकै पुगेर धित मरुन्जेल अँधेरी झरना हेर्न नपाउँदै निशाले ज्यान गुमाइन । अँधेरीले उनको परिवारमा अँधेरो ल्यायो ।
निशाले ज्यान गुमाएपछि यस सडक खण्डमा ढल्नै लागेका रुखहरुलाई व्यवस्थापन गर्नु पर्ने चर्चा शुरु भएको छ । कौवइ र नेपालटारवीचको सडक खण्डमा बलौटे माटोमा ठडिएका सयभन्दा बढी सखुवाको रुखहरु जुनसुकै बेला ढल्ने अवस्थामा छन् । धरानदेखि हेटौँडासम्मको यस राजमार्गमा सयौं घुम्ती रहेका छन् । तर सवारी चालकहरुको लागि फ्रेस सेन्टरहरु बनेका छैनन् ।
टिप्पणीहरू