सुर्खेतमा अर्कैको औंठाछाप,जग्गा किर्तेमा १९ जनाबिरुद्ध मुद्दा दायर

सुर्खेतमा अर्कैको औंठाछाप,जग्गा किर्तेमा १९ जनाबिरुद्ध मुद्दा दायर

सौगात रावतको जग्गा बिक्री गर्दा सन्तोष ठाकुरको औंठाछाप प्रयोग गरिएको प्रमाणित भएको छ । राष्ट्रिय विधिविज्ञान प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट सन्तोष ठाकुरकै औंठाछाप प्रयोग गरिएको पुष्टि भएको हो ।

यसअघि जग्गाधनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा नामसारी गरेको अभियोगमा १९ जनाविरुद्व सुर्खेत जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । मुलुकी फौजदारी कार्यविधि सँहिता २०७४ को दफा ३२ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जाहेरीमा नेपाल सरकारले अभियोगपत्र दायर गरेको हो । सोहीबमोजिम छानबिन गर्ने क्रममा रावतको जग्गा बेच्दा प्रयोग गरिएका सबै औंठाछाप सन्तोष ठाकुरको प्रमाणित भएको छ ।

रावतलाई पत्तो नदिई जग्गा नामसारी गर्ने क्रममा लगाइएका विवादास्पद औंठाछापहरु सन्तोष ठाकुरको दश औंलाका नमूना औंठाछापमध्ये दायाँ हातको बूढी औंलाको भएको प्रयोगशालाले प्रमाणित गरेको छ ।

योसँगै जग्गाधनीको उपस्थितिबिना सम्बन्धित व्यक्तिले सहीछाप नगरी मालपोतका कर्मचारी र सन्तोष ठाकुरको मिलमतोमा जग्गा किनबेच भएको रहस्य खुलेको हो । जग्गा किनबेच हुँदा मालपोत र नापी कार्यालयमा स्वयम् व्यक्ति उपस्थित नभई फरक–फरक व्यक्तिको प्रयोग गरेर औंलाछाप र दस्तखतबाट जग्गा नामसारी भएको हुँदा कर्मचारी र ठाकुरको संलग्नता रहेको प्रष्ट भएको स्रोतले बताएको छ ।

जग्गा नामसारी गराउने कार्यमा संलग्न भएको आरोपमा तत्कालीन मालपोत कार्यालय प्रमुख लक्ष्मी खत्रीलगायत कर्मचारीहरु विश्वरुप सावद,कमला सापकोटा,कृष्ण थापा,तीर्थबहादुर महतारा,नापी कार्यालय सुर्खेतका कार्यालय प्रमुख राजेन्द्र थापा,भीमलाल आचार्य,दिपेन्द्र पुलामीविरुद्व मुद्दा दायर भएको थियो ।

यसैगरी वीरेन्द्रनगर–१३, गुप्तिपुरका ३० वर्षीय सुनिल राना, वीरेन्द्रनगर–१२,नेवारेका ३३ वर्षीय उत्तम अधिकारी,चनौटेका ५० वर्षीय रामकुमार दर्लामी, वीरेन्द्रनगर–११,धुलियाबिटका ३४ वर्षीय दिपेन्द्र श्रेष्ठविरुद्व मुद्दा दायर गरिएको छ । वीरेन्द्रनगर–२ बाँङ्गेसिमलका ६८ वर्षीय सहवीर कार्की,वीरेन्द्रनगर–४ का ५७ वर्षीय नारायणबहादुर बुढाक्षेत्री,चिँगाड गाउँपालिका–५ भर भई हाल वीरेन्द्रनगर–१,गैरी बस्ने २५ वर्षीय चाँदनी वली,वीरेन्द्रनगर–११, पिपिरा बस्ने ३१ वर्षीय विश्वरुप सावत,वीरेन्द्रनगर–६ गणेशचोक बस्ने अम्मरसिंह कटुवाल, वीरेन्द्रनगर–२ बस्ने गोरखबहादुर बुढा भन्ने गणेश बुढा, वीरेन्द्रनगर–५ बस्ने निर्मल पुरी, वीरेन्द्रनगर–२ बस्ने सन्तोष ठाकुरविरुद्ध पनि मुद्दा दायर भएको छ ।

जिल्ला अदालत सुर्खेतका न्यायाधीश विमलप्रसाद सापकोटाको एकल इजलासले मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप साउदसहित १४ जनालाई धरौटीमा छोड्न आदेश दिएको थियो ।

जग्गा प्रकरणमा संलग्न अभियुक्तलाई पक्राउ परेको समय अर्थात् मुद्दा किनारा नलाग्दासम्म स्वतः निलम्बन हुनुपर्ने भए पनि जिल्ला अदालत सुर्खेतले सामान्य धरौटीमा उनीहरुलाई छाडेको थियो । साथै,धरौटीमा छुटेका कर्मचारीहरु हाल कार्यालयमा दैनिक हाजिर भइरहेका छन् ।

टिप्पणीहरू