विभागीय मन्त्रीको निर्देशन अटेर गर्ने र बक्यौता नतिर्नेलाई किन भगवान माने हितेन्द्रले ?

विभागीय मन्त्रीको निर्देशन अटेर गर्ने र बक्यौता नतिर्नेलाई किन भगवान माने हितेन्द्रले ?

-रमेश बन्जारा

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नै विभागीय मन्त्री पम्फा भुसालको निर्देशनलाई अटेर गर्ने,राज्यलाई लुट्ने र राज्यलाई कर र महशुल नतिर्ने उद्योग मालिकहरुलाई भगवान ठानेपछि अहिले यो विषय सर्वत्र चर्चाको विषय बनेको छ ।

५८ वटा उद्योगले उद्योग सञ्चालन गर्दा प्रयोग गरेको डेडिकेटेड तथा ट्रंक लाईनको विद्युत महशुल ५ वर्षदेखि नतिरेपछि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले प्राधिकरणका प्रबन्ध निर्देशक शाक्यलाई बक्यौता उठाउन निर्देशन दिनुभएको थियो । तर उक्त निर्देशनको हालसम्म पालना भएको देखिँदैन ।

‘हामीलाई बोर्डले केही निर्देशन नै दिएको छैन । हामीलाई बोर्डले कि बक्यौता रकम उठाउनु कि लाइन काट्नु भनी निर्देशन दिएमा मात्र बक्यौता रकम उठाउन पहल गर्छौं ।’

ती उद्योग मालिकलाई पटक पटक आफ्नो कार्यकक्षमा बोलाएर कुरा गरे पनि उनीहरुले हालसम्म बक्यौता नतिरेपछि उक्त आशंका बढेको हो । कतै धन देखेपछि महादेवको पनि तीन नेत्र बल्छ भन्ने नेपाली उखान पो लागू भएको हो कि ? भन्ने चर्चासमेत चलेको छ ।

मन्त्री भुसालको निर्देशन आएपछि तत्काल बक्यौता रकम असुल गर्ने प्रतिक्रिया दिएका शाक्य त्यस्ता उद्योग मालिकहरु भेट्न आएपछि एकाएक लचिलो बनेको बताइन्छ । असार मसान्तसम्म बक्यौता रकम कुनै हालतमा तिर्नु अन्यथा अल्झन भए निवेदन दिनु भनी निर्देशन दिएका शाक्यले उनै व्यवसायी तथा उद्योगीलाई एकाएक भगवान भनेर सम्बोधन गरेपछि उनी कोसेलीको खेलमा परेको चर्चा समेत चलाइएको हो ।

शाक्यले जनआस्थासँग कुरा गर्दै भनेका थिए, ‘हामी बक्यौता महशुल उठाउँछौँ यदि तिर्न मानेनन्,अटेर गरे भने लाइन काट्छौं ।’ तर अहिले उनै शाक्यलाई, ‘तपाईंले न पैसा उठाउन सक्नु भो,न लाइन काट्नुभयो,’ भन्ने जिज्ञासा राख्दा शीताङ्ग हुँदै भनेका छन्,‘ हामीले पैसा तिर्नु भनेका छौं,सायद तिर्छन् होलान् ।’

शाक्यका पछिल्ला भनाई र गराईलाई हेर्दा आशंका गर्ने ठाउँ प्रशस्त छन् । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरी विद्युत महशुल नतिरेका उद्योग मालिकहरुले हामी तिर्दैंनौं भनेर खुल्ला चुनौती दिँदासमेत नियमनकारी निकाय मौन बस्नुले सबैलाई तरंगित बनाएको हो । जिल्लाका वितरण केन्द्रका कर्मचारीहरुले भने मुख्यालयको निर्देशन नपाउँदा न रकम असुल गर्न सकियो न लाइन नै काट्न सकियो भन्न थालेका छन् ।

जिल्लास्थित वितरण केन्द्रका प्रमुखहरु,प्रदेश डिभिजन कार्यालयका प्रमुखहरुलाई तपाईंहरुले बक्यौता रकम उठाउन किन ताकेता नगर्नु भएको भनेर प्रश्न गर्दा भन्छन्,‘हामीलाई बोर्डले केही निर्देशन नै दिएको छैन । हामीलाई बोर्डले कि बक्यौता रकम उठाउनु कि लाइन काट्नु भनी निर्देशन दिएमा मात्र बक्यौता रकम उठाउन पहल गर्छौं ।’

‘केन्द्रको दबाबको कारण न पैसा उठाउन सकियो,न लाइन काट्न नै,’ एउटा प्रदेश डिभिजन प्रमुखले बताए । प्राधिकरण केन्द्रीय कार्यालयले बक्यौता रकमको विषयमा केही नगर्नु,लाइन पनि नकाट्नु भनी पत्र पठाएका कारण केन्द्रको निर्देशन बेगर केही गर्न नसकिने वितरण केन्द्रका प्रमुखहरुको भनाइ रहेको छ ।

यसअघि २०७६ चैत ५ गतेका दिन मन्त्रिपरिषद्को २०७६ पौष २१ गतेको निर्णयले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरी बक्यौता रकम नतिरेका उद्योगहरुलाई तत्काल केही नगर्नु नगराउनु भनी नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयबाट पत्रसहितको निर्देशन गएकाले बक्यौता रकम असुल गर्न र नतिरेमा लाइन काट्न नसक्ने अवस्था उत्पन्न भएको वितरण केन्द्र प्रमुखहरुको भनाई रहेको छ । प्राधिकरण केन्द्रीय कार्यालयको चलानी नम्बर ८२/०७६/०७७ को पत्रमा प्रबन्ध निर्देशकबाट लाइन नकाट्न निर्देशन भएको थियो ।

 

टिप्पणीहरू