अख्तियारमा चिठी आतंक

अख्तियारमा लोकमानसिंह कार्कीले शुरु गरेको पाँडे पजनीले उनीपछि पनि निरन्तरता पाएको छ । कार्की अख्तियारबाट बाहिरिए पनि कार्यालयमा उनले छाडेका अवशेषले भने निरन्तरता पाएका हुन् ।

कार्यवाहक प्रमुख आयुक्त दीप बस्नेतले कार्कीकै शैलीमा उच्च तहका कर्मचारी ल्याउने र तिनीहरूबाट काम लिएपछि एकपटक पनि नसोधी बिदा गर्ने गरेको अधिकारीले बताएका छन् । कुन अधिकारी कति बेला सचिव र कार्यवाहक प्रमुख आयुक्तको आँखामा बिझाउँछन्, त्यतिबेलै कार्यालयबाट बिदाइ गरिन्छ । 

नयाँ आतंकलाई अख्तियारका अधिकारीले चिठी आतंक नामकरण गरेका छन् । उनका अनुसार ‘प्रमुख आयुक्त र सचिवलाई चित्र नबुझ्दा वा कुनै अधिकृतको उपयोग सिद्धिनासाथ चिठी थमाउने गरिन्छ । ‘त्यो कुनै पनि हातमा होइन, बेलुका कार्यालयबाट कर्मचारी बाहिरिएपछि टेबुलमा चिठी राखेर छोडिन्छ । भोलि कार्यालय पुग्दा त सरुवा भइसकेको हुन्छ ।’ 

अख्तियार स्रोतका अनुसार चिठी आतंकको पछिल्लो सिकार पुराना र पाका उपसचिव लक्ष्मी तिमल्सिना भएका छन् । शिक्षा क्षेत्र हेर्ने तिमल्सिनाले भित्र–भित्र पसेर अनुसन्धान गरेका थिए । 

जागिरे जीवनको उत्तराद्र्धमा रहेका तिमल्सिना अख्तियारबाटै बिदा हुने मनस्थितिमा थिए । यस्तै प्रहरी निरीक्षक होम पराजुली पनि पजनीमा परेका अर्का अधिकारी हुन्् ।

स्रोतका अनुसार ‘यसै साताभरि ५ भन्दा बढी उपसचिव पाँडे पजनी हुने क्रममा छन् ।’ 

अख्तियारले आफ्नो अनुसन्धान अब काठमाडौंको नदी कोरिडोरतर्फ लक्ष्यित गर्न थालेको समेत स्रोतले बतायो । स्रोतका अनुसार कास्की, नारायण मन्दिरको १ सय ५० रोपनी बढी जग्गामा अुनसन्धान सफल भएपछि अख्तियारले काठमाडौंका बाग्मती, विष्णुमति, मनोहरा नदीकिनारमा सार्वजनिक जग्गाको अवस्थाबारे अनुसन्धान शुरु गरिसकेको छ । 

स्रोतका अनुसार समय र तारतम्य मिले ०७४ साल नलाग्दै अख्तियारले नदी उकासको जग्गामा ठूलै उपलब्धिसमेत प्राप्त गर्नेछ । 

टिप्पणीहरू