​पालमा पो भेटिए प्रधानमन्त्री

यसपालिको होली ठिटाठिटीले कन्सर्टमा उफ्रिएर, सडकमा रंग दल्दै भौंतारिएर मनाए । तर, देशका कार्यकारी प्रमुखको फागुपूर्णिमा कसरी बित्यो ? यो जिज्ञाशा तपाईंहरू सबैको हुन सक्छ । कहिले पात्ले वन, कहिले हात्तीवन रिसोर्ट त कहिले सुकुटे पुग्ने उनी यसपालि चाहिँ इन्द्र सरोबर कुलेखानी पुगे । शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट ११ वटा गाडीमा प्रधानमन्त्रीको टोली मुभ भयो । साथमा छोरा, बुहारी, छोरी, नाति–नातिना गरी ५२ जना थिए । बाटोमा झरी छिचोल्दै मानेभञ्ज्याङ, फाखेलको बाटो भएर साढे चार बजे कुलेखानी ड्याममा पुगे ।

आर्मी क्याम्पको छेउमा त्यसअघि नै बालुवाटारबाट पाल, बिजुलीको प्रबन्धका यन्त्र र तारसहित गएको ट्रकबाट टेन्ट निकालेर सेनाका जवानले बस्ने ठाउँको व्यवस्था गरिसकेका थिए । राति अबेरसम्म बोका, माछा, कुखुरा पोल्ने काम भयो । आइतबार परिवारसँग होली खेलेर अबिरमा रंगिए । त्यहीँ खाना खाएर ११ बजे काठमाडौंतर्फ लागे । यसबीच, संसदीय समितिले चाहिँ बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गरेका बेला नयाँ ग्यास कम्पनी खोल्न नदिनू भन्दै सरकारलाई आदेश दिएको छ । हाल जम्मा ५३ वटा कम्पनीले यस्तो लाइसेन्स प्राप्त गरेकोमा व्यापारमा एकाधिकार गराउन संसदीय समिति नै लाग्नुलाई खुला बजारका पक्षपातीले अचम्म मानेका छन् ।

टिप्पणीहरू