चार थरी कम्युनिस्ट प्रधानमन्त्रीकोमा पुगे

चार थरी कम्युनिस्ट प्रधानमन्त्रीकोमा पुगे

महाकाली तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काट्दा दार्चुलाका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटनाको चर्को बिरोध गर्दै आएका संसद बाहिरका चार कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । घटनाप्रति चासो राख्दै चार दलीय गठवन्धनले आज बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो ।

घटना घटेको ९ दिन बितिसक्दा पनि सरकारको औपचारिक धारणा नआएकोप्रति असन्तुष्टि जनाउँदै चार दलीय मोर्चाले घटनाको शीघ्र छानवीन गरी नेपाली जनतासामु वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेको छ । त्यस्तै, अपराधमा संलग्न एसएसबीमाथि हदैसम्मको कारवाहीको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारसँग प्रभावकारी पहल गर्न,पीडित पक्षलाई न्याय दिलाउन र बेपत्ता धामीको परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन् ।

नेपाली नागरिक तुइन तरिराखेको देख्दा देख्दै तुइनको लठ्ठा खोल्ने एसएसबीको रवैया मैमत्तापूर्ण, हस्तक्षेपकारी,अमानवीय र सार्वभौम नेपाली जनताको विरुद्ध रहेको भन्दै मोर्चाले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ ।

‘यो जंगली,आततायी र मानवता विरोधी अक्षम्य अपराध हो । उक्त षडयन्त्रमूलक घटनाप्रति हामी आक्रोश व्यक्त गर्दै निन्दा र भर्त्सना गर्दछौँ’,प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।

२१ वर्षदेखि तुइन संचालन गर्दै आएका कल्याणसिंह धामी र अन्य प्रत्यक्षदर्शीको भनाइले पनि एसएसबीले नियोजित रुपमा लठ्ठा खोलिदिएको प्रमाणित भैसकेको ज्ञापनपत्रमा स्मरण गराइएको छ । साथै घटनाको डेढ हप्ता बित्दा पनि धामीको अवस्था अज्ञात हुनु नेपालीका लागि सरोकारमूलक चिन्ताजनक र असैह्य विषय भएको बताइएको छ ।

चार दलले सीमा क्षेत्रमा भारतीय पक्षले नेपाल र नेपाली जनताका विरुद्ध शृंखलावद्ध रुपमा घटाउँदै आएका आपराधिक घटनाहरु भविष्यमा कडाइपपूर्वक नियन्त्रण गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग पनि गरेका छन् । नेपाल-भारत सीमा क्षेत्रमा भारत सरकार र उसका सुरक्षाकर्मीले नेपाली जनतामाथि अपराधिक घटना घटाइरहेको भन्दै ज्ञापनपत्रमा प्रधानमन्त्री देउवामार्फत भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । अन्यथा भारतीय शासक वर्गको हस्तक्षेप, अतिक्रमण र आपराधिक क्रियाकलापका विरुद्ध प्रतिरोध आन्दोलनमा उत्रिन बाध्य हुने उनीहरुको चेतावनी छ ।

दार्चुला घटना सीमा क्षेत्रमा सरकारले अपनाएको उपेक्षापूर्ण व्यवहारको परिणाम भएको मोर्चाको ठहर छ । मोर्चाले राज्यको सही नीतिले मात्र स्वाभिमान र सुरक्षाको प्रत्याभूति दिनसक्छ भन्ने तथ्य बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह पनि गरेको छ ।

‘यस प्रकारका घटनाहरु सीमा क्षेत्रमा नेपाल सरकारले अपनाएको उपेक्षापूर्ण व्यवहारका कारण बारम्बार हुने गरेका छन्’, ज्ञापनपत्रमा भनिएको छ, ‘सीमा क्षेत्रमा सडकको उचित व्यवस्था, जनताका लागि आर्थिक उत्पादनका साधनहरुको उचित प्रवन्ध, बजार र सुरक्षाको प्रत्याभूति, स्वभिमान र सम्मानपूवर्क बाँच्न पाउने अवस्थाको सृजना हुने व्यवस्था गरियोस्ग भन्ने हाम्रो जोडदार माग रहेको छ ।’

चारदलीय मोर्चामा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, विप्लवको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टेलको नेकपा र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी आवद्ध छन् ।

 

टिप्पणीहरू