कोरोना बढे पनि काठमाडौंका आठ अस्पतालमा संक्रमित शून्य

कोरोना बढे पनि काठमाडौंका आठ अस्पतालमा संक्रमित शून्य

मुलुकभर र उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको छ । तर काठमाडौं जिल्लामा कोरोना संक्रमितहरुको औषधोपचारको निम्ति तोकिएका अस्पताल र आइसोलेसन सेन्टरहरुमध्ये आठ वटा अस्पताल र केन्द्रमा संक्रमितको संख्या शून्य देखिएको छ ।

पछिल्लो विवरणअनुसार कीर्तिपुरको मोडर्न अस्पताल,बाफलस्थित यति अस्पताल,कालिमाटीस्थित ज्योती अस्पताल,टेकुको बुध्दमाई अस्पताल,कीर्तिपुरमा रहेको ज्येष्ठ नागरिक भवन र कीर्तिपुरकै कभर्डहलको आइसोसेलन सेन्टरमा आज कुनै पनि संक्रमित छैनन् ।

यस्तै दक्षिणकाली नगरपालिकामा रहेको मनमोहन स्मृति सामुदायिक अस्पताल,नागार्जुन नगरपालिकाको इचङ्गुमा रहेको शहरी विकासको माथिलो भवनको आइसोलेसन सेन्टर पनि खाली छन् ।

तर,कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टरमा पुरुष १ सय ८ जना र महिला २३ जना गरेर १ सय ३१ जना भर्ना भएका छन् । तीमध्ये नयाँ भर्ना भएकाको संख्या १४ हो । यसअघि ११ जना डिस्चार्ज भएका थिए ।

बल्खुको बयोधा अस्पतालमा ३ जना,बल्खुकै राजधानी अस्पतालमा १ जना, कलंकीस्थित नेशनल अस्पतालमा ५ जना, कलंकीकै सहिद मेमोरियल अस्पतालमा ३ जना,त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा २ जना संक्रमित भर्ना भएका छन् । स्वयम्भुको मनमोहन मेमोरियल अस्पतालमा ११ जना, टेकुको शुक्रराज ट्रपिकल अस्पतालमा ७१ जना कोरोना पोजिटिभका बिरामी उपचाररत रहेको बताइन्छ ।

यस्तै वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १ सय १५ जना कोरोनाका बिरामी छन् । तीमध्ये २ जना भिआईपी र २ जना एनआईसीयु र पीआइसीयुमा रहेका छन् । उता चाल्नाखेल स्वास्थ्य चौकीमा ४ जना, काठमाडौं महानगरपालिका वडा नं १५ ले स्वयम्भूस्थित आनन्दकुटीमा तयार पारेको आइसोलेसन सेन्टरमा ५ जना उपचाररत छन् ।

वीरेन्द्र सैनिक अस्पताल छाउनीमा आज ४८ वर्षीय वीरबहादुर तामाङ र ७२ वर्षीय सरला देवी खत्रीको कोरोनाको कारण निधन भएको अस्पताल स्रोतले बताएको छ ।

टिप्पणीहरू