देखाएर लाठी, लुकाएर के ? « Jana Aastha News Online
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022

देखाएर लाठी, लुकाएर के ?

प्रकाशित मिति :  ४ चैत्र २०७३, शुक्रबार १६:५८


  • बाबुलाल

नेपाली राजनीतिमा समय अचेल अत्यन्त प्रतिकूल चलिरहेको छ । जाजरकोटमा भएको दुःखद बस दुर्घटना र दर्जनौं मानवीय हताहतको वेदनालाई समेत ओझेलमा पार्नेगरी गत हप्ता एमालेको मेची–महाकाली अभियान बिथोल्ने क्रममा सप्तरीमा ४ जना नेपालीले ज्यान गुमाउनुप¥यो भने कञ्चनपुरको पुनर्वास आनन्दबजार नजिक निर्माणाधीन कल्भर्टमा भारतीय पक्षको अवरोधको प्रतिकार गर्दा गोविन्द गौतमको सहादत भयो । बस दुर्घटनामा हाम्रो यातायात प्रणालीको अवस्था कारण भईकन पनि एकप्रकारले यसलाई भवितव्य मानेर पीडा बिर्साउने ठाउँ रहन्छ । तर, मानवीय सीमाभित्रका पछिल्ला दुई घटना पुरापुर हाम्रो राजनीतिक ठेकेदारका दम्भ, असहिष्णुता र अदूरदर्शिताका उपजको रूपमा आएका छन् र यिनीहरूको अनिष्टकारी तात्पर्य र संकेतले आउने धेरै वर्ष हामीलाई झस्काउन छाडेको छैन । 

हालको नाजुक परिस्थितिमा तिक्तता बढाउने वैयक्तिक आग्रह र भावावेशमा संयमताको आवश्यकतालाई सम्मान गर्दागर्दै पनि केही तथ्य प्रस्तुत गर्न जरुरी भएको छ । संविधानको समय सीमाभित्र तीनै तहको चुनाव गराउनै पर्ने बाध्यात्मक परिस्थितिमा स्थानीय चुनावको घोषणा भएको छ र मुलुक चुनावमय हुँदै गएको छ । तर, मधेसी मोर्चाले संविधान संशोधनमा अड्डी कस्दै जसरी पनि चुनाव बिथोल्ने र मुलुकमा चुनाव हुनै नदिने रणनीति लिएको छ । नेपालको संविधानले मधेसी समुदायमाथि विभेद र अन्याय गरेको छ भन्ने तर्कमा टेकेर मधेसी मोर्चाले संविधान संशोधनलाई बटमलाइन बनाएको देखिन्छ । तर, संविधानको जुसुकै धारा र जुनसुकै पाना पल्टाउनुहोस् त्यहाँ कहीँ–कतै मुलुकका अरू कुनै जाति, क्षेत्र र समुदायभन्दा मधेसका लागि कम अधिकार दिएको खोजेर पनि भेटिन्न ।

संविधानका अक्षर र भावनामा कहीँ–कतै मधेसप्रति उपेक्षा र भेदभावको कुनै अंश फेला पर्दैन र त्यहाँ संसारभरका एक से एक विकसित प्रजातान्त्रिक मुलुकभन्दा एक इञ्च पनि कम अधिकार दिएको देखाउन सकिन्न । यस्तो अवस्थामा मधेसमकेन्द्रित नेताका माग नपुग अधिकार प्राप्तिका लागि नभएर अन्य जाति, क्षेत्र र समुदायले पाउनेभन्दा बढी थप, विशेष र अतिरिक्त अधिकार बहालीको लागि नै केन्द्रित देखिन्छ । यो एउटा यथार्थ हो । मधेसमाथि विभेद भएको छ भन्ने एकोहोरो हौवा फैलाएर र प्रलाप गरेर मधेसका वास्तविक नागरिकलाई भ्रमित र गुमराहमा राखी उनीहरूको भावनामा खेल्न चाहनुहुन्छ, उहाँहरू । यही कथित विभेदलाई चर्कोसँग हल्लाखल्ला गरी मधेसमा असन्तुष्टि पैदा गराई सहानुभूति बटुल्ने र यसैलाई पुँजी बनाएर सरकारमाथि दबाब बनाउँदै अन्ततः संशोधन पारित गराउने दाउ हेरिएको प्रस्ट छ । त्यसेले संविधानले विभेद कहाँनिर, के कति र कसरी गरेको रहेछ भनेर चिरफार हुन थाल्यो भने झुट एक मिनेट पनि टिक्दैन । असलियत सतहमा आइहाल्छ । संविधानले मधेसका नागरिक, महिला, दलित, आदिवासी र पिछडा वर्गलाई किनारा गरेको नभई उनीहरूको उत्थान र संरक्षणका लागि बरु विशेष व्यवस्था गरेको छ ।

यसैमाथि पर्दा हाल्न र आफ्नो झुटलाई लुकाउन तराई मधेसमा अरू कोही आउनु हुन्न भन्ने मान्यता राख्नुहुन्छ उहाँहरू । अरू कुनै पनि दलले तराईमा राजनीतिक कार्यक्रम गरेको नपच्ने मूलकारण यही हो । मधेसी जनताबीच यस क्षेत्रको चर्चा र बहसले प्रवेश नै नपाओस्, यही नै छ उहाँहरूको भित्री चाहना । हुन पनि एमाले, नेकाँ, माओवादी र राप्रपालगायत दल मधेसमा ओर्लिने हो भने उहाँहरूलाई अवश्य कठिन हुन्छ । तर उहाँहरूलाई मन पर्दैन भन्ने नाममा अरू कुनै पनि राष्ट्रिय पार्टी मधेस जानै नहुने, चुनावी कार्यक्रम गर्नै नहुने भन्ने यो कस्तो तर्क हो ! यही हो लोकतन्त्रको भद्दा मजाक । एमालेको मेची–महाकाली तराई जागरण अभियानलाई हरसम्भव उपायबाट प्रतिकार गर्न, आक्रमण गर्न र उनीहरूलाई तराई पस्नै नदिन उहाँहरूले हात हातमा बम बोकाएर कार्यकर्तालाई उतार्दै हुनुहुन्छ । सप्तरीमा सम्भावित मुठभेडलाई छल्न एमालेवालाहरू महिनौंअघि घोषित कार्यक्रम स्थल छाडेर अन्तै लागे । जुन देशमा शान्ति सुरक्षा र अमन चयनको अभिभारा बोकेका गृहमन्त्रीले अमुक दल विशेषलाई तराईबाट लखेट्न उर्दी जारी गर्छन् र मधेसी नेताको ताण्डवलाई सञ्चो मानेर हेर्छन्, त्यहाँ अरू के आशा गर्न सकिन्छ ?

मोर्चाका कार्यकर्ताबाट विरोधीलाई मोसो दल्ने, घरघरमा पुगेर धम्क्याउने, त्रास फैलाउनेदेखि लिएर सांघातिक आक्रमण गर्ने, ठाउँ–ठाउँमा बिस्फोटक पदार्थ राखेर आतंकित गर्ने र हुँदाहुँदा प्रमुख निर्वाचन आयुक्तको घर तोडफोड, स्थानीय शान्ति समितिको कार्यालयमा आगजनी र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीमाथि आक्रमण गर्नेसम्मका हर्कत देखिए । र, स्पष्ट भयो मधेसी मोर्चा र लोकतन्त्रबीच टाढा–टाढासम्मको साइनो भेटाउन सकिन्न । के यो देशमा न्याय, नैतिकता, नियम, कानुन, मर्यादा र सदाचार सबै हटेर जंगल राज शुरु भएको हो ? नत्र लोकतन्त्रको सडकमा यसरी निर्लज्ज बलात्कार हुँदा राज्य किन मौन छ ? देखाएर लाठी बोक्नेले लुकाएर के बोक्छ ? अन्दाज गर्न सकिन्छ । ‘क्षति नहोस् भनेर हरसम्भव संयम अपनाउँदा पनि भिड अराजक र अनियन्त्रित हुँदै पेट्रोल बम र घरेलु हतियार प्रयोग गर्न थालेकाले बाध्यात्मक परिस्थितिमा गोली चलाउनुपरेको’ गृहमन्त्रीले संसद्मा स्पष्टीकरण पेश गरे । तर अचम्म के भयो भने शान्ति सुरक्षामा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीमाथि सांघातिक हमला र मुठभेडमा उत्रिँदा हताहत भएका उनै व्यक्ति राष्ट्रिय सहिद घोषणा भए र १०÷१० लाखको क्षतिपूर्ति पाउनेमा परे । हे सरकार, तेरो विवशता पनि बुझिनसक्नुको रहेछ । 

भनिँदै छ, मधेसप्रति अपमान, तिरस्कार र दुर्वाच्यको लागि यो सब भैरहेको छ । तर कसैलाई थाहा छैन, मधेस र मधेसका सच्चा नागरिकलाई होच्याएर बोल्यो कसले ? हो, मधेसको नाममा दिल्ली, पटना र लैनचौरको चक्कर काट्ने केही स्वघोषित ठेकेदारका शंकास्पद चरित्रको जमेर आलोचना भएको छ । आलोचना इस्यु विशेषमा सबै नेताको हुन्छ, हुनुपर्छ र यो स्वाभाविक पनि हो तर यस्ता दोहोरो चरित्रका नेताको विरोध हुनु पनि कहीँ मधेसको विरोध गरेको ठहरिन्छ र ? वास्तवमा सिंगो मधेस आफ्नो मुठीमा भएको र त्यहाँको एकलौटी ठेक्का आफूले पाएको दाबी गर्ने अहिलेका स्वनामधन्य नेता र मधेसी समुदाय दुई बिल्कुल भिन्न कुरा हुन् र त्यस्ता एकाध नेताको विरोध हुनु कुनै पनि अर्थमा मधेस र मधेसी समुदायको विरोध हुन सक्दैन । कसैले पहाड वा हिमालतिरका कुनै नेताको विरोध गर्दा त्यसलाई पनि पहाड वा हिमालको विरोध गरेको भन्न थालियो भने कस्तो निष्कर्षमा पुगिन्छ र यो कति हास्यास्पद होला ? दुवै अवस्थामा कुरा त्यही हो ।

वास्तवमा यी मठाधिशहरू आफूप्रतिको वैयक्तिक विरोधलाई मधेसको विरोध भनेर जगतलाई झुक्याइरहेका छन् र यसैबाट आफ्नो स्वार्थसिद्धि गरिरहेका छन् । हुँदा–हुँदा भारतको हैकमवादी नीति र नेपालप्रतिको हेपाहा प्रवृत्तिको विरोधलाई पनि यिनीहरूले मधेसकै विरोधीको रूपमा देख्न र अथ्र्याउन थालेका छन् । भिन्न विचारलाई छिर्न नदिनु र तराईका इमान्दार र सोझा जनतालाई आफूखुसी गुमराहमा राख्नु यिनीहरूको स्वभाव भएको छ । वास्तवमा सीमा पारका जुलुमी र भारतीय सुरक्षा बलसँग वतन र सीमा क्षेत्रको लागि ज्यानको पर्वाह नगरेर कुस्ती खेल्ने तराईका धर्तीपुत्र मधेसी हुन्, कसैको दुईमत छैन । त्यसबाहेक भारततर्फका बाँधबाट डुबान व्यहोर्ने र सीमा क्षेत्रमा हुने हेपाह, दादागिरी, लुटपाट, चोरी, डकैती र बलमिच्याइँसँग भिडेर इस्पात बनेका यिनै मधेसी हुन् जसलाई आफ्नो माटोको मोह छ । त्यसैले यिनैलाई बढी दुख्छ र अन्य क्षेत्रका वासिन्दाभन्दा तराईवासीमा अझ बढ्ता देशभक्ति र स्वाभिमान छ । 

तर, मधेसी नेता तराईको यही सोझोपनबाट फाइदा उठाउँदै छन् । नेपाली समाजको मूल अन्तरविरोध वर्गीय हो तर यिनीहरू क्षेत्रीय र जातीय खिचलो झिक्छन् र मधेससँग बाँकी मुलुकको फाटो, वैमनष्य र विभाजनलाई मलजल गर्न अरुमाथि नश्लवादी र अहंकारवादीको आरोप लगाउँछन् । समुदायबीच अनावश्यक दूरी निर्माण र तिक्तताको खेती त स्वयं यिनीहरू गर्दै छन् । हो, मधेसमा समस्या हिजो पञ्चायतकालदेखि नै छन् । समस्या पहाडतिर पनि हिजोदेखिकै हुन् र ती अझै जटिल छन् । हिजो पहाड र मधेस दुवैतर्फबाट दर्जनौं पटक मन्त्री बनेर तर मार्ने निश्चित मान्छे थिए । न पहाडकालाई हित भयो न मधेसवादीलाई । पीडित भए दुवै पीडित हुन्, उपेक्षित भए दुवै त्यत्तिकै उपेक्षित हुन् । एउटा सत्तामा र अर्को बाहिर भन्ने स्थिति न हिजो हो न आज । आजको आन्दोलनका अगुवा यिनै हिजो पटक–पटक मन्त्री भए तर गरिब, निमुखा र उत्पीडित मधेसीले आखिर के पायो र भोलि पाउने आशा गर्न सकिन्छ ? अनि यिनीहरूलाई सत्तामा पु¥याउन मधेसी सपूत किन बलि चढ्ने ? किन कुर्वान हुने ? भन्नै पर्छ, मधेसीको भावनालाई भड्काएर द्वन्द्व, द्वेष र वैमनस्य फैलाई राष्ट्रियतामा धावा बोल्नु र विखण्डनको सपना देख्नु यिनीहरूको एक्लो ध्येय हो । राष्ट्रियताको पक्षमा उठाइने हर आवाजमा महेन्द्रवादी राष्ट्रवाद देख्ने यिनीहरूले निम्त्याउने राष्ट्रवाद के मोदी राष्ट्रवाद हो ?

आफ्नै देश र जनताविरुद्ध नाकाबन्दीलाई थप मजबुत पार्न लालु यादव गुहार्नेले अब गर्न बाँकी के हो ? यस्तै मूर्तिहरूले आफूलाई खाँटी र सक्कली राष्ट्रवादी र अरूलाई नक्कली दाबी गर्छन् भने योभन्दा ठूलो ठट्यौली अर्को के हुन्छ ? कसैले अहिले महाभारतको बढी नै सम्झना गर्न थालेका छन् । तर उनैलाई थाहा छैन विनाशकारी महाभारत घटित भएमा आफू कहाँ होलान् ? वास्तवमा यिनीहरूका हर गतिविधि मुलुकलाई बन्धक बनाउन उद्यत छन्, रहस्यमय र षड्यन्त्रपूर्ण देखिएका छन् । अन्यथा मधेसमा १ वा २ प्रदेशको रटानसँग बढीभन्दा बढी स्थानीय निकायको माग कसरी संगतिपूर्ण हुन्छ ? उता हिमाल र दूरदराजका कतिपय क्षेत्रलाई प्रतिनिधि विहिन बनाउन प्रतिबद्ध शक्तिसँग आदिवासी जनजातिको लगनगाँठो पनि आफैंमा कम रहस्यमय छैन । 

नेपाली भूमिमा निर्माणाधीन कल्भर्टको विवादमा सीमा–सुरक्षा बलको गोलीबाट कञ्चनपुरमा नेपाली नागरिक गोविन्द गौतम सहिद भए । यो गोली व्यक्ति गोविन्द गौतमको छातीमा नभई सबै नेपालीको छातीमा दागिएको विस्तारवादीको खुनी हमला थियो । १९६० मा चिनियाँ सैनिकद्वारा नेपालको सरहदभित्र मुस्ताङमा नेपाली नागरिकको गोली प्रहारद्वारा हत्या भएको घटनालाई तत्काल भूल स्वीकार गरेर स्वयं प्रम चाउ एनलाईले चीन सरकारका तर्फबाट माफी माग्दै क्षतिपूर्ति दिलाएका थिए । प्रस्तुत घटनामा सरकारले भारतीय अधिकारीलाई डिप्लोमेटिक नोट बुझाएको सुनिँदै छ र मौजुदा सन्तुलन र समीकरणमा त्यति गर्न मात्र पनि कम सकस अवश्य भएन होला ।

अहिले न सरकारले दह्रो, खरो र प्रस्ट अडान राख्न सकेको छ न त भारतीय पक्षले भूल स्वीकार गरेको छ । माफी र क्षतिपूर्ति झनै परको कुरा भएको छ । त्यसयता कञ्चनपुरका तराईवासी दिनहुँ न्याय र स्वाभिमानका लागि संघर्षरत छन् भने आततायी पक्षले अनुसन्धान गरिरहेको भन्ने बहानामा छलछाम गरिरहेको स्थिति छ । तराईका तथाकथित मुक्तिदाता र जनजाति नेताले भारतीय दूतावासको भ्रमण पूर्ण विज्ञप्तिलाई ब्रह्मवाक्य ठान्दै सदनमा हुबहु वाचन गरेर सुनाउन पछि परेनन् । दिनदहाडै विदेशी सैनिक हाम्रो इलाकामा अनधिकृत प्रवेश गरेर एउटा सच्चा नेपाली र अझ खासगरी तराईवासीलाई गोलीको सिकार बनाउँछ, यसमा उनीहरूको सरोकार छैन ।

भारतीय इच्छाको अगाडि सम्मोहन वा बसीकरणमा पर्ने र आफ्नै अन्तरात्माको विवेकको आवाजलाई दबाउनुपर्ने विवशता के हो ? तराई मधेसका जनताप्रति उहाँहरू वास्तवमा कति उत्तरदायी, जिम्मेवार र चिन्तित हुनुहुन्छ र प्राथमिकता के हो ? स्पष्ट गर्न यत्ति एउटै घटना पर्याप्त छ । यसै एउटा सूत्रलाई समाएर अध्ययन गर्ने जो–कोहीले उहाँहरूको असलियत सजिलै जान्न सक्छ । यस्तै दोगले नेताका कारण आन्दोलन सुरसाको मुख बन्दै गएको छ जसमा तपाईं जति भर्दै जानुस् कहिल्यै भरिने छैन, जबसम्म तपाईंले सिंगो मुलुक बुझाउनुहुन्न । नेताका अहिलेकै अभिव्यक्ति र भावभंगिमा हेर्दा संविधानमा पहिलो, दोस्रो, चौथो र यस्ता अनेकौं संशोधन हुँदै जानेछन् तर त्यतिञ्जेलसम्म मुलुक रहने छैन । 

होइन मुलुक, माटो र जनताप्रति साँच्चै जिम्मेवारी र अपनत्व छ भने आन्दोलनरत पक्षले सबै विवादका विषयलाई बोकेर मतपत्रबाटै समाधान खोज्नु नै लोकतान्त्रिक र सर्वस्वीकार्य विधि हो । त्यसैले यो वा त्यो पार्टी यो वा त्यो ठाउँमा जानुहुन्छ वा हुँदैन भन्ने जस्ता उट्पट्याङ होइन मुलुकका सबै ठाउँमा सबै पार्टी आफ्ना शान्तिपूर्ण कार्यक्रम लिएर जान सक्ने सहिष्णु वातावरणको प्रत्याभूति गरौं, राजनीतिले अवश्य निकास पाउनेछ । 


प्रतिक्रिया दिनुहोस !