जनप्रतिनिधिको भेलामा माधव नेपालको उछित्तो

जनप्रतिनिधिको भेलामा माधव नेपालको उछित्तो

नेकपा एमालेको संस्थापनपक्षीय जनप्रतिनिधिहरुको भेलामा माधव पक्षको उछित्तो काढिएको छ । एमाले कीर्तिपुरको स्थानीय दलले आयोजना गरेको संघीय गणतन्त्र नेपालको वर्तमान परिस्थितिमा स्थानीय जनप्रतिनिधिहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा ओलीपक्षीय जनप्रतिनिधिले वरिष्ठ नेता माधव नेपाललाई सत्तोसराप गरेका हुन् ।

कीर्तिपुरको नयाँबजार पाँगादोबाटो चोकस्थित कृष्ण क्याटरिङमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि बनाइएका पूर्वमन्त्री तथा ओलीपक्षका नेता कृष्णगोपाल श्रेष्ठले माधव पक्षलाई गद्दारको संज्ञा दिँदै सो पक्षसँग पार्टी एकता हुन नसक्ने बताए । एमाले अहिले पनि एकतावद्ध रहेको दाबी गर्दै उनले कसैले चाहँदैमा फुटाउन नसक्ने पनि बताए ।

सरकारले भूमि आयोग विघटन गरेकोमा चर्को आक्रोश पोखेका श्रेष्ठले एमालेको नेता भएर एमालेको छातिमा र कम्युनिस्ट भएर सुकुम्बासीको छातिमा लात हान्नेहरुलाई पार्टीबाट निकाल्नुपर्नेमा जोड दिए ।

त्यसैगरी, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले एमालेविरुद्ध लागेकाले माधव समूहलाई क्षमा दिन नसकिने धारणा राखे । एमालेको चुनाव चिन्हबाट निर्वाचित भएर रुखमा भोट हान्नु दु:खद भएको भन्दै उनले त्यसलाई नेपाल समूहको अक्षम्य गल्ती भने । उनले स्थानीय तहलाई प्रदेशमा गाभ्ने कुरा गलत हुने पनि बताए ।

कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर विध्यासुन्दर शाक्य,एमाले केन्द्रीय सदस्य शम्भुराम महर्जनलगायत पनि सहभागी थिए ।

टिप्पणीहरू