अब भोग्न बाँकी के छ र कमरेड !

अब भोग्न बाँकी के छ र कमरेड !

– दिनेश रायमाझी

अध्यक्ष ओली कमरेड सत्ताबाट बाहिरिनुभयो, नेकपा (नेकपा) रहेन र एमालेमा भयङ्कर ठूलो बिग्रह छ, यो तीतो यथार्थ हो आजको । जतिसुकै कठोर शब्द बाँणले एकार्कालाई प्रहार गरे पनि सत्तामा फर्किने सम्भावना यसपालिलाई समाप्त भएको छ एमाले र अध्यक्ष कमरेडको । जे–जस्ता र जति नै जुझारु दस्ता ब्युँताए पनि एमालेको स्थान अबलाई प्रमुख प्रतिपक्षकै हो ।

उपलब्धिका जस्तोसुकै गाथा गाए पनि अब एमालेले अरुको शासनमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने हो । यो हुनुको जिम्मेवार अरु जो जोसुकै भए पनि अध्यक्ष र प्रधानमन्त्री दुबै भएको नाताले मुख्य ओली हो । यसकारण अब हिजोजस्तो एक्लै हिँड्ने, सहयोद्धाहरूबाट टाढा बस्ने, मबाहेक बाँकी दोस्रो क्लासका हुन् भन्नेलगायत अरुले निको नमान्ने व्यवहार गर्ने दिन सकिएछ भनेर महसुस गर्नुपर्छ । यसप्रकारको रियलाइजेसनले एमालेको रिभाइभललाई मद्दत पुग्नेछ ।

कमरेड घनश्याम भुसालले भनेजस्तै अध्यक्ष कमरेडलाई अब भोग्नुपर्ने अथवा उहाँले भोग्न नपाएको कुरा के छ र यो धर्तीमा ? हिन्दीमा आन, वान और शान भन्छन् – यी सबैको उपभोग गरिसक्नुभएको छ । खासमा उहाँलाई सिकन्दर भन्न सकिन्छ, जस्तोसुकै भए पनि जो जिता वही सिकन्दर ! उहाँको बोली नै कानुनसरह थियो कुनै बेला । ताकत त कति भने उहाँले चाहेको विषयमा हस्ताक्षर गर्न मध्यरातिसम्म सम्मानित राष्ट्रपति जाग्राम बस्नुपर्ने अवस्था थियो ।

शक्तिको अभ्यास गर्दै गर्दा, प्रधानमन्त्रीको हैसियतमा रहेर काम गर्दा अध्यक्ष कमरेडले बुझ्न ब्लण्डर गरेको कुरा के हो भने उहाँले शक्ति सनातन हो भन्ने विश्वास गर्नुभयो । अंग्रेजीमा भनाइ छ– पावर इज नट इन्टरनल । यही ब्लण्डरले विशाल नेकपा, दुई तिहाइ लगभगको सरकार र एमाले तासको महल सरी गल्र्याम्मै ढल्न गयो र बालुवाटारमा भइरहने सभा बालकोटको बार्दलीमा गर्नुप¥यो ।

शिक्षा सानै कुराबाट लिन जान्नुपर्छ, ठूलो कुरा पर्खिंदा अपूरणीय क्षति ब्यहोर्नुपर्ने हुन सक्छ भन्छन् बूढापाकाहरू । कमरेड प्रचण्डले आलोपालो सहमति पत्र सार्वजनिक गरेलगत्तै अथवा माधव नेपाल कमरेडले अरुलाई मानसम्मान दिन सक्नुहुन्न भनेको कुरालाई गहिराइमा बुझेर त्यसबाट शिक्षा लिन सकेको भए आज चुकाउनु परेको यो मूल्य चुकाउनुपर्ने थिएन सायद । ठूलो कुरा पर्खिँदा यस्तो अपूरणीय क्षति व्यहोर्नुप¥यो । यो क्षतिको पुर्ताल त अब सम्भवै छैन । तर, यसको पीडालाई कम गराउन भने सकिन्छ । र, त्यो पीडा कम गराउने एउटा तरिका भनेको शक्तिको अभ्यास गर्ने मोहत्याग हो ।

शक्तिशाली हुँदैमा, पटकपटक अध्यक्ष र प्रधानमन्त्री हुँदैमा केही पनि नहुने रहेछ भन्ने कुरा कांग्र्रेसको मान्छेलाई हेरे पनि थाहा हुन्छ। फेरि एक जना मान्छे नै सधैंभरि अध्यक्ष /प्रधानमन्त्री बनिरहनुपर्छ भन्ने पनि त केही छैन । सके त लोकतान्त्रिक विधिअनुसार नेतृत्व हस्तान्तरण गरेको राम्रो हो । तर, पार्टीको भविष्य नै खतरामा पर्ने, एकता नै टुट्ने अवस्था सिर्जना भएको अवस्थामा अलिकति त्यागको भावना राखेर आफ्नो जुन हैसियतको उपस्थितिले समस्या उत्पन्न गराउँदै छ त्यसबाट अलग भैदिँँदा सहकार्य गर्न सबैलाई सजिलो हुन सक्छ र पार्टी एक पनि हुन सक्छ ।

अब हुने दुबै चुनाव कांग्र्रेस नेतृत्वको सरकारले नै गराउने हो । देशमा पपुलर मतान्तर खासै ठूलो छैन वामपन्थी र कांग्रेसबीच । प्रत्यक्षतर्फ हारजितको अन्तर पनि उतिधेरै छैन । अध्यक्षपक्षीय कमरेडहरूको अनुमान के छ भने जनताले मतदान चुनाव चिह्नमा गर्ने हो र सूर्य चिह्न हामीसँग छ त्यसकारण अरु गए पनि भोट हामीले नै पाउनेछौं । तर, उहाँहरूले नबुझेको कुरा भनेको माओवादी केन्द्रकसमेतको भोटले यो जित हासिल गर्न सकिएको थियोे ।

अबको चुनावमा माकेको भोट मात्रै नभएर अरु भोट पनि नपर्ने कुरा निश्चित छ । त्यसमा पनि माके तथा अन्य दलले गठबन्धन गरेर एमालेलाई हराउने रणनीति बनाउने ठूलो सम्भावना छ । यसर्थ सबै जना अब यथार्थको धरातलमा आउनुको विकल्प छैन र त्यो भनेको सँगसँगै सडकमा हिँड्ने हो । यो धरातलीय यथार्थमा ल्याउने मुख्य जिम्मेवारी भने अध्यक्ष कमरेडकै हो । यदि, यस्तो भएन र एक्लै हिँड्ने निधो गरियो वा बाध्य भए सबैजना भने माननीय झाँक्रीले भनेजस्तो ‘सनम् तुम को भि ले डुबेङ्गे हम’ हुनेछ । र, यस्तो हुन सम्भव छ भन्ने कुरा त घटनाले पुष्टि पनि भैैैसकेकै छ पत्रकार र राष्ट्रिय सभा सदस्यको चुनावमा ।

अन्त्यमा, पोले पनि घामै जाति, पिटे पनि आमै जाति भन्छन् हाम्रोतिर । जेसुकै भए पनि हाम्रोनिम्ति अहिलेलाई एमाले नै ठीक छ । एमालेको नेतृत्वमै समाजवादको यात्रामा अघि बढ्ने हो, बीचबाट माकेलाई साथमा ल्याउने हो । अब सबैले बिगतका तीतामीठा कुरालाई बिर्सिदिने हो जसरी जनयुद्धका खराब पक्षलाई बिर्सिदियौं हामीले र एकता ग¥यौं । अब पनि नेकपा नै निर्माण गर्नुपर्छ र आउने सरकार पनि नेकपाकै बनाउनुपर्छ । यही भावनासाथ अघि बढौं ।

टिप्पणीहरू