एमालेमा फेरि समानान्तर कमिटी

एमालेमा फेरि समानान्तर कमिटी

देशभर समानान्तर कमिटी बनाएर संस्थापन पक्षलाई चुनौती दिएको एमालेको माधव नेपाल समूह आक्रामक रुपमा संगठन विस्तारमा लागेको छ । वडा तहसम्मै पुगेर सदस्यता नवीकरण गर्ने संस्थापनको निर्णयलाई काउन्टर दिन नेपाल खेमा संगठन विस्तारमा जुटेको हो ।

बिहीबार र शुक्रबार दुई दिनसम्म चलेको नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टी एकता प्रक्रिया अघि बढिरहेकाले तत्काल सांगठनिक गतिविधि रोक्न संस्थापनलाई आग्रह गरेको थियो । तर, संगठनका काम नरोक्ने संस्थापन पक्षको जवाफपछि नेपाल समूह पनि वडासम्मै पुग्ने गरी संगठन विस्तारमा लागेको हो ।

नेपाल समूहले आज ललितपुरमा जनवर्गीय संगठनहरुको जिल्ला कमिटी घोषणा गरेको छ भने पिपुल्स भोलेन्टियर्सले वडा तहसम्मका अभियानात्मक कार्यक्रम थालेको छ ।

त्यस्तै, पार्टीका विभिन्न तहका भेला, बैठक पनि भैरहेको छ । सो समूहको बर्चस्व रहेको दाङमा पनि संगठन विस्तार शुरु गरिएको छ । आज घोराही उपमहानगरपालिका-१४ स्थिति कल्पुधरम शाहको हलमा निकट उपमहानगर कमिटीको बैठक बसेको छ ।

कमिटीका अध्यक्ष रमेशकुमार आचार्य,एमाले जिल्ला अध्यक्ष टीकाराम खड्कालगायतका नेताहरु उपस्थित बैठकले जिल्लाव्यापी संगठन विस्तारमा होमिने निर्णय गरेको बताइएको छ ।

टिप्पणीहरू