अवैध अमेरिकीलाई पनि अँठ्याइने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध बसोबास गर्ने विदेशीलाई देशनिकालाको अभियान चलाएकै बेला नेपालमा पनि गैरकानुनी रूपमा अड्डा जमाइबसेका विदेशीलाई सरकारले खोजीखोजी डण्डा लगाउने भएको छ । अध्यागमन विभागले नेपालमा लुकिछिपी बसेका करिब १० हजार विदेशीलाई जरिवानासहित देशनिकाला गर्ने तयारी थालेको हो ।

विभिन्न वैध र अवैध धन्दा चलाएर बसेकाहरूको खोजी गरी राजश्व असुलेर फिर्ता पठाउन विभागले अनुगमन निर्देशिका बनाइरहेको छ । निर्देशिका बन्नासाथ टोली खटाई धर्मप्रचार, जासुसी, अवैध मुद्राको कारोबारदेखि लागुऔषध ओसारपसारमा समेत संलग्न युरोपियन मुलुकका नागरिकदेखि बंगलादेशी, पाकिस्तानी, स्विस, तिब्बेतीयन निशानामा पारिनेछन् ।

यस्ता विदेशीलाई पक्रिएर अध्यागमनको हिरासतमा राखिनेछ । यिनीहरूमध्ये अधिकांशले लाखभन्दा बढी भिसा शुल्क बुझाउनुपर्ने छ । भिसा शुल्क बुझाउनेले सजिलै स्वदेश फर्कन पाउने भए पनि सक्दिनँ भन्नेले चाहिँ जेलमै बस्नुपर्छ । केही दिनअघि मात्र पक्राउ परेका ३३ जना बंगलादेशी नागरिकमध्ये कसैले पनि भिसा शुल्क बुझाउन नमान्दा अहिले केन्द्रीय कारागारको पाहुना बनेका छन् । अवैध रूपले नेपाल प्रवेश गरी कामदारको रूपमा हाउजिङमा कार्यरत यिनीहरू कोहीसँग पनि पासपोर्ट, भिसा तथा अन्य कागजात थिएन । कुबेत, साउदीलगायत मुलुकमा नेपाली कामदार पठाइएझैं बंगलादेशबाट पनि गैरकानुनी रूपमा कामदार नेपाल भिœयाइने गरेको बताइन्छ । यस्ता कामदारको जिम्मा ठेकेदारले लिने, काम उसैले लगाइदिने र बस्ने–खाने व्यवस्था मिलाउनुका साथै तलब र सुविधासमेत निर्धारण गर्ने गरेको पाइएको छ ।

अमेरिकीलगायत युरोपियन मुलुकका हजारौं गोरा अनुहार अहिले पनि गाउँगाउँमा देखिन्छन् । यीमध्ये अधिकांश धर्म प्रचारमा संलग्न बताइएको छ । अब मुलुकभरका प्रहरी चौकीले विदेशी नागरिक देख्नासाथ वैधताको कागजात खोज्नेछन् । नेपालमा अवैध बसोबास गर्ने विदेशी १० हजारजति हुनसक्ने गृहकै एक अधिकारी बताउँछन् । हाल केन्द्रीय कारागारमा रहेका बंगलादेशीले भिसा शुल्कबापत प्रतिव्यक्ति ५० हजारदेखि ३ लाख रुपैयाँसम्म बुझाउन सकेका छैनन् । युरोपियन मुलुकका नागरिकले बुझाउनुपर्ने यस्तो रकम एकैजनाको ५÷७ लाखसम्म हुन्छ । अवैध बसोबास गर्ने विदेशीलाई पक्राउ गर्दा भिसा शुल्कबापतको रकम मात्र करोडौं उठ्न सक्छ ।

टिप्पणीहरू