​कस्ता–कस्ताले पाए ठाउँ–ठाउँका काम ?

स्वास्थ्यमन्त्री नहोउञ्जेल गगन थापा र डा. गोविन्द केसीको निजी मेडिकल कलेजप्रति अनुदार धारणा मिल्थ्यो । गगन मन्त्री भएपछि उनले पुरानो प्रतिबद्धता भुलेको तथ्य हालैका राजनीतिक नियुक्तिबाट देखिएको छ । गगनले नर्सिङ सेवाको नियमन गर्ने नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा रमिला चौलागाईंलाई नियुक्त गरे । उनी पहिला नोबेलमा र हाल महेन्द्रनारायण निधि कलेजमा पढाउँछिन् । नर्सिङ काउन्सिलले नर्सको दर्ता मात्र गर्दैन सम्पूर्ण नर्सिङ कलेजको नियमन÷नियन्त्रणसमेत गर्छ । यसरी निजीमा स्वार्थ रहेकालाई नियमनकारी निकायको प्रमुख बनाउँदा उनले गर्ने नीतिगत निर्णयमा निजी कलेजका स्वार्थ हावी हुने निश्चित छ ।
 
नेपाल स्वास्थ्य व्यवसायी परिषद््को रजिस्ट्रार अख्तियारको कारबाहीमा परेका रामचन्द्र साहलाई बनाइएको छ । उनी सूर्यनाथ उपाध्यायको पालामा नियमानुसार अध्ययन बिदा स्वीकृत नगराएकाले कारबाहीमा परी दण्डस्वरूप तलब फिर्ता गरेका पात्र हुन् । नेपाल स्वास्थ्य व्यवसायी परिषद््का अध्यक्ष राम भण्डारी निजी कलेजका सञ्चालक हुन् । उनको होप कलेज र सिस्ट कलेजमा लगानी छ । स्वास्थ्य व्यवसायी परिषद्मा नियुक्तिका सेटिङ मिलाउने रामजी घिमिरे हुन् । उनले १० लाख रुपैयाँमा सबै नियुक्तिको काम फत्ते गरेका हुन् । रामजी आफंै अख्तियारले भ्रष्टाचारी ठहर गरी विशेष अदालतमा मुद्दा चलिरहेका व्यक्ति हुन् तर अहिले स्वास्थ्य मन्त्रीको सल्लाहकार बनेका छन् । नैतिकताको न पनि नभएपछि कसको के लाग्दो रहेछ र ? उनले अझै पनि नेपाल स्वास्थ्यकर्मी संघबाट राजीनामा दिएका छैनन् । अरूलाई नैतिकता र कर्तव्यको पाठ सिकाउन रुचि राख्ने गगन अदालतमा मुद्दा चलिरहेका र निलम्बनमा रहेका व्यक्तिसँग रातदिन एकैसाथ बस्नु कुन इमानको कुरा होला ? नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा अनुसन्धानसम्बन्धी अनुभव नै नभएका डा. अञ्जनी झालाई ल्याएका छन् ।
 
नेपाल आयुर्वेद काउन्सिल, नेपाल फार्मेसी काउन्सिल र आयुर्वेद अनुसन्धान केन्द्र सबैमा नियुक्तिका लागि कारोबार भएको शंका छैन । गगनकै पालामा आजसम्म नदेखिएको गाईजात्रा पोलियो थोपाका नाममा देखियो । पोलियो थोपाकाण्डमा कारबाही निर्देशक÷महानिर्देशकलाई गर्नुपर्ने थियो तर अदालतका अभियुक्त रामजी र गगनले तल्लो तहका कर्मचारीलाई बलिको बोका बनाए । स्वास्थ्यकर्मी संघको पोखरामा सम्पन्न महाधिवेशनमा सदस्यता र सक्रिय सदस्यताबापत उठाइएको लाखौं रुपैयाँको रामजीले अहिलेसम्म देखाएका छैनन् । पहिला शशांक कोइरालाका विश्वासपात्र हुँ भन्ने रामजी यही अनियमितताका कारण शशांकबाट टाढिएका हुन् ।
 
त्यति मात्र होइन, पब्लिक सर्भिस इन्टरनेशनल (पिएसआई) बाट आएको रकम संघका कोषाध्यक्षलाई समेत थाहै नदिई छुट्टै खातामा राखेका छन् । विदेश जाँदा छलफलै नगराई प्रायः एक्लै र साथीसहित जाँदा मीरा नेपाललाई लैजान्छन् । 

टिप्पणीहरू