एमाले कार्यकर्ता मार्नेलाई हामीले भोट हाल्नुपर्ने ?

एमाले कार्यकर्ता मार्नेलाई हामीले भोट हाल्नुपर्ने ?

– अरुण नेपाल, पूर्वमन्त्री तथा बाग्मती प्रदेश सांसद

केन्द्रको रोग प्रदेशतिर सर्दा गण्डकी प्रदेश सरकार ढलिसकेको छ । लुम्बिनी प्रदेश धरमरको स्थितिमा छ तर, बाग्मती प्रदेश केन्द्रको रोगबाट अछुत छ । केन्द्रमा संविधान जोगाउन र संसदलाई पूरा आयु काम गर्न दिन माधव नेपाल, प्रचण्ड र देउवाबीच तालमेलको नयाँ सरकार बने पनि बाग्मती प्रदेशमा यो समीकरणले काम नगर्ने दाबा गर्दछन् अरुण नेपाल । एमालेभित्र इमान्दार नेतामध्येका उनी अहिले पोलिटब्युरो सदस्य, बाग्मती प्रदेश सहइञ्चार्जको भूमिकामा छन् । झन्डै तीन वर्ष उद्योग, पर्यटन, वनमन्त्री सम्हालेका उनी राजेन्द्र पाण्डेको संयोजकत्वमा बनेको ९ सदस्यीय कार्यदलमा समेत छन् । सो कार्यदलले मुख्यमन्त्री डोरमणि पौडेलको सेट नै परिवर्तन गरी दुबै पक्षका नेता समेटेर छिट्टै एमालेकै सहमतीय सरकार बनाउने गरी गृहकार्य तीव्र पारेको छ । उनीहरूले बुधबार मात्र बालकोट पुगेर पार्टी अध्यक्ष ओलीसँग चार घण्टा लामो छलफल गरेका छन् ।

– हरि गजुरेल

मुख्यमन्त्री डोरमणि पौडेललाई पदबाट हटेर मार्गप्रशस्त गर्न १५ गतेसम्म दिइएको समयसीमा घर्किसकेको छ । अब तपाईंहरू कसरी अघि बढ्नुहुन्छ ?

– यो आर्थिक वर्षको नीति तथा कार्यक्रम राम्रो बनोस् भन्ने हाम्रो चाहना हो । कुनै निर्वाचन क्षेत्रमा बजेट बढी, कतै घटी । सांसदहरूको गुनासो थियो बजेट असन्तुलित भयो । यसलाई सन्तुलित बनाऔं, कोरोनालाई फोकस गरौँ, उत्पादन र रोजगारीको कामलाई ध्यान दिऊँ । यही विषयमाथि केन्द्रित रहेर राजेन्द्र पाण्डेको संयोजकत्वमा ९ सदस्यीय कार्यदल बन्यो । त्यसको सदस्यमा रमा आले, कृष्ण खनाल, केशव पाण्डे, दीपक निरौला, नारायण सिलवाल र म पनि छु । तुलनात्मक रूपमा नीति तथा कार्यक्रमलाई ठीक दिशा दिने काम भयो । अब हामी सरकारमा प्रवेश गरेका छौं । नेकपा एमालेको साझा सरकार बन्नुपर्छ । सिंगो नेकपा एमालेले हाम्रो सरकार हो भन्ने महसुस गर्नुपर्छ । अहिले त्यहाँ एउटा मात्र खेमाका मन्त्री छन् । मन्त्रीको संख्या सातबाट बढाएर ११, संसदीय समिति ५ बाट बढाएर ७ पु¥याउने निश्कर्षसहित पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव नेपाल र मुख्यमन्त्री डोरमणि पौडेललाई दिइसकेका छौं ।
हामी चाहिरहेका छौं, नयाँ मुख्यमन्त्रीले काम गर्न समय पाउनुप¥यो । छिटोभन्दा छिटो नयाँ सरकार बन्नुप¥यो र नयाँ ढंगले काम हुनुप¥यो ।

केन्द्रमा विग्रह छ । बाग्मती प्रदेशमा मिलेरै जानुपर्छ भनेर एकताको सन्देश प्रवाह गर्न खोजिरहनुभएको छ । तपार्इंहरू कतिसम्म अघि बढ्न सक्नुहोला ?

– केन्द्रमा पनि विभाजन हुनु हुँदैन भनेर लागेका छौं । विभाजनले हामी कसैको कल्याण गर्दैन । संविधान, लोकतन्त्रलगायत सबै उपलब्धिलाई कमजोर पार्छ । अन्य प्रदेशमा समस्या हुँदा पनि हामीले मिलाएर लैजाने प्रयत्न गर्दैछौं । सरकारको नेतृत्व र मन्त्रिमण्डल सहमतिका आधारमा पुनर्गठन गरी सन्देश माथिसम्म दिन चाहन्छौं ।

पार्टी अध्यक्ष ओली र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यबीच पनि त बालकोटमा २ घण्टा लामो छलफल चलेछ । के विषयमा छलफल भएको रहेछ ?

– बुधबारको छलफलमा दुबै पक्षधर थियौं । अध्यक्ष कमरेडले बाग्मती प्रदेशमा परिपक्वता देखाउनुभयो, मैले गर्नुपर्ने काम तपाईंहरूले गर्नुभयो, धन्यवाद भन्नुभयो । त्यहाँ एमालेकै बहुमत रहेको हुँदा एमालेकै सरकार रहनुपर्छ, यसनिम्ति कहाँ के गर्नुपर्छ गर्नुहोस् भन्नुभएको छ । सम्भवतः अष्टलक्ष्मी कमरेडसँग यही सेरोफेरोमा कुरा भएको हुनुपर्छ । अघिल्लो प्रदेश निर्वाचनमा शाक्यजतिको सिनियर मान्छेलाई चुनाव लडाएर पराजित गराउने त्रुटिपूर्ण काम भएको थियो । सम्भवतः पार्टी अध्यक्ष त्यो त्रुटिलाई सच्याउन चाहनुहुन्छ ।

तपाईंहरूले झण्डै चार घण्टा अध्यक्षसँग बिताउँदा उहाँले आफ्ना कमी कमजोरी महसुस गर्नुभएन ?

– नेताहरूले हामीले गल्ती, त्रुटि गर्न सक्छौं भन्ने रियलाइज गर्ने हो भने नेकपा एमालेभित्रको समस्या एक घण्टाभित्रै समाधान हुन्छ । अहिले पनि नेतृत्वमा रहेकाहरू हामीले गरेका सबै काम उपयुक्त र ठीक थिए भन्दै हुनुहुन्छ । समस्या नै यही हो । यसको गम्भीर समीक्षाचाहिँ हुनुपर्छ ।

केन्द्रमा एमालेकै एउटा खेमाले देउवालाई समर्थन गरिरहेको छ । बाग्मतीमा एमाले, माओवादी, कांग्रेस खेमाको सरकार बन्ने सम्भावना छैन, उसो भए ?

– हामी सहमतिसाथ अघि जान्छौं । केन्द्रलाई सन्देश प्रवाह गर्छाैं । शेरबहादुर देउवा नेतृत्वको सरकार बन्नमा एमालेको एउटा पंक्तिको साथ र सहयोग छ । माथि संविधान जोगाउनुपर्ने र संसदलाई टिकाउनुपर्ने परिस्थितिले कांग्रेस र माओवादीसँग सहकार्य भए पनि प्रदेशमा त्यस्तो समस्या छैन, स्थिति फरक छ । केन्द्रकै बाटो हिँड्नुपर्छ भन्ने लागेको छैन । बाग्मती प्रदेशमा एमालेकै सहमतीय सरकार बन्छ ।

नेतृत्व तहमा एकले अर्काेको अनुहारै हेर्न नचाहने, कुरै सुन्न नचाहने अवस्था छ । एमालेमा देखिएको समस्याको निकास कसरी निस्किएला ?

– १० बुँदे सहमति पत्र बनाएको छ । उभिने धरातल त्यही हो । पार्टीभित्र अविश्वासको ठूलो खाडल छ । लामो समयदेखि गुटको अभ्यास गर्दै आयौं । गुटको आँखाले साथीहरूलाई हेर्ने प्रवृत्ति विकास भएको छ । धेरै गम्भीर परिस्थितिमा छौं हामी । माथिदेखि तलसम्मको कार्यकर्ता पंक्ति एमालेको एकता चाहन्छ । फुट, विभाजन कसैको चाहना छैन । नेतृत्व जिम्मेवार हुनुहुन्छ । पार्टी पंक्तिले जे चाहन्छ, त्यो उहाँहरूले गर्नुपर्छ । कार्यदल बनेर, वार्तामा मात्र नेताहरू बस्दा मात्र पनि कार्यकर्ता पंक्तिमा कस्तो उत्साह देखिन्थ्यो । यसले एमाले पंक्ति के चाहन्छ भन्ने देखाउँछ । एमाले पंक्तिमा कसैलाई खेद्ने, अन्याय गर्ने, विभाजन गर्ने कुरा स्वीकार्य छैन । एकताबद्ध गरेर जानुपर्छ भन्ने आमकार्यकर्ताको धारणा पार्टी नेतृत्वले बुझ्न जरुरी छ । यदि, कसैले यसको बर्खिलापमा काम गर्छ भने त्यो अप्राकृतिक हुन्छ, पार्टी पंक्तिको बर्खिलापमा हुन्छ । माधव नेपालविहीन पार्टी निर्माण गर्छु भन्ने कसैलाई लागेको छ भने त्यो भ्रमबाट तत्काल मुक्त हुनुपर्छ । एमाले विभाजन नै गर्नुपर्छ, अर्काे पार्टी बनाउनुपर्छ भन्ने कसैलाई लागेको छ भने त्यहाँबाट मुक्त हुनुपर्छ । १० बुँदेमा बाहेक अन्यत्र टेक्ने धरातल छैन ।

केन्द्रमा १० बुँदे सहमति हुँदै गर्दा तपार्इंहरू खिमलाल देवकोटालाई मतदान गर्दै हुनुहुन्थ्यो । एकता भाँडिनुको कारणमध्ये एउटा कारक यो पनि हो भनिँदै छ । के भन्नुहुन्छ ?

– निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गर्दासम्म परिस्थिति प्रतिकूल थियो । समझदारी बनाएको भए धेरै राम्रो हुन्थ्यो । रामबहादुर थापा बादललाई एक पक्षले उम्मेदवार बनायो । त्यसप्रति एमालेकै ठूलो पंक्ति बेखुस थियो, राजनीतिक जीवनको सिंगो हिस्सा एमालेविरुद्ध लाग्नुभएको, पार्टीको सदस्यता पनि नलिनुभएको व्यक्ति, उहाँ नेता हुँदा कैयौं एमालेका मान्छे मारिए, अपहरणमा परे । यो बेठीक छ भन्ने एमाले पंक्तिलाई लाग्यो । राष्ट्रिय सभाको निर्वाचन हुनुअघि कम्तीमा पार्टीभित्र उम्मेदवारबारे छलफल पनि भएन । तिक्तताको बीचमा निर्वाचन भयो । नेकपा एमालेसँगै नजिक रही बाग्मती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष भएर काम गरेका खिमलाल देवकोटाले उम्मेदवारी दिनुभयो । राष्ट्रियसभामा जुन मान्छेले प्रतिनिधित्व गर्नुभएको छ, उहाँ एमालेकै मान्छे हो नि ! उहाँलाई पराइ बनाएर पराइलाई च्याप्ने ?

ओलीका लागि बादल, टोपबहादुर, लेखराज भट्टहरू प्यारो हुने अनि माधव नेपालको अनुहारै हेर्न मन नलाग्ने स्थिति किन आयो होला ?

– समकालीन, समकक्षीको बीचमा यस्तो समस्या हुँदो रहेछ । सँगै काम गरेको, राम्रो नराम्रो सबै कुरा थाहा छ । त्यस्ता मान्छेको बीचमा अन्तरविरोधको विकास हुँदो रहेछ । कसैले बेठीक काम गरेको छ भने त्यो भन्न पाउनुपर्छ, यो संस्कृतिको विकास गर्नुपर्छ । विचारै नमिले पनि हार्दिकता हुनुपर्छ । समग्रतामा भन्दा हाम्रो पार्टीभित्र, आन्दोलनभित्र समस्या रहेछन् । ती समस्याको छिट्टै पहिचान गर्न र सामाधान गर्न हामी चुकेका रहेछौं ।

हामी संघीयताको अभ्यास गर्दैछौं । संसदीय र स्थानीय तहको शक्ति कस्तो पाउनुभयो ?

– हाम्रो चेतना अझै पनि एकात्मक छ । राजनीतिक फाँट, व्युरोक्रेसीमा अधिकार मेरै हातमा हुनुपर्छ भन्ने एकात्मक चिन्तनले डेरा जमाएको छ । अधिकार बाँडफाँट गर्न हामी चाहँदैनौं । विश्वव्यापी मान्यतालाई पछ्याउन सकेनौं । हाम्रो सिष्टमले हामीलाई धेरै अधिकार दिएको छैन । स्थानीय सरकारको लामो इतिहास छ । जनतासँग हर दिन जोडिने भएको हुँदा आफ्नो औचित्य पुष्टि गर्न सकेको छ । स्थानीय सरकारले कोभिड महामारीमा आफ्नो महत्व वा औचित्य पुष्टि गरेको छ । प्रदेश सरकार बन्दा एउटा कानुन थिएन, नीति, दृष्टिकोण थिएन । शून्यबाट शुरु भएको हो प्रदेश ।

एमालेकै एउटा पंक्ति निरु पाल, महेश बस्नेतलगायतले बेला बेलामा प्रदेश सरकार कामै छैन । खारेज गरे हुन्छ भन्ने अभिव्यक्ति दिइरहेका हुन्छन् । यसलाई कसरी लिनुहुन्छ ?

– संविधान निर्माण गर्दा किन राख्या ? नयाँ संरचना निर्माण गर्न भनेर संविधानमै लेखिएको हो । संविधानको बर्खिलाप हुने गरी जिम्मेवार साथीहरूले बोल्नुहुँदैन भन्ने लाग्छ ।

तपार्इंहरूकै जिल्लाका माननीय अग्नि सापकोटा सभामुखको भूमिकामा हुनुहुन्छ । कस्तो लाग्दै छ, उहाँको भूमिका ?

– प्रत्यक्ष, औपचारिक ढंगले म जोडिन्न । त्यही कारण धेरै टिप्पणी गर्न मिल्दैन । म विश्वास गर्छु उहाँले सभामुखको हिसाबले साझा भूमिका निर्वाह गर्नुहुन्छ ।

माधव नेपाल र अरुण नेपालबीचको सम्बन्ध एउटै गोत्रीयार भएर मात्र हो वा अरु केही छ ?

– माधव नेपाललाई पञ्चायत कालमै चिन्दथें तर माधव नेपालको नामले होइन रञ्जनको नामले । माधव, प्रदीपहरू नेपाल थरी रहेछन् भनेर चिनेको चाहिँ बहुदलपछि । पार्टीको सबै नेतालाई सम्मान गर्दछु । कुनै इस्यु, कुनै एजेण्डामा कहिलेकाहीं कोही नेतासँग बिमती हुन्छ होला, कसैसँग सहमति हुन्छ होला ती अस्थायी कुरा हुन् । माधव नेपाल विशेष गरी विधि, पद्धति, चरित्रका कुरा उठाउनुहुन्छ उहाँको क्रियाशीलता लोभलाग्दो छ । केपी ओलीमा सपना देख्ने, देखाउने प्रवृत्ति छ, अडान छ । झलनाथ खनाल सबै बिषयलाई राजनीतिक ढंगले हेर्नुहुन्छ र व्याख्या गर्नुहुन्छ । वामदेव गौतमको आफ्ना कुरा निर्धक्क ढंगले भन्ने प्रवृत्ति छ । नेताहरू सबै मान्छे हुन् । उहाँहरूका राम्रा कुराको प्रशंशा र बेठीक कुराको आलोचना गर्नुपर्छ र नेताहरूले पनि कसैले आफ्नो आलोचना गरेको खण्डमा दुश्मन ठान्ने प्रवृत्तिबाट मुक्त हुनुपर्छ । आलोचना गर्नेहरू मित्र हुन्, प्र्रशंशा गर्नेहरू कालान्तरमा दुश्मन हुन् । म त सबै नेताहरूलाई सम्मान गर्दछु ।

टिप्पणीहरू