मुख्यमन्त्रीका बिश्वासपात्र यौन दुर्ब्यवहारमा पक्राउ

मुख्यमन्त्रीका बिश्वासपात्र यौन दुर्ब्यवहारमा पक्राउ

-रमेश बन्जारा,हेटौंडा

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल निकटलाई आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौँडा अस्पतालमा कार्यरत एक महिला चिकित्सकमाथि यौन दुर्व्यवहार र गालीगलौज गरेको आरोपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक समिति सदस्य हिरा वाइबा पक्राउ परेका हुन् ।

१६ साउनका दिन प्रतिष्ठानले आयोजना गरेको वनभोज कार्यक्रममा अत्यधिक मदिरा सेवन गरी आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै ती महिला चिकित्सकले प्रहरीमा रिपोर्ट गरेकी थिइन् । भीमफेदी गाउँपालिकाको त्रिखण्डीमा प्रतिष्ठानले वनभोज कार्यक्रम राखेको थियो ।

उजुरी दिएको करिब ६ दिनपछि अस्पताल सञ्चालक समिति सदस्य वाइवा शुक्रबार पक्राउ परेका हुन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले वाइवा पक्राउ परेको जानकारी दिए । उनले वाइवामाथि अनुसन्धान हुने र दोषी देखिए कारवाही हुने बताए ।

पीडित चिकित्सकहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर,जिल्ला प्रहरी कार्यालय र प्रतिष्ठान उपकुलपतिको कार्यालयमा पनि उजुरी दिएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले वाइवालाई केही महिनाअघि मात्रै अस्पताल सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए ।

टिप्पणीहरू