कसरी कुम्ल्याउँछन् फौजका लेखापालले करोडौं ?

कसरी कुम्ल्याउँछन् फौजका लेखापालले करोडौं ?

सुरक्षा निकायहरूमा वर्दीविहीन र तल्लो तहका कर्मचारीको आर्थिक रवाफवारे व्यापक चर्चा छ । उपल्लो तहका हाकिमसँगको उठबस, आर्थिक लेनदेन र निकटताले सीमा नाघेपछि सुरक्षा निकायका ठूला भनिएका हाकिमहरूसमेत सशंकित बनेका छन् । विशेषगरी ती निकायका एकाउण्टेण्ट र सहायक लेखापालको हैसियतले सबैलाई झस्काएको हो ।

अहिले सबैभन्दा धेरै चर्चा सशस्त्र प्रहरी बलका एकाउण्टेण्टहरूको हुन थालेको छ । त्यसका एक प्रतिनिधि पात्र सई इन्द्र बोहोरा हुन् । उनी हाल कैलालीस्थित ३४ नम्बर गणमा एकाउण्टेण्ट छन् ।

बोहोराको पदीय जिम्मेवारी, तोकिएको तलब र भत्तासँग उनको आर्थिक हैसियत मेल नखाने सशस्त्रकै हाकिमहरूले बताएका छन् । हालै सामाजिक सञ्जालमा हालिएको उनको घरको सोफाको मात्रै ३ लाख मूल्य भनिएको थियो । अरु सजावटका सामान पनि ४ लाख घटीको नभएको उनको बैठक कोठामा रमाइलो गरेर आएकाले बताएका छन् ।

सईको घरको सोफा मन परेपछि हल्चोकका हाकिमहरुलाई समेत उनै एकाउण्टेण्टले त्यस्तै ३ सेट सोफा पठाएको हल्ला टङ्गालतिर सुनिएको हो । आईजीपीका एकाउण्टेण्टकी श्रीमतीले बनाएको टिकटकबाट समेत धेरै कुरा थाहा भएको फौजमा यसअघि नै चर्चा चलेको थियो ।

एक पटक भारतको नैनीताल जान लागेका उनै एकाउण्टेण्टले पूर्व आइजी दुर्जकुमार राईलाई शैलेश्वरी गण, झलारीमा भेटेका थिए । राईसँग भेटघाट गर्न जाँदा उनै सईले झण्डै आठ तोला मोटो सुनको सिक्री लगाएका थिए । हातमा सुनको बाला र दश वटै औंलामा सुनका औैंठी थिए । त्यतिबेला उनी झट्ट हेर्दा दक्षिण भारतीय तिरुपती बालाजीका पुजारीजस्तै देखिएको राईको सुरक्षामा खटिएका जवानहरूले बताएका थिए । तर, त्यसको दुई सातापछि सशस्त्र मुख्यालयबाट अनावश्यक गहना लगाएर आफ्नो कार्यक्षेत्रमा र कार्यालय समयमा रवाफ नदेखाउन परिपत्र नै जारी गरिएको थियो । सम्भवतः बोहोराको आवरणले सशस्त्रलाई उक्त सर्कुलर जारी गर्न बाध्य बनाएको थियो ।

अरु अधिकांश सइले गाउँको टायलको घर अहिलेसम्म जस्तापाताले छाउन सकेका छैनन् । नेपाल प्रहरीमा चाहिँ मुद्दा मामिला शाखातिर बस्नेहरूले यसो लामो हात गरेको समाचार बाहिर आउने गरेको छ ।

सशस्त्रका अन्य सईको हालत भने बेहाल रहेको बताइन्छ । उनीहरूका अनुसार गत वर्षदेखि थपिएका नयाँ बोर्डर अब्जर्भेसन पोष्ट (बीओपी) मा सरुवा भएका केही सइले ठाउँ र अवस्था हेरेर तलबबाहेक दुई चार सय गोजीमा हाल्ने मौका भने पाएका छन् । तर सशस्त्रमा फौजतर्फका अधिकांश सई, असई र जवानहरूको हालत नाजुक देखिन्छ । झुक्किएर मिशन गएकाहरूले भने जुनी फेर्नसम्म पाएको उनीहरूको दाबी छ ।

स्रोतका अनुसार सशस्त्र प्रहरीमा कार्यरत अधिकांश एकाउण्टेण्टले वर्षमा ८० देखि ९० लाख हात पार्ने गरेका छन् । त्योमध्ये ५० प्रतिशत उपल्लो तहका हाकिमलाई बाँड्छन् । त्यहि फर्मुलाको कारण उनीहरू हरेक वर्ष सरुवा भए पनि एउटा गणको लेखाबाट अर्को गणको लेखा शाखामा हो । शुरुमा अन्य सईझैँ भर्ना भएका उनीहरूले एक किसिमको तालिम लिएपछि एकाउण्टटेण्टको काम गर्ने गर्छन् । एकाउण्टेण्टहरूलाई प्राविधिकझैँ बनाएर छुट्टै सेवा गठन गरेपछि त्यो सेवाका सईहरूले आकाश छोएको बताइन्छ ।

केन्द्रीय लेखापाल गणेश मल्लको अवस्था के थियो, अहिले शान कस्तो छ ! कल्याणका सन्तोष चन्द, आर्थिक प्रशासनका दीपेन्द्र शाह, प्रवन्धका अर्जुन रोका, आलेपका ध्रुव केसी, पूर्व क्षेत्रमा डिआइजी बँशी दाहालले च्यापेका डोलराज अर्याल, २ का विकास थापा, ३ का गोविन्द ठगुन्ना, ४ का रमेश थापा, ५ का करबहादुर घर्ती मगर, ६ का राजेश सिंह, ७ का रास्कोटी र एकेडेमीका सुरेश खतिवडाको अकुत कमाइबारे अख्तियारले छानबिन गर्ने कि गृह मन्त्रालयले नै समिति गठन गर्ने ?

एक जना इन्स्पेक्टर भन्छन्, ‘गणमा एसपीको कमाण्डमा डिएसपी, इन्स्पेक्टर, सई र असईहरू हुन्छन् । तर उनीहरूले ताक पर्यो भने डीएसपीलाई समेत ‘जय नेपाल साप’ समेत भन्दैनन्, हाम्रो त कुरै नगरौं । बाटोमा भेट्दा समेत सलाम नगरेको धेरै रेकर्ड छ ।’

सशस्त्र प्रहरी स्रोत भन्छ, ‘तर, त्यहि दर्जाका अरुले बर्दी लगाएर चौबिसै घण्टा फिल्डमा खटिनुपर्छ । त्यसैले कहिल्यै पनि लेखाका सइहरूले सेकेण्डम्यानलाई समेत नटेरेका हुन् । किनभने उनीहरूले कहिल्यै छिर्केबिर्के पोशाक चुस्ता लगाउनु पर्दैन, कवाज तालिम केही लिनै पर्दैन ।’

सरुवा पनि बिचित्र खालको हुने गरेको उनीहरूको दाबी छ । ‘आफ्नै क्षेत्र (लेखा) मा खटिन्छन्, सरुवा हुँदा गण मात्र परिवर्तन हुन्छ । एकाउण्टेण्टबाट एकाउण्टेण्टमा सरुवा हुने हो, ’स्रोतले बताएको छ ।

हरेक वर्ष एउटा गणबाट अर्को गणमा सरुवा हुने भएपछि उनीहरू हिसाब किताब मिलाउन सजिलो हुने गरी गणका हाकिम नै फेरबदल गर्न समेत पछि पर्दैनन् । लेखाको हिसाब सजिलैसँग मिलाउन सहज हुनेगरी आईजीपीलाई भनाएर एसपीको सरुवा गराइदिन्छन् । त्यसैले सशस्त्रमा गणपतिहरूलाई सबैभन्दा ठूलो डर कि आईजीपीको कि एकाउण्टेण्ट (सई) हरूको हुने गरेको हो ।

क्षेत्रगत रुपमा हेर्दा सशस्त्रमा पूर्वतिरका एकाउण्टेण्टहरू सबैभन्दा उत्पातका देखिएका छन् । उनीहरूले ठूला हाउजिङमा लगानी गरेका छन् । सेयरलगायतका क्षेत्रमा इन्भेष्टमेण्ट गरेका छन् भने जग्गा प्लटिङ्ग गरेर समेत बसेको बताइन्छ । कतिपयले कम्पनीमा समेत अप्रत्यक्ष लगानी गर्न भ्याएका छन् । यी सबै घटना बताउँदै एक जना इन्स्पेक्टरले भनेका छन्, ‘एउटै ठाउँमा एउटै दर्जामा रहेका सईहरूबीच आकाशजमिनको फरक छ ।’

पहिले सशस्त्रमा एकाउण्टेण्टको सहयोगीको रुपमा आफ्ना विश्वासपात्र सिपाहीलाई बनाउने चलन थियो । त्यसमध्येका एक जना अहिले एकाउण्टेण्ट भएका छन् । उनले राजधानी काठमाडौंमा ठड्याएको घर हेर्दा टोपी खस्ने उनै इन्स्पेक्टरको दाबी छ । घरको बाहिरी भागमा लगाइएको रंगरोगन र आवरण अस्वाभाविक र भद्दा देखिएकाले पनि ‘लुटको धन फुपुको श्राध्द’ भएको उनी बताउँछन् ।

सुरक्षा फौजभित्र देखिएको उक्त अस्वाभाविक हैसियतले अन्य सईहरूमा समेत नैराश्यता उत्पन्न भएपछि कार्य प्रगतिमा असर पर्नु स्वाभाविक हो । त्यसैले सबैलाई लेखाको तालिम दिएर समान बनाउने हो भने अहिले देखिएको आर्थिक विभेदको रोगलाई कम गर्न सकिने विश्वास लिइएको छ । तर पहल कतैबाट पनि नभएपछि यो सबै अवस्थालाई नजिकबाट नियालेकाहरू निराश बनेका छन् ।

यता, नेपाल प्रहरीमा पनि एकाउण्टेण्टहरूको सरुवा गर्न नसकेर उच्चतहलाई सँधै महाभारत हुने गरेको बताइन्छ । त्यहाँ पनि नेटवर्किङ निकै ठूलो रहेको स्रोतको दाबी छ ।

४४ गण, ५६ गुल्म, ५ तालिम केन्द्र, ७ बाहिनी, ८ वटा रिजर्भ गणसहितको हिसाब गर्दा लेखापाल त कति कति ।

टिप्पणीहरू