माधव नेपाल विचार समूहको भेलामा जे जे हुँदैछ

माधव नेपाल विचार समूहको भेलामा जे जे हुँदैछ

नेकपा एमालेको माधव नेपाल पक्षधर बैठकमा पार्टी एकता कार्यदलको १० बुँदेलाई लिएर केन्द्रीय सदस्यहरुले चर्को असन्तुष्टि जनाएका छन् । बैठकमा धारणा राख्ने क्रममा अधिकांश केन्द्रीय सदस्यले १० बुँदे प्रस्ताव स्वीकार गर्न नहुनेमा नेतृत्वको ध्यानाकर्षण गराएको बताइन्छ ।

बैठकले कार्यदलको १० बुँदे प्रस्ताव जस्ताको तस्तै स्वीकार नगर्ने सम्भावना देखिएको एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार बैठकमा अहिलेसम्म धारणा राख्ने ६० जना केन्द्रीय सदस्यमध्ये झण्डै ५० जनाले १० बुँदे प्रस्ताव मान्न नसकिने धारणा राखेका छन् । बैठकमा ७ जनाले १० बुँदेको पक्षमा प्रष्ट धारणा राखेका छन् भने चार जना न्युट्रल रुपमा प्रस्तुत भएको बताइन्छ ।

‘अधिकांशले १० बुँदे गलत छ भनेका छन् । सम्मानजनक एकता हुनुपर्छ भन्नेमा सबैको एकमत छ, तर एकताका नाममा आत्मसमर्पण गरिनुहुन्न बरु अलग बाटो लिनुपर्छ भन्ने मत बलियो रुपमा आएको छ । सकभर एकताकै पक्षमा निर्णय होला अन्यथा विकल्पमा जान पनि डराउनु हुँदैन भन्ने छ’, उनले भने ।

“पाण्डे र गोकर्ण बिष्ट अनि रावललाई राखेर बालकोटमा माधव नेपालसहित नेताहरुलाई सम्मानजनक ब्यवहार गर्ने वचन अध्यक्ष ओलीबाट दिइएको थियो तर पछि क्रमशः गालीगलौजमार्फत उक्त सहमति तोड्दै जाने काम भएकोमा रावल र पाण्डेलगायतका नेताहरुको चित्त दुखाइ रहेको बताइन्छ ।”

अधिकांश केन्द्रीय सदस्यले १० बुँदे प्रस्ताव स्वीकार गर्न नहुने धारणा राखेपछि नि:शर्त एकताको पक्षमा उभिएका भीम आचार्यसहितका ४ जना नेता सकसमा परेका छन् । अहिले स्थायी समितिको छुट्टै बैठक बसिरहेको बताइन्छ ।

बताइएअनुसार विघटित कार्यदलमा नेपाल पक्षको संयोजकसमेत रहेका उपाध्यक्ष भीम रावलसहित अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली,उपमहासचिव घनश्याम भुसाल,सचिव भीम आचार्य,स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायतका नेताहरु १० बुँदेको जगमा पार्टीलाई सम्मानजनक एकताको बाटोतिर कसरी लाने भनेर छलफल गरिरहेका छन् ।

हिजोको बैठकमा १० बुँदेकै आधारमा जस्ताको तस्तै एकता नहुने छनक देखिएको थियो । त्यसपछि कति मुश्किलले त्यति सहमति पनि जुटाइयो भन्ने यावत विवरण राख्न उपाध्यक्ष रावलको आग्रहमा आज नेता पाण्डे पनि बैठकमा सहभागी भएका हुन् ।

“वार्तामा पठाउने तर कुरा मिलाउँदै लगेपछि अनेक अत्तो थापेर एक एकलाई बदनाम गराउने काम भएको भन्दै वार्ता टोली माधव नेपालप्रतिसमेत असन्तुष्ट रहेको सुन्नमा आएको छ ।”

आज बिहान नेता पाण्डे र रावलवीच फोनमा यसवारे सल्लाह भएको थियो । पाण्डे र गोकर्ण बिष्ट अनि रावललाई राखेर बालकोटमा माधव नेपालसहित नेताहरुलाई सम्मानजनक ब्यवहार गर्ने वचन अध्यक्ष ओलीबाट दिइएको थियो तर पछि क्रमशः गालीगलौजमार्फत उक्त सहमति तोड्दै जाने काम भएकोमा रावल र पाण्डेलगायतका नेताहरुको चित्त दुखाइ रहेको बताइन्छ । पाण्डेले त अझ ओलीद्वारा मन्त्रीको अफर गरिँदासमेत अस्वीकार गरिएको अवस्था हो । वार्तामा पठाउने तर कुरा मिलाउँदै लगेपछि अनेक अत्तो थापेर एक एकलाई बदनाम गराउने काम भएको भन्दै वार्ता टोली माधव नेपालप्रतिसमेत असन्तुष्ट रहेको सुन्नमा आएको छ ।

७६ जना केन्द्रीय सदस्य सहभागी बैठकमा बाँकी सदस्यले आफ्नो धारणा राखेपछि वरिष्ठ नेता नेपालले जवाफ दिने तयारी छ ।

टिप्पणीहरू