डा.जागेश्वर गौतमलाई खेदेको खेद्यै
स्वास्थ्य मन्त्रालयका अघिल्ला प्रवक्ता तथा पछिल्लो समय कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी डा. जागेश्वर गौतमविरुध्द गम्भिर आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा उजुर हालिएको छ ।
तत्कालीन केपी शर्मा ओली सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ जारी गर्दै डा.जागेश्वर गौतमलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख कार्यकारी अधिकारीमा नियुक्त गरेको थियो । अध्यादेशको आडमा गत जेठ १० गते गौतम उक्त अस्पतालको प्रमुख बनेका थिए ।
गौतम प्रमुख भएदेखि नै कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सफाइकर्मीलगायतका कर्मचारीले ओभरटाइम वापतको अतिरिक्त रकम तथा जोखिम भत्ता नपाएको भन्दै घेराबन्दीमा पारेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रकम निकासा गरे पनि वितरण नगरिएको आरोप उनीमाथि लाग्दै आएको थियो । पीडित स्वास्थ्यकर्मीका अनुसार जोखिम भत्ता नदिएका कारण विनियोजित रकम फ्रिज भएको छ ।
फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई सँधै खाइपाइ आएको औषधि उपचार खर्चसमेत नदिइएको गुनासो कर्मचारीको छ । महामारीमा दिनरात खटिएर काम गरे पनि जोखिम भत्ता नपाएपछि बाध्य भई चिकित्सक,नर्स, सफाइकर्मी,प्रशासनिक कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।
जोखिम भत्ता नदिएपछि गौतमको राजीनामा माग्दै अस्पतालभित्रै चर्को नाराबाजी भएको थियो । आन्दोलनका कारण अस्पतालको सम्पूर्ण सेवा अवरुध्द हुँदा अत्यावश्यक आईसीयूलगायतका कामसमेत रोकिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड बिरामीको उपचारका तथा स्वास्थ्य सामग्री खरिदका लागि पठाएको दुई करोड मात्रै खर्च गरेर बाँकी ३८ करोड रुपैयाँ फ्रिज भएको भनाइ कार्यरत कर्मचारीको छ ।
त्यसपछि डा.गौतम वीर अस्पतालको उपकरण खरिद विवादमा पनि मुछिएका छन् । उनको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियार,प्रधानमन्त्री कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ । अधिकारसमेत दुरुपयोग गर्दै कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण गरिद गर्दा सेटिङमा महंगो मूल्यमा किनेको आरोप डा. गौतमबिरुद्ध लागेको छ । स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिव लक्ष्मण अर्यालकोसमेत मिलेमतो देखिएको भन्दै दुबैजनाविरुद्ध उजुर हालिएको वीर अस्पताल स्रोतले बताएको छ ।
एक महिनाको अवधिमा कोभिड युनिफाइड केन्द्रीय अस्पतालमा झण्डै १ अर्ब बराबरको सामान खरिद भइसकेको छ । सबै खरिदहरु सेटिङमा महँगो र बजार मूल्यभन्दा अस्वाभाविक भएको भन्दै अख्तियारले छानबिन गर्नुपर्ने माग गर्दै उजुर हालिएको बताइन्छ । अध्यादेशको भरमा विनाप्रक्रिया अस्पतालमा खरिद हुने अर्बौंको उपकरण विनाप्रतिस्पर्धा किनिएको आरोप पनि गौतमविरुद्ध लगाइएको छ । यस्तैे विभिन्न निजी कम्पनीको सेयर खरिदबिक्री गरेको भन्दै सोको समेत छानबिन गर्न उजुरीमा माग गरिएको छ ।
स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९१, (१) क ले सरकारी सेवामा कार्यरत कर्मचारीले कुनै पनि कम्पनी स्थापना,दर्ता वा सञ्चालनमा भाग लिन,स्वास्थ्य क्लिनिक वा निजी अस्पताल खोल्न तथा सञ्चालन गर्न नपाइने भए पनि डा.गौतमले विभिन्न निजी अस्पताल,मेडिकल कलेज र कम्पनीमा करोडौं लगानी गरेको दाबी उजुरीकर्ताको छ । उजुरीमा उल्लेख भएअनुसार उनको चितवन मेडिकल कलेज सीएमसीमा १ लाख ७६ हजार ४२८ कित्ता,मौलाकालिका अस्पतालमा २३ हजार ४ सय कित्ता सेयर लगानी रहेको छ ।
यस्तै गौतमको अमेजन नामक कम्पनीमा ८५ हजार,ग्यालेक्सीमा ९९ हजार कित्ता सेयर, क्यानभासमा ३० हजार,नारायणी अक्सिजनमा १ लाख २० हजार कित्ता सेयर रहेको दाबी गरिएको छ । गत असार ९ गते अस्पतालको उपकरणलगायत खरिद गर्न झन्डै एक अर्ब रुपैयाँको टेण्डरका लागि जम्मा ५ दिनको म्याद दिएर आफू निकटको कम्पनीस“ग पहिले नै सबै स्पेसिफिकेसन्स (मापदण्ड) मिलाएर टेण्डर आह्वान गरिएको अर्को गम्भिर आरोप समेत गौतमविरुद्ध लगाइएको छ ।
टिप्पणीहरू