वैकल्पिक हेलिकोप्टर

अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलिकोप्टर चढ्न नपाउने हुनुभएको छ । चढ्नै परे निर्वाचन आयोगलार्ई सोध्नुपर्ने हुन्छ । आयोगले चढ् भने चढ्न पाइयो । होइन भने पाइएन । अस्तिसम्म उहाँ खुब हेलिकोप्टर चढेर यताउति चहल–पहल गरिरहनुभएको थियो । अब त्यो बन्द भएको छ । चुनाव घोषणाले उहाँलार्ई परेको यो सायद पहिलो मार होला । बाँकी मार मतगणनामा देखिने छ ।

अब प्रधानमन्त्रीजस्तो मान्छे, हेलिकोप्टर नै चढ्न पाइँदैन भने अरू के चढ्ने ? बयलगाडा ? निर्वाचन आयोगले त उहाँलार्ई अब बयलगाडा पनि अनुमति लिएर मात्रै चढ्नू भन्छ होला । किनभने बयलगाडा पनि हेलिकोप्टरजस्तै यातायातको साधन हो । बयलले तान्ने भन्दैमा बयलगाडालार्ई सामान्य ठान्नुहुँदैन । किनभने नेपालमा गणतन्त्र पनि यही बयलगाडा नै चढेर आएको हो । अहिलेका सर्वाधिक राष्ट्रवादी नेता खड्गप्रसाद ओली कुनै बेला भन्ने गर्नुहुन्थ्यो, बयलगाडा चढेर गणतन्त्र आउँदैन । तर, आइदियो । बयलगाडा चढेर नै आइदियो । 

जाबो हेलिकोप्टर त चढ्न नदिने निर्वाचन आयोगले झन् बयलगाडा चढ्ने अनुमति देला र ? यदि बयलगाडा पनि चढ्ने अनुमति दिएन भने त प्रधानमन्त्रीले वैकल्पिक साधनका रूपमा ठेलागाडा रोज्नुपर्ने हुन्छ । कि कसो ? 

टिप्पणीहरू